सिरियाविरुद्ध एकजुट हुन आह्वान

जकार्ता, ७ चैत । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले सिरियाको अवस्था ‘अस्वीकार्य’ भएको ठहर गर्दै यसविरुद्ध एकजुट हुन राष्ट्रसङ्घीय सुरक्षापरिषद्का सदस्य राष्ट्रलाई आह्वान गरेका छन् । दुई दिनका लागि इन्डोनेसिया पुगेका महासचिव मुनले इन्डोनेसियाको बोगोरमा मङ्गलबार सिरियाली सत्ताविरुद्ध यस्तो कडा आलोचना गरेका हुन् ।
सिरियाको अवस्थाबारे छलफल गर्न सुरक्षापरिषद्सम्बद्ध राष्ट्रको बैठक बस्नुअघि महासचिव मुनको यस्तो भनाइ आएको हो । परिषद् बैठकमा राष्ट्रसङ्घ र अरब लिगका संयुक्त दूत कोफी अन्नानले अघि सारेको शान्ति योजनामा सिरियाली राष्ट्रपति बासर अल असद असहमत भए चाल्नुपर्ने कदमबारे छलफल हुने यसअघि नै तय भइसकेको छ ।
विगत १२ महिनाभन्दा अघिदेखि सिरियामा जारी राष्ट्रपति असदको शासनविरोधी आन्दोलनमा आठ हजारभन्दा बढीको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । सुरक्षापरिषद्को स्थायी सदस्य राष्ट्र फ्रान्सले सोमबार परिषद्समक्ष कोफी अन्नानको शान्ति योजनामा राष्ट्रपति असद असहमत भए चाल्नुपर्ने भावी कदम उल्लेख गरिएको दस्तावेज छलफका लागि पेस गरेका थिए । दस्तावेजमा सिरियाको बिग्र“दो अवस्थाबारे ‘गम्भीरतम चिन्ता’ व्यक्त गर्दै प्रदर्शनका क्रममा हजारौ“ मानिस मारिएको अवस्थाप्रति ‘गहिरो दुःख’ व्यक्त गरिएको एएफपीले जनाएको छ । राष्ट्रसङ्घका पूर्वमहासचिवसमेत रहेका कोफी अन्नानको शान्ति योजनामा अविलम्ब सहमति जनाउन दस्तावेजमा सिरियाको सत्ता र विपक्षी दुवै पक्षस“ग आग्रह गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया