केन्द्र सरकारमा सहभागी हुँदैनौँ, मुलायम

लखनउ, ६ चैत । भारतको समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादवले संयुक्त प्रगतिशील गठबन्धन (युपिए) नेतृत्वको केन्द्रीय सरकारमा सहभागी नहुने बताएका छन् । सोमबार लखनउमा पत्रकार सम्मेलन गरी यादवले आफ्नो पार्टी केन्द्रीय सरकारमा सामेल हुने पक्षमा नरहेको बताएका हुन् ।
उत्तर प्रदेश (युपी)मा हालै भएको विधानसभा निर्वाचनमा विजय हासिल गरेपछि उनको पार्टी केन्द्र सरकारमा सहभागी हुने चर्चा चल्न थालेको छ । निर्वाचनपछि समाजवादी पार्टीको नेतृत्वमा राज्य  सरकार गठन भइसकेको छ । उनका छोरा अखिलेश यादवले मुख्यमन्त्रीको हैसियतले त्यहाँको कार्यभार सम्हालिसकेका छन् ।
पत्रकार सम्मेलनमा यादवले भने, ‘न हामीलाई केन्द्र सरकारमा सहभागी हुन निमन्त्रणा आएको छ, न त हामीले निमन्त्रणा पठाउन आग्रह नै गरेका छौँ ।’ राष्ट्रिय राजनीतिमा तेस्रो मोर्चा खोल्ने विषयमा समेत पार्टीभित्र छलफल नभएको उनले बताएका छन् ।
अखिलेश मुख्यमन्त्री भए पनि समाजवादी पार्टी केन्द्र सरकारमा सहभागी हुने चर्चा चलेको थियो । अध्यक्ष मुलायमसिंहको केन्द्रीय मन्त्री बन्ने इच्छाका कारण उनले छोरा अखिलेशलाई मुख्यमन्त्री बनाएको चर्चा चलेको थियो । यसअघि एक अवसरमा अखिलेशले युपिए नेतृत्वको केन्द्रीय सरकार ढाल्न आफ्नो पार्टी अग्रसर नहुने बताएका थिए । (एजेन्सी)

प्रतिक्रिया