पश्चिमा डिजाइनका पुष्पकमलहरू

२०४२ सालमा नेपाली कांग्रेसले गरेको शान्तिपूर्ण सत्याग्रह आन्दोलन भाँड्ने कार्य पश्चिमा–इन्डो ग्य्रान्ड डिजाइनमा भएको थियो । गणतन्त्रको आवरणमा सुनियोजित बमकाण्ड र रामराजाप्रसाद सिंहलाई प्रथम गणतन्त्रवादीको पगरी गुथाइयो । पुष्पलाललाई गद्दार बदनाम गर्न राजनीतिक गुरुयोजनाको जिम्मा पाएका कुत्सित षड्यन्त्रकारी तत्वका अनुयायीले त्यसबेला प्रपोगन्डा मच्चाए । पछिल्लो बमकाण्ड, जुन माइतीघर र बानेश्वरको बीच भागमा गराइएको छ, लाई राजावादीले गराएको भन्ने प्रपोगन्डा २०४२ कै नयाँ रूपभन्दा भिन्न छैन । संयोगले उक्त बमकाण्डको जिम्मा लिने व्यक्ति पनि सिंहकै नवजनवादी मोर्चा हुँदै आएको प्रस्ट भएको छ । २०४२ सालमा सत्याग्रह भाँड्न सिंह अगाडि सारिएका थिए भने अहिले राजाको हाउगुजी देखाउँदै मृत संविधानसभामा प्राण देख्नेहरूले प्रपोगन्डा रचेको खुलासा भएको छ । राजावादी प्रपोगन्डा गर्नेहरूकै संलग्नतामा गराइएको बमकाण्ड पश्चिमा इन्डोब्यानरको अर्को असफल प्रयत्न हो ।
मृतशय्याबाट डाक्टरले कोमामा राखेको बिरामीलाई प्राण नजाँदासम्म बचाउने प्रयत्नजस्तै यो बमकाण्ड गराइएको र संविधानसभालाई जीवित राख्ने कोसिस गरेको देखिन्छ । राजनीतिक ब्यानरलाई साम्राज्यवादी ग्य्रान्ड डिजाइनमा प्रयोग तथा उपयोग गर्ने दीर्घकालीन रणनीतिमा पुष्पलालको ब्यानरमा जातिवादी एजेन्डालाई सांस्कृतिक राजाको राज्य बनाउन खोजियो । केही नलागे बाबुरामलाई इन्डो ब्यानरको पश्चिमा शक्ति केन्द्रले स्वतन्त्र तिब्बत गतिविधिलाई केन्द्रमा राख्दै अघि सा¥यो । त्यो प्रयत्नको असफलतापछि बम प्रहार गर्दै सिंहले बमकाण्डको नयाँ आयाम रचेको सहजै बुझ्न सकिन्छ । नेपालमा अहिले साम्राज्यवादी इसारामा जनमुक्ति सेनाको विघटन गरियो । नेपाली राष्ट्रिय सेना विघटन गर्न जातिवादी र समायोजनको बहानामा राष्ट्रिय सुरक्षा ध्वंस गर्दै बहुराष्ट्रिय सेना स्थापित गर्ने षडयन्त्र रचियो । दक्षिण एसिया ध्वंस गर्ने रणनीतिमा सेनामाथि पटकपटक प्रचण्ड, बाबुराम र मधेसी समूह चारबुँदे सम्झौताको आडमा जातिवादी बटालियनको प्रपोगन्डा गरिरहेका छन् । यही गुरुयोजनाको निरन्तरतामा आएको चारबुँदेमा पार्टीहरू फस्नु राष्ट्रकै बिडम्बना हो । विश्व साम्राज्यवादलाई राष्ट्रिय सुरक्षा सुम्पँदै इराक–अफगानिस्तान र दक्षिण कोरियामाजस्तो बहुराष्ट्रिय सेनामार्फत चीन र भारतसँग गरिने कार्यको गुरुयोजना तयार भइसकेकोप्रति कोही अनभिज्ञ छैनन् । मृत संविधानसभाबाट पश्चिमाहरूले आफ्नो गुरुयोजनाको कार्य सम्पन्न हुने देखेनन् । तसर्थ तिनले रामराजा मोडलको बमकाण्डसँगै राजावादी खतराको प्रपोगन्डाको नयाँ रूपमा साम्राज्यवादी किल्ला निर्माण गर्ने उद्देश्य राखे । यदि उक्त उद्देश्य साकार भएमा यो मुलुक पश्चिमाको परेड खेल्ने अखडा मात्रै रहनेछ ।
बकिङ्घम दरबारलाई पश्चिमाहरूले आफ्नो जीवित रणनीतिक दिशानिर्देश केन्द्र बनाएजस्तै कोतपर्वमार्फत उदय भएको जङ्गबहादुर शैली वर्तमानमा पनि जीवित छ । १९ जेठ २०५८ ले दोस्रो कोतपर्वलाई सतहमै प्रकट गराएको छ । जसरी २०३६ को जनमतसङ्ग्रहमा माले र मसालेको बहिष्कार भयो र जसरी ०४२ को बमकाण्ड मोडलमार्फत राष्ट्रवादी र प्रजातान्त्रिक सङ्घर्ष कमजोर पार्न प्रयोग भयो, त्यसैको नयाँ मोडल पछिल्लो बमकाण्डका रूपमा प्रकट भयो । गोयबल्सका अनुयायी यसलाई मोडेर कुप्रचारमार्फत मृत संविधानसभालाई अहिले पनि सञ्जीवनी पिलाउने काम गर्दैछन् । त्यति मात्र होइन एकातर्फ दलाइ लामा र अर्कातर्फ माओवादको आवरणमा उदय भएका छविलाल उर्फ पुष्पकमल दाहालले बुद्धको नाममा लुम्बिनीलाई पश्चिमाको रणनीतिक केन्द्र बनाउने प्रयत्न गर्दैछन् । आफैँमा इसाई धर्मका अनुयायी रहेका राष्ट्रसङ्घीय महासचिव बान– कि मुनको लुम्बिनी भ्रमणमार्फत कार्य सम्पादन हुँदैछन् । राष्ट्रसङ्घको आवरणमा हिजो अनमिन र इयान मार्टिन जसरी नेपाली सेना र यहाँको राष्ट्रिय सुरक्षा ध्वंस गर्न केन्द्रित थिए, त्यसरी नै  मुन दाहाललाई अगाडि सारेर लुम्बिनीलाई केन्द्रमा राख्दै बौद्धदर्शनको विस्तारको आवरणमा पश्चिमा केन्द्र निर्माणको प्रयोगमा आएको स्पष्टै छ । एकातर्फ हिजो जनयुद्धको आवरणमा  बौद्ध धर्ममाथि हमला गर्ने एमाओवादी र यसका अध्यक्ष दाहाल, अर्कातर्फ स्वयं इसाई धर्मका अनुयायी  मुनको बौद्धदर्शन र लुम्बिनीप्रतिको मोह धार्मिक आवरणको पश्चिमा ग्य्रान्ड डिजाइनअन्तर्गतको अर्को दलाई मोडल हो भन्ने प्रस्टै छ ।
वर्तमान अवस्थामा शान्ति र संविधानको तुइन प्रयोग गर्दै साम्राज्यवादको केन्द्र निर्माणका साथ दक्षिण एसिया ध्वंस गर्ने ग्य्रान्ड डिजाइन सतहमै प्रकट भएपछि पश्चिमा र उनका गोयबल्स प्रपोगन्डा गर्ने अनुयायी अत्तालिएका छन् । अहिले नक्कली गणतन्त्रवादीहरू मणि हराएको सर्पजस्तै र यसका संरक्षक दिशाविहीन कुहिरामा अलमलिएको काग बनेका छन् । नक्कली गणतन्त्रले आफैँलाई सहिद बनायो । मुक्तिनाथ अधिकारी, राममणि ज्ञवालीदेखि यसको अघोषित केन्द्र सुरेश वाग्ले, कृष्ण सेन, यदु गौतमदेखि गुप्तबहादुर विक, वसन्त भण्डारी हुँदै पछिल्लोपटक प्रचण्ड थैवसम्म निर्दोष प्रजातान्त्रिक योद्धाको हत्या भयो । यति हुँदा पनि माओवादी व्यक्ति हत्यालाई शब्दवादी सङ्घर्ष देख्ने कुख्यात मण्डले र यसका नायकहरूले विष रोपेर अमृत फल्दैन भन्ने कुरा अझै हेक्का राख्न सकेका छैनन् । तर व्यक्ति हत्याको त्यो घेराबाट अझै पनि सुरक्षित ठान्नु अबको बाटो कर्णेल गद्दाफी नै हो भन्ने कुरा समयमै हेक्का राख्दा राम्रो हुनेछ । २०३० सालपछि चौथो महाधिवेशनको न्युक्लियसलाई पुष्पलालविरुद्ध, मालेलाई डा केशरजङ्ग रायमाझीविरुद्ध र मण्डलेलाई बिपी कोइरालाविरुद्ध अभियान छेड्न लगाइएको थियो । त्यसले मुलुकलाई निकै ठूलो घाटा पु¥याएको राजनीतिका विद्यार्थीलाई थाहा छ ।
वैचारिक नेतृत्व र विचारलाई गुप्तचर घेराबन्दीमार्फत राजनीतिक हत्या गरेर आफ्नो भविष्य देख्दाको परिणाम नै आजको अराजक अवस्था हो । यसको जिम्मा सर्वप्रथम इतिहासमा माले, मसाले र मण्डलेको संरक्षण गर्ने बकिङ्घम प्यालेसको पश्चिमा नेक्ससलाई नारायणहिटीभित्र स्थापित गर्ने तत्वले नै लिनुपर्छ । रामराजा, मोहनविक्रम, पुष्पकमल र बाबुरामजस्ता पात्र कुनै समय काठमाडौँबाट चर्चित नेत्री नानीमैयाँ दाहालजस्तै तयार गरिएका पात्र मात्र हुन् भन्ने प्रस्ट भइसकेको छ । यसर्थ नेपाली जनता यी प्रति सधँै सचेत रहनुपर्छ । विचारले कमजोर र विचारविनाको भिड अराजकताको द्योतक हो भन्ने कुरा इतिहासले सिद्ध गरिसकेको अवस्थामा घोर दक्षिणपन्थी, प्रतिक्रियावादी, अराजकतावादी चिन्तनबाट सबै नेपाली र राष्ट्रिय सेना मुक्त हुन अनिवार्य छ । वास्तविक रूपमा जनतालाई वैचारिक रूपमा नै सम्बोधन गरी हिजो माले, मसाले र मण्डलेले गुप्तचर एजेन्सीमार्फत नेतृत्वलाई घेराबन्दी गरेको थियो । आज लेफ्टविङ आवरणका जातिवादी एजेन्डा बोकेको एमाओवादीका भगौडामार्फतको खुफिया टेन्डेन्सीमार्फत अराजकतातर्फ दिशानिर्देश गर्न खोज्नु रामराजा, मोहनविक्रम, पुष्पकमल र बाबुराम मोडलमा सुरक्षित ठान्नुजस्तै हो ।
इतिहास अत्यन्त निर्मम र कठोर हुन्छ । समय र जनतालाई सम्बोधन गर्न सके इतिहासमा निर्माता बन्न सकिन्छ भने चिन्न नसके खलनायक । आज रुसमा भ्लादिमिर पुटिनलाई अर्को लेनिनका रूपमा र यल्त्सिन गन्ेनाडी एनायभलाई राक्षसका रूपमा रुसी जनताले लिएको घटना हामीसामु ताजै छ । हाम्रो सन्दर्भमा माले, मसाले, मण्डले र माओवादीमार्फत ध्वंस गरिएको मुलुक अब कसले निर्माण गर्ने भन्ने आजको मुख्य राजनीतिक प्रश्न हो । यो घेरालाई ध्वंस गरेर मुलुक निर्माण अबको नयाँ नेतृत्वको चुनौती हो । जसरी  पुटिन एनाएभ र यत्ल्सिन प्रवृत्तिबाट मुक्त गर्दै रुसलाई नयाँ दिशा दिन सफल भए, साम्राज्यवादी षड्यन्त्रलाई परास्त गर्दै अघि बढे, त्यसै गर्न साम्राज्यवादी नेक्ससको अभ्यास र प्रयोगको रिहर्सलरूपी संविधानसभा विघटन र तुरुन्तै नागरिक शासनको बहालीमार्फत वैचारिक नेतृत्व अबको विकल्प हो । यसलाई दक्षिणपन्थी दिशा र फेरि पनि
गुप्तचर टेन्डेन्सीमा कब्जा गर्न खोजिए नेतृत्वसहित खरानी बनाउन नेपाली जनता तयार रहन्छन् भन्ने कुरा हेक्का राखे हुन्छ ।

प्रतिक्रिया