पार्टीको कार्यक्रम बन्यो झलनाथको जन्मोत्सव

काठमाडौँ, ६ चैत । विवादका बेला पार्टीसँग जोडिएका औपचारिक दिवस पनि छुट्टाछुट्टै मनाएका नेकपा (एमाले)का नेताले आन्तरिक एकतापछि भने पार्टीको कार्यक्रममा नेताहरूको जन्मदिन नै मनाउन थालेका छन् । पार्टीनिकट कानुन व्यवसायीसँग भेटघाट भनेर सोमबार आयोजित कार्यक्रम अध्यक्ष झलनाथ खनालको जन्मदिनको कार्यक्रमजस्तै बन्न पुग्यो ।
कार्यक्रम सुरु हुनुभन्दा आधा घन्टाअघि खनालको जन्मदिन थाहा पाएका आयोजकले ‘अध्यक्ष खनालको जन्मदिन परेको’ भन्दै कार्यक्रमको सुरुमै शुभकामना दिए, त्यो पनि विगतमा वरिष्ठ नेता माधव नेपालनिकट भनिएका पोलिटब्युरो सदस्य रघुजी पन्तले हललाई भावुक बनाउँदै कार्यक्रम थालेर । पार्टीको कानुन विभागले कानुन व्यवसायीसँग भेटघाट कार्यक्रम राखेको थियो ।
कानुन विभाग प्रमुखसमेत रहेका पन्तले कार्यक्रम थाल्दै खनालको ६३औँ जन्मदिन भएको खुलासा गरेका थिए । उनले आधा घन्टाअघि मात्रै खनालको जन्मदिन थाहा पाएको भन्दै खनाललाई सुस्वास्थ्य, दीर्घायु र पार्टीलाई एकताबद्ध बनाएर नेतृत्व गर्न शुभकामना दिए ।
‘यो अर्को विषयमा आयोजित कार्यक्रम हो तर संयोगले आज हाम्रो पार्टी अध्यक्ष झलनाथ खनालको जन्मदिन परेको छ,’ पन्तले भने, ‘६३ वर्षअघि आजकै दिन इलाममा उहाँको जन्म भएको हो, म अध्यक्ष कमरेडको सुस्वास्थ्य, दीर्घायु र पार्टीलाई एकताबद्ध बनाएर नयाँ उचाइमा पु¥याउन सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।’ उनले खनाललाई शुभकामना दिँदा पार्टी केन्द्रीय कार्यालयको हल तालीले गुन्जिएको थियो ।
कार्यक्रममा ढिलो पुगेका महासचिव ईश्वर पोखरेलले मञ्चमै खनाललाई शुभकामना दिएका थिए ।
मन्तव्यको पालो आएपछि खनालले कार्यकर्तालाई धन्यवाद दिँदै पार्टीलाई एकताबद्ध बनाइछाड्ने प्रतिबद्धता जनाए । ‘संयोगले आज मेरो जन्मदिन परेको छ, कमरेडहरूले शुभकामना दिनुभएको छ,’ उनले भने, ‘म तपाईंहरू सबैलाई धन्यवाद दिन्छु र पार्टीलाई नयाँ उचाइमा पु¥याउने सङ्कल्प गर्दछु ।’
कार्यक्रम सकिएपछि कानुन व्यवसायीले लाम लागेर खनाललाई शुभकाना दिएका थिए । केहीले भर्खरै मात्र जन्मदिन थाहा पाएको भन्दै आफूले बोकेको कलम नै उपहार दिए । ‘कमरेडको जन्मदिन आजै परेछ, मसँग अहिले अरू केही छैन यो कलम उपहार दिन्छु’ काभ्रेबाट आएका रामशरण घिमिरेले कलम दिँदै भने ।
खनालले शान्तिप्रक्रियाले पूर्णता पाएपछि मात्र नयाँ संविधान निर्माण निष्कर्षमा पुग्ने बताएका थिए । उनले शान्तिप्रक्रिया र संविधान निर्माणका लागि पार्टीले विगतमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै अब पनि त्यस्तै भूमिकामा रहने बताए । उनले भने, ‘१४ जेठभित्र संविधान जारी गर्न एमाले जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार छ ।’
माओवादीसामु पनि शान्तिप्रक्रिया टुङ्ग्याएर संविधान निर्माण गर्न सहमत हुनुको विकल्प नरहेको तर्क उनले गरे । ‘शान्तिप्रक्रिया सबै विषयको केन्द्रीय कडी हो, यो टुङ्गिए धेरै कुरा टुङ्गिन्छ,’ उनले भने, ‘तर, यो सबै कुराको भविष्य माओवादीको भूमिकामा निर्भर छ ।’

प्रतिक्रिया