यो घर किन्दा स्रोत लुकाइयो

काठमाडौँ, ६ चैत । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल हाल बसिरहेको लाजिम्पाटस्थित ‘चर्चित’ घर खरिद–बिक्री हुँदा आयस्रोत लुकाइएको खुलासा भएको छ । प्रचलित कानुनअनुसार एक करोड रुपियाँभन्दा बढीको घरजग्गा कारोबारमा आयस्रोत खुलाउनैपर्छ ।
गत १३ साउनमा ललितपुर निवासी शिशु अर्यालले पाँच करोड २० लाख रुपियाँमा नवलकिशोर अग्रवालसँग सो घर किनेको मालपोत कार्यालय डिल्लीबजारको अभिलेखमा देखिन्छ । तर, घर तथा कम्पाउन्डको किनबेचका कागजातमा कहीँ–कतै आयस्रोत खुलाइएको छैन । आयस्रोतविनै शंकास्पद रूपमा मालपोत कर्मचारीले अग्रवालको नामबाट सो घर अर्यालको नाममा पास गरिदिएका छन् । घरको नामसारी कागजातमा खरिदमूल्य र आयस्रोत खुलाउनुपर्ने महल खाली छ ।
‘स्रोत खुलाउनैपर्छ,’ डिल्लीबजारस्थित मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत सुशील वैद्यले भने, ‘भर्नुपर्ने हो, खोली रहेछ ।’ पहिले सो घरको किनबेचमा स्रोत खुलेको दाबी गरेका वैद्यले लिखत देखाउन लगाएपछि मात्र नखुलेको स्विकारेका थिए ।
स्रोत खुलाए÷नखुलाएको हेर्ने जिम्मेवारी मालपोतको नभएको वैद्यको दाबी छ । ‘शङ्का लागे राष्ट्र बैंकले हेर्छ,’ उनले भने ।
मालपोत कार्यालयले एक करोड रुपियाँभन्दा बढीको कारोबारको स्रोत नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइलाई पठाउनुपर्ने प्रावधान छ । तर, शिशु अर्यालले घर किन्दा डिल्लीबजार मालपोत कार्यालयले सो इकाइलाई कुनै जानकारी पठाएको छैन । मालपोत प्रमुख वैद्यले यस विषयमा आपूmलाई जानकारी नभएको बताए । उनले भने, ‘पठाएको रहेनछ भने कारबाही भोगौँला ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख भगवती काफ्लेले यस्तो कारोबार जुनसुकै निकायबाट गराइएको भए पनि स्रोत खुलाउनुपर्ने बताए । स्रोत नखुलाई सो कारोबार गराइएको भए कानुनसम्मत नहुने उनको भनाइ छ ।
राष्ट्र बैंकको वित्तीय इकाइमा आएको स्रोतसम्बन्धी जानकारी गोप्य राख्ने गरिन्छ । ‘देखाउन मिल्दैन,’ इकाइ प्रमुख धर्मराज सापकोटाले भने, ‘अनुसन्धान भएर अदालतमा मुद्दा नपरेसम्म गोप्य हुन्छ ।’ उनले पनि मालपोतले कारोबारको स्रोत खुलाएर इकाइलाई पठाउनैपर्ने बताए । ‘अन्यथा मालपोत नै अपराध लुकाउने मतियार बन्छ,’ सापकोटाले भने ।
नयाँबजारबाट माओवादी अध्यक्ष दाहाल लाजिम्पाट सरेपछि चर्चामा आएको उक्त घर–कम्पाउन्ड १५ सय २८ वर्गमिटर अर्थात् करिब तीन रोपनी क्षेत्रफलमा बनेको छ । ११९, १२० र ३४ नम्बर कित्ताको उक्त घर–कम्पाउन्डको नामसारी मालपोत कार्यालयमा नभई घरमै ‘डोर’ खटाएर गरिएको थियो । ‘अतिरिक्त पाँच हजार रुपियाँ राजस्व तिर्नेहरूलाई डोरको सुविधा छ,’ मालपोत प्रमुख वैद्यले भने, ‘यो घरजग्गा मालपोत कार्यालयमा नआई खरिद–बिक्री गरिएको हो ।’
मालपोतका कर्मचारी शङ्करप्रसाद ओझा र इन्द्रसिंह सामन्त डोरमा खटिएका थिए । डोरले तयार पारेको लिखतमा पुष्पादेवी सिंहानिया र विमलकुमार सिंहानिया साक्षी छन् । कानुन व्यवसायी सुनील आचार्यले लेखापढी गराएका थिए ।
काठमाडौँ महानगरपालिकाको वडा नम्बर २ कार्यालयले अग्रवालले बेचेको सो घरको मूल्य २४ लाख ९६ हजार आठ सय ४३ रुपियाँ ५० पैसा मात्रै सिफारिस गरेको छ । मालपोतको रेकर्डअनुसार अग्रवालले पाँच वर्षपहिले पूरै घरजग्गा ४८ लाख रुपियाँमा किनेका थिए । जग्गाको मूल्याङ्कन भने मालपोत कार्यालयले गरेको छ । मालपोतको मूल्याङ्कनअनुसार लाजिम्पाट क्षेत्रको त्यो जग्गाको मोल प्रतिआना करिब १० लाख रुपियाँ रहेको देखिन्छ ।
अर्कातिर, शिशु अर्यालले नवलकिशोर अग्रवाललाई पैसा दिएको प्रमाण पनि देखिँदैन । भूमिसुधार विभागले गरेको परिपत्रअनुसार ५० लाख रुपियाँभन्दा माथिको कारोबार गर्दा बैंकको ‘गुड फर पेमेन्ट चेक’ वा ‘नगद बुझाएको भौचर’ देखाउनुपर्छ । मालपोतका एक कर्मचारीका अनुसार ती दुवै प्रमाण मालपोतको मिसिलमा छैनन् । ती कर्मचारीले भने, ‘कारोबार कसरी भयो भन्ने खुल्न सकेको छैन ।’
शिशु अर्याल अहिले कहाँ छिन् भन्ने दस्ताबेजबाट खुल्दैन । ललितपुर जिल्ला प्रशासनबाट ०३४ वैशाख १ गते १२३० नम्बरको नागरिकता लिएकी र ०६४ मा २४६७ नम्बरको नागरिकताको प्रतिलिपिसमेत लिएकी शिशुको ललितपुर उपमहानगरपालिका वडा नम्बर १ मा बसोबास भने देखिँदैन ।
उनका पति गृष्मराम भण्डारी र ससुरा ठाकुरप्रसाद भण्डारीको पनि ललितपुर उपमहानगरपालिका–१ मा बसोबास छैन । ललितपुर मालपोत कार्यालयमा शिशु अर्यालको नाममा कुनै पनि जग्गा देखिँदैन । घर बेच्ने नवलकिशोर अग्रवालले शिशुलाई आफूले किनबेचका क्रममा भेटेको बताए । ‘उनी अमेरिकामा बस्छिन् भन्ने सुनेको छु,’ उनले भने । यद्यपि, अध्यागमन कार्यालयमा बुझ्दा शिशु अर्याल नाम गरेको व्यक्ति सन् २००२ यता विदेश आवत–जावत गरेको रेकर्ड छैन ।
अग्रवालसँग घर किनबेच प्रक्रियामा प्रयोग भएको मोबाइल नम्बर ‘सुमार्गी’ भनिने अजयराज पराजुलीको रहेको खुलेको छ । सुमार्गी माओवादी अध्यक्ष दाहालसित घनिष्ट सम्बन्ध रहेका व्यापारी हुन् । शिशु अर्याल सुमार्गीकै जेठीसासू रहेको तथ्य यसअघि सञ्चारमाध्यममा आइसकेको छ ।
नेपाल टेलिकमको रेकर्डअनुसार ९८५१०८५१०२ नम्बरको मोबाइल फोन अजयराज पराजुलीको नाममा छ । तिनै अजयराजको काठमाडौँ वडा नम्बर १० मा रहेको जग्गाको लालपुर्जामा अजयराज पराजुली सुमार्गी लेखिएको छ ।
‘त्यही नम्बरबाट सम्पर्क हुन्थ्यो,’ अग्रवालले भने, ‘यो नम्बरबाट शिशुको बुबाले धेरैपटक फोन गरे ।’ नेपाल टेलिकममा बुझ्दा सो नम्बरको फोनको नौ हजार दुई सय ३८ रुपियाँ ९१ पैसा महसुल टेलिकममा तिर्न बाँकी छ । अहिले यो नम्बर ‘स्विच अफ’ छ ।

यस्तो छ कारबाही
एक करोड रुपियाँभन्दा बढीको घरजग्गा कारोबारको स्रोत लुकाएमा सम्पत्ति शुद्धीकरण ऐनअनुसार कारबाही हुने कानुनी व्यवस्था छ । ‘सम्बन्धित सम्पत्ति जफत गरेर सोहीबराबरको बिगो जरिवाना र एकदेखि चार वर्षसम्म कैद सजाय हुन्छ,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विश्वप्रकाश सुवेदीले भने, ‘एउटा उजुरीको भरमा हामी कारबाही गर्छौं ।’
आन्तरिक राजस्व विभागका महानिर्देशक टङ्कमणि शर्माका अनुसार आयस्रोत नखुलाई कारोबार गर्दा राजस्व ऐनअनुसार पनि कारबाही हुन्छ । साउनमा किनबेच भएको सो घरमा माओवादी अध्यक्ष दाहाल गत ५ माघदेखि बस्न थालेका हुन् । दाहालको सचिवालयले सो घर मासिक एक लाख तीन हजार रुपियाँ भाडामा लिएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया