थोर्पको चाहना अधुरो, जोन्स चौथोपटक ओलम्पिकमा

सिड्नी, ५ चैत । इयान थोर्प लन्डन ओलम्पिकका लागि छनोट हुन असफल भएका छन् । एक दिनअघि अस्ट्रेलियाई छनोटअन्तर्गत २ सय मिटर फ्रि–स्टाइलको सेमिफाइनलबाट बाहिरिएका थोर्प आइतबार हिट्समा २० औं स्थानमा रहे । उनले ५०.३५ सेकेन्डमा दूरी पार गरे । ओलम्पिकको सपना अपूरो रहे पनि उनले आगामी वर्ष बार्सिलोनामा हुने विश्व च्याम्पियनसिप, २०१४ को कमनवेल्थ खेलकुद र २०१६ को ओलम्पिकमा सहभागिताको सम्भावना जीवित रहेको बताए ।
छनोटको प्रत्येक स्पर्धामा शीर्ष दुई स्थान पाउनेले ओलम्पिकमा सहभािगताको अवसर पाउनेछन् भने शीर्ष ६ खेलाडी रिले टिममा समावेश हुनेछन् । विश्वविजेता जेम्स म्याग्नसनले ४७.९३ सेकेन्डमा पौडँदै सेमिफाइनल प्रवेश गरे भने म्याथ्यु टार्गेटले ४८.६५ सेकेन्डमा दूरी पार गरे । थोर्पका समकक्षी माइकल किम ११ आंै स्थानमा रहेपछि फाइनल प्रवेश गर्न असफल रहे । उनले १ सय मिटर बटरफ्लाइको छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।
बेइजिङ ओलम्पिककी स्वर्णपदक विजेता लिसेल जोन्सले लगातार चौथो ओलम्पिकमा सहभागिताको अवसर पाएकी छन् । राष्ट्रिय च्याम्पियनको ताज आफ्नै ‘ट्रेनिङ पार्टनर’ लिस्टन पिकेटलाई सुम्पनुका बाबजुद जोन्स १ सय मिटर ब्रेस्ट स्ट्रोकमा छनोट भइन् । सिड्नी ओलम्पिकमा १५ वर्षको उमेरमा रजतपदक जितेकी जोन्सले ओलम्पिक खेलकुदमा तीन स्वर्णसहित आठ पदक जितेकी छन् । लन्डन ओलम्पिकका लागि बेलायती पौडी टोलीको चयन भएको छ । छनोट भएका ३८ खेलाडीमा ओलम्पिक च्याम्पियन रेबेका एडगिल्टन र विश्व च्याम्पियन लियाम ट्यानकक पनि रहेका छन् । जुनमा हुने अर्को छनोटपछि बेलायती टोली पूर्ण हुनेछ । त्यसपछि मात्र ३८ जनामा केही थप हुनेछन् ।
पछिल्लो बेइजिङ ओलम्पिकमा बेलायतले पौडीमा तीन पदक जितेको थियो । एडगिल्टनले ४ सय र ८ सय मिटर फ्रि–स्टाइलमा स्वर्णपदक जितेकी थिइन् भने जोन ज्याक्सनले ४ सय मिटर फ्रि–स्टाइलमा कांस्यपदक जितेका थिए । अन्तिम दिन ५० मिटर फ्रि–स्टाइलमा पनि छनोट भएपछि फ्रान हान्सेलले तीन स्पर्धामा सहभागिताको अवसर पाएका छन् । यसअघि उनी १ सय मिटर बटरफ्लाइ र १ सय मिटर फ्रि–स्टाइलमा छनोट भइसकेका छन् । एएफपी

प्रतिक्रिया