श्रीलङ्कालाई इराकी तेल प्रस्ताव

कोलम्बो, ५ चैत । दक्षिण एसियाली राष्ट्र श्रीलङ्कामा ठूलो मात्रामा कच्चा तेल निर्यात गर्न सकिने इराकले प्रस्ताव राखेको छ । श्रीलङ्का इरानी कच्चा तेलमाथि निर्भर रहँदै आएकोमा पश्चिमी राष्ट्रले इरानमाथि प्रतिबन्ध लगाएपछि श्रीलङ्कामा इन्धन आपूर्ति हुन नदिन इराकले यस्तो प्रस्ताव गरेको आइतबार प्राकाशित समाचारमा जनाइएको छ । श्रीलङ्काले ९२ प्रतिशत कच्चा तेल इरानबाट आयात गर्दै आएको छ । इरानलाई पारमाणविक कार्यक्रम रोक्न बाध्य गराउने उद्देश्यले अमेरिकालगायत युरोपेली राष्ट्रले इरानमाथि विभिन्न खाले प्रतिबन्ध लगाएका छन् ।
कोलम्बोमा केन्द्रीय कार्यालय रहेको ‘सन्डे टाइम्स’ पत्रिकाले श्रीलङ्काको पेट्रोलियम मन्त्रालयका अधिकारीले इरानबाट हुने कच्चा तेलको आयात मार्च महिनादेखि रोकिने बताएको जनाएको छ । श्रीलङ्काको तेल प्रशोधन केन्द्र सन् १९६८ मा इटाली प्रविधिबाट निर्माण भएको हो । यसले इरान र साउदी अरबबाट ल्याइने कच्चा तेल प्रशोधन गर्नसक्छ । श्रीलङ्काले साउदी अरबबाट थप कच्चा तेल आयात गर्ने विषयमा छलफल गरिरहेको छ । साथै, इराक र ओमानबाट कच्चा तेल आयात गर्ने विषयमा पनि छलफल भइरहेको छ । एसियाका दुई ठूला राष्ट्र चीन र भारतले भने इरानबाट तेल खरिद गर्ने क्रम जारी राखिने जनाइरहेका छन् । (एएफपी)

प्रतिक्रिया