प्रहरी हिरासतमै आत्महत्या

काठमाडौँ, ५ चैत । महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेकी एक महिलाले आत्महत्या गरेकी छन् । धादिङको थाक्रे गाविस–७ की ४२ वर्षीया भवानी तामाङले आइतबार झुन्डिएर आत्महत्या गरेकी हुन् । आइतबार बिहान
११ ः३० बजे हिरासत कक्षको शौचालयमा रहेको भ्यान्टिलेसन ग्रिलमा साडीले घाँटीमा पासो लगाई उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरी वृत्त कालीमाटीले १ चैतमा हिरासतमा लिई काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेको थियो । प्रहरीका अनुसार उनीविरुद्ध ६० तोला सुन ठगी गरेको भन्दै विभिन्न व्यक्तिले उजुरी दिएपछि तामाङलाई पक्राउ गरिएको थियो । कलंकीका रीता विकले उनीविरुद्ध पहिलो उजुरी चार तोला सुन ठगेको भन्दै हालेकी थिइन् । डिएसपी टेकबहादुर तामाङका अनुसार पहिलो उजुरीपछि उनीविरुद्ध ठूलो परिमाणमा रकम ठगी गरेको भन्दै ४२ जनाले उजुरी हालेका थिए ।
‘अनुसन्धानका क्रममा उनी ढुकुटी खेल्ने गरेको पाइयो, त्यही क्रममा उनले महँगो ब्याज तिर्ने भन्दै मोटो रकम लिएको देखिन्छ,’ डिएसपी तामाङले भने । उनका अनुसार भवानीले १५ लाख प्रतिमहिना तीन लाख रुपियाँ ब्याज दिने सर्तमा बटुलेकी थिइन् । उनले भने, ‘ढुकुटीमा रकम उठाएको भन्दै अहिले उनीविरुद्ध दुई करोडभन्दा धेरै रकमको उजुरी परेको छ ।’
उनकी माइली छोरी २२ वर्षीया अञ्जनाका अनुसार उनी २१ फागुनमा परिवारसँग सम्पर्कविहीन बनेकी थिइन् । ‘बेलुका अबेरसम्म पनि कोठामा नआएपछि प्रहरी कार्यालयमा उजुरी हाल्ने सोच बनाएँ,’ श्रीमान् चन्द्रबहादुरले भने, ‘त्यसदिन शुक्रबार परेकाले उजुरी हाल्न भ्याइएन । भोलि पनि शनिबार परेकाले उजुरी हाल्ने काम त्यत्तिकै रोकियो ।’ २२ फागुनमा भोजपुरका श्याम गिरीले चन्द्रबहादुर र उनकी जेठी छोरी बन्दनालाई जबर्जस्ती खसीबजारस्थित आफू बस्ने कोठामा लगे । भवानीले ढुकुटी खेल्ने भन्दै आफूबाट रकम लिएर गएको गिरीले जानकारी दिए । उनले २८ र ३० लाख रुपियाँको कागजमा बुबाछोरीलाई हस्ताक्षर गर्न लगाई छाडिदिएका थिए ।
प्रहरी वृत्त कालीमाटीमा भेटिएकी अञ्जनाले गहभरि आँसु पार्दै भनिन्, ‘त्यसपछि पो ममीको धन्दा ढुकुटी हो भन्ने थाहा पाइयो, ममीले यस्तो धन्दा गोप्य रूपमा गरेको एक वर्षजति भएछ ।’ उनका अनुसार त्यसपछि मोबाइलबाट घन्टैपिच्छे धम्की आउन थाल्यो । सुरक्षाको माग गर्दै उनीहरू प्रहरीमा पुगे । तीन दिनसम्म सबै कालीमाटी प्रहरी वृत्तमै बसे ।
भवानीले १ चैतमा प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् । चर्को ब्याजमा उठाएको रकम फिर्ता गर्न नसक्ने भएपछि उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया