एसएलसीमा अनियमितता गर्नेलाई विभागीय कारबाही

काठमाडौँ, ५ चैत । एसएलसी परीक्षामा अमर्यादित काम गर्ने शिक्षकलाई विभागीय कारबाहीसमेत गरिने भएको छ । शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले परीक्षामा अमर्यादित कार्य गरेको पाइएमा यस वर्षदेखि कसुर हेरेर कडा कारबाही गरिने बताए । यस वर्षको एसएलसी परीक्षा ७ देखि १६ चैतसम्म सञ्चालन  हुँदै छ ।
विभागका महानिर्देशक शर्माले आइतबार परीक्षा नियन्त्रण कार्यालयले गरेको पत्रकार सम्मेलनमा अनियमित काम गर्नेलाई कसुर हेरेर ग्रेड घटुवा, सचेत गराउनेलगायत कारबाही गरिने बताएका हुन् । शिक्षा नियमावलीअनुसार अनियमित काम गर्नेलाई एक वर्ष कैद, एक लाख जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
परीक्षा नियन्त्रण कार्यालयले ०६८ सालको एसएलसी परीक्षाको सबै तयारी पूरा भएको जनाएको छ । आइतबार पनिकाले पत्रकार सम्मेलन गरी सबै तयारी पूरा भएको जनाएको हो । परीक्षा नियन्त्रक डिल्लीराम रिमालका अनुसार यस वर्ष दुई हजार पाँच सयभन्दा बढीले दुई ठाउँबाट परीक्षाको फारम भरेको पाइएको छ । रिमालले दुई ठाउँबाट फारम भर्नुमा प्रधानाध्यापकको कमजोरी रहेको बताए । दुई ठाउँबाट भरिएकामध्ये नियमित पढेको विद्यालयबाट भरेको फारमलाई स्वीकृत दिइएको छ । परीक्षामा देशभरिबाट पाँच लाख २८ हजार दुई सय ५७ परीक्षार्थी सम्मिलित हुँदै छन् ।

प्रतिक्रिया