चन्दा उठाउदै ओबामा

एटलान्टा, ४ चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदको निर्वाचन अभियानका क्रममा एकै दिनमा पचास लाख अमेरिकी डलर चन्दा उठाएका छन् ।   गृहनगर सिकागोमा शुक्रबार उनले ६ सय समर्थकबाट २१ लाख अमेरिकी डलर चन्दा उठाए । त्यहाँको एक नाचघरमा ओबामाको निर्वाचन अभियानका लागि भन्दै प्रति सहभागीले दुई हजार पाँच सय अमेरिकी डलर तिरेका थिए ।
त्यसपछि ओबामाले करिब ६० जना आफ्ना धनाढ्य समर्थकबाट प्रतिव्यक्ति करिब १० हजार अमेरिकी डलर उठाएका थिए । ओबामाले अहिलेसम्म १४ करोड अमेरिकी डलर उठाइसकेका छन् । उनले सन् २००८ को निर्वाचनमा ७० करोड अमेरिकी डलर उठाएको थियो । उठेको रकम राष्ट्रपतीय निर्वाचनका क्रममा खर्च गरिन्छ ।
शुक्रबार राष्ट्रपति ओबामाका एक सय १० जना चन्दा सङ्कलक सहयोग उठाउने अभियानमा जुटेका थिए । उनीहरूले ठूला सभा गरी चन्दा सङ्कलन गरेका थिए । अभियानकै क्रममा धनी व्यक्तिहरूले राष्ट्रपतिसँग खाना खाने र आफ्ना कुरा सुनाउने अवसर पाएका थिए । यसका लागि उनीहरूले ३५ हजार आठ सय अमेरिकी डलरसम्म चन्दा सहयोग गरेका थिए । (एएफपी)

प्रतिक्रिया