घोडा चडेर स्कुल जान्थें

सुशीलजङ्ग राणा
(गृहसचिव, नेपाल सरकार)

भाइबहिनीहरू, म २०११ साल फागुनमा बाँकेको पुरैनी गाविसमा जन्मेको हुँ । मेरा पिताजीको नाम तेजजङ्ग राणा हो भने मुमाचाहिँ सीताकुमारी ।
हाम्रो गाउँमा एउटा बेग्लै चलन थियो । अनौपचारिक शिक्षा घरमै लिने अनि एकैपटक ठूलो कक्षामा भर्ना हुने । म एकैचोटि तीन कक्षामा भर्ना भएँ । म कान्छो छोरा । मेरा दाजुहरू त झन् एकैचोटि पाँच र ६ कक्षामा भर्ना हुनुभएको थियोे अरे !
हाम्रो परिवार कृषिमै आधारित हो । जग्गाजमिन प्रशस्तै थियो । गाउँबाट नेपालगन्ज बजारको दूरी लगभग चार किलोमिटरजति पर्छ । त्यहाँ मैले प्राथमिकदेखि माध्यमिकसम्म पढँे । एउटा सम्झना बारम्बार स्मृतिमा आउँछ । म सानै थिएँ, छिटो हिँड्न सक्दैनथेँ । स्कुल जाँदा मलाई एकजनाले बोक्नैपर्ने । मानिसलाई बोकाएर पठाउनुभन्दा बुबाले हामीलाई घोडा किनिदिनुभयो । हामी दुई दाजुभाइ एउटै घोडामा चढेर स्कुल जान्थ्यौँ । घोडा डो¥याउने एक मानिस पनि थिए । तिनैले हामीलाई उचालेर घोडामाथि चढाइदिन्थे अनि स्कुल पुगेपछि ओह्रालिदिन्थे ।
बुबालाई त मैले राम्रोसँग चिन्नसमेत पाइनँ । खेतीपातीको समयमा मुमा हामीलाई खेत निरीक्षण गर्न पठाउनुहुन्थ्यो । बालीनाली रोप्ने अनि भित्र्याउने समयमा अलि बढी जानुपथ्र्यो । अरू घरायसी काम भने हामीले गर्नुपरेन ।
त्यतिबेला काम गर्ने मान्छेहरूलाई दिने ज्याला म नै सिफारिस गर्थें, त्यही ज्याला कार्यान्वयन हुन्थ्यो । म हिसाबकिताब दुरुस्त राख्थेँ । त्यही भएर होला, सानैदेखि मैले हाम्रो मौजाको पटवारी (तीन–चार मौजाको मालपोत अधिकृतजस्तै) को सहयोगीका रूपमा पनि काम गर्ने अवसर पाएँ ।
गाउँमा धेरैजसो मधेसी मूलका मानिस थिए, पहाडी मूलका हामी मात्रै । बाहिरतिर कतै गएर खेल्न मन लाग्दैनथ्यो । घरमै ब्याडमिन्टन खेल्थ्यौँ । मलाई क्रिकेट खेल्न साह्रै मन लाग्थ्यो । तर, के गर्नु, ब्याट किन्नै भारतको लखनउ पुग्नुपर्ने । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैँ घरमै काठको ब्याट बनाएर खेल्यौँ । त्यतिबेला गाउँमा मेरो एउटा सम्झनलायक साथी थियो– छोटुवा तेली । ऊ गाउँमै खेतीकिसानी गर्छ, खाली समयमा रिक्सा चलाउँछ । ऊ र म असाध्यै मिल्थ्यौँ ।
मधेसी मूलका मानिसमा पढ्नुपर्छ भन्ने भावना विकास भइसकेको थिएन । हामी दाजुभाइले ती निरक्षरलाई पढाउने निर्णय ग¥यौँ र पढाउन पनि थालिहाल्यौँ । पछाडि सबैले हाम्रो कामको प्रशंसा गर्न थाले ।
बाल्यकालमा चकचक सबैले गर्छन्, धेरै–थोरै भन्ने मात्र हो । मैले पनि गरेको छु, जुन स्मृतिमा आइरहन्छ । त्यतिबेला तराईमा गर्मी बिदा हुन्थ्यो । जेठ र असारमा मेरो बास आँपको बगैँचामै हुन्थ्यो । साथीहरू जम्मा गरेर पुगिहाल्थेँ त्यहाँ । बगैँचा हाम्रै थियो । टन्टलापुर घाममा जतिसुकै गर्मी होस्, खेल्ने काम रोकिँदैनथ्यो । कहिलेकाहीँ त खेल्दाखेल्दै खाना खानै बिर्सन्थेँ । काँचो आँप खाने, रूखमा झुन्डिने, बगैँचाभरि कुद्ने, रूखबाट हाम फाल्ने गरिन्थ्यो । २०२६ सालमा एसएलसी पास गरेपछि त्यो सबै रोकियो । ती स्मृतिले अहिले पनि मेरो हृदयमा रमाइलो छरिरहन्छन् ।
प्रस्तुति सरिता सुबेदी

प्रतिक्रिया