समाजकल्याणका उपाध्यक्ष भगौडा सई

काठमाडौँ, ४ चैत । समाजकल्याण  परिषद्को उपाध्यक्षमा हालै नियुक्ति पाएका प्रमोद मेहता नेपाल प्रहरीका भगौडा प्रहरी नायब निरीक्षक (सई) हुन् । गत २९ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो ।
मेहता माओवादी द्वन्द्वका बेला ०६२ भदौमा प्रहरीको जागिर छाडेर भागेका थिए । प्रहरी मुख्यालयले त्यतिबेला दैनिक पत्रिकामा सूचना निकालेर उनलाई ३५ दिनभित्र हाजिर गर्न आउन भनेको थियो । मुख्यालयको रेकर्ड फाइलमा समेत उनले ०६२ भदौमा जागिर छाडेको उल्लेख छ ।
मुख्यालय स्रोतका अनुसार जागिर छाडेलगत्तै प्रधान कार्यालयले हाजिर हुन सूचना निकाले पनि उनी आएनन् । पछि पुनः सरकारी जागिर खान नपाउनेगरी कारबाही गरिएको रेकर्डमा उल्लेख छ । मुख्यालयस्थित प्रहरी कर्मचारी प्रशासन शाखाका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले भने, ‘त्यही नाम गरेको व्यक्तिले जागिर छाडेको देखिन्छ ।’
प्रहरी प्रवक्ता विनोद सिंहले मेहता नेपाल प्रहरीमा रहे नरहेको फाइल हेरेर मात्रै भन्न सक्ने बताए । ‘यसको आधिकारिकता फाइल हेरेपछि मात्रै टुङ्गो लाग्छ,’ उनले भने । सिंहका अनुसार जागिर छाड्नुपर्ने अवस्था हेरेर कारबाही गर्ने व्यवस्था प्रहरी नियमावलीमा छ ।
समाजकल्याण परिषद्मा नियुक्त हुने पदाधिकारीको नामावली समाजकल्याण मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने व्यवस्था छ । नामावलीसँगै सम्बन्धित व्यक्तिको सम्पूर्ण विवरण मन्त्रिपरिषद्मा पेस गरिनुपर्छ ।
समाजकल्याणमन्त्री दानबहादुर चौधरीले समेत मेहताले विगतमा नेपाल प्रहरीमा जागिर खाएको स्विकारेका छन् । उनले सौर्यसँग भने, ‘मेहता प्रहरीको भूतपूर्व सई हुन् तर भगौडा होइनन् । उनले राजीनामा दिएका हुन् ।’
मेहता पूर्वशिक्षामन्त्री रामचन्द्र कुशवाहाका ज्वाइँ हुन् । कुशवाहा अहिले तराई–मधेस लोकतान्त्रिक पार्टी नेपालका सह–अध्यक्ष रहेका छन् । शिक्षामन्त्री हुँदा भ्रष्टाचार गरेको अरोप लागेपछि कुशवाहालाई तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मन्त्री पद फिर्ता बोलाएका थिए । पार्टी विभाजनपछि उनी तमलोपा नेपालमा प्रवेश गरेका थिए ।
यता, परिषद्को सदस्य–सचिवमा नियुक्त भएका रवीन्द्रकुमार यादव सिँचाइमन्त्री महेन्द्र यादवका कान्छो भाइ हुन् । यादव यसअघि नेपाल विद्युत् प्राधिकरणको सातौं तहका प्राविधिक कर्मचारी थिए । भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । अयोगका प्रवक्ता ईश्वरीप्रसाद पौड्यालले उनीविरुद्ध अख्तियारमा तीन चारवटा उजुरी परेको बताए ।
यसैगरी, परिषद्मा कोषाध्यक्षमा नियक्त भएका कुञ्जबिहारी चौधरी स्वयं समाजकल्याणमन्त्री चौधरीका सम्धी हुन् । मन्त्री चौधरीले भने, ‘झलनाथ खनाल प्रधानमन्त्री हुँदा नियुक्त भएका पदाधिकारीबारे कसैले चासो राखेनन् तर अहिले मधेसी भएकाले चासो बढेको हो ।’

प्रतिक्रिया