विरोधपछि फेसबुकलाई बाइबाई

काठमाडौं, ४ चैत । ‘मेरोबारे सकारात्मक र नकारात्मक स्टाटसले आफ्नो वाल रङ्ग्याउने अथवा मिडियामा प्रचार गर्नुहुने सबैलाई विशेष धन्यवाद…’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशले आफ्नो फेसबुकमा शनिबार बिहान यस्तो ‘स्टाटस’ राखेका थिए । तर, उनले बेलुकी एकाएक आफ्नो फेसबुक खाता निष्क्रिय बनाए ।
हरेक दिनजसो थरीथरी विचार र टिप्पणी पोस्ट गरेर फेसबुकमा व्यस्त रहने प्रकाशले किन यसो गरे ? कारण हो, सरकारले शुक्रबार उनीसहितको टोलीलाई सगरमाथा चढ्न दुई करोड दिने भनी गरेको निर्णयको कटु आलोचना । फेसबुक प्रयोगकर्ताले उनको वालमा लगातार तिखा टिप्पणी र घोचपेच बर्साउन थालेपछि उनले आफ्नो खाता बन्द गरेका हुन् ।
फेसबुक प्रयोगकर्ताले शुक्रबार र शनिबार आफ्ना पेजमा सरकारको निर्णयविरुद्ध कठोर टिप्पणी गरिरहेका छन् । सुरुमा सबैलाई धन्यवाद दिए पनि अन्ततः प्रकाशले आलोचना सहन नसकी फेसबुक नै परित्याग गरे । सरकारले शुक्रबार मात्रै प्रकाशसहितको ११ सदस्यीय टोलीलाई सगरमाथा चढ्न दुई करोड रुपियाँ दिने निर्णय गरेको थियो । उनको टोलीबाट एक करोड रुपियाँबराबरको आरोहण शुल्क पनि नलिने निर्णय सरकारले गरेको छ ।
यद्यपि, प्रकाशले आफ्नो फेसबुक अरू कसैले बन्द गरिदिएको हुन सक्ने दाबी गरेका छन् । ‘मैले बन्द गरेको छैन, म बाहिर छु । फेसबुक कम्पनीमै भनेर अरूले नै बन्द गर्न सक्छन् । यसअघि पनि एक दुईपटक मेरो फेसबुक बन्द गरिएको छ,’ उनले सौर्यसँग भने ।

दुई करोड मात्रै पाउँदा दुःख लागेको छ

प्रकाश दाहाल

तपार्इं लगायतको टोलीलाई सगरमाथा चढ्न सरकारले दुई करोड रुपिया दिने निर्णयको चौतर्फी विरोध भयो नि ?
मिडियामा जसरी माओवादी अध्यक्षको छोरालाई सरकारले पैसा दियो भनेर प्रचार गरिएको छ, यो त्यसरी प्रचार गर्नुपर्ने विषय नै होइन । हामीले ६ हजार मिटर अग्लो लाङटाङ हिमाल चढेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नै प्रमाणपत्र दिनुभएको थियो । त्यतिखेर प्रधानमन्त्रीले ‘तपार्इंहरूले राम्रो काम गर्नुभयो, अझै राम्रो काम गर्नुस्, मेरो तर्फबाट नैतिक र आर्थिक सबै सहयोग रहन्छ’ भन्नुभएको थियो । अहिले विपक्षी दलहरूले राम्रो काम गर्न थाले भनेर डराएर मुद्दा बनाइरहेका छन् । पहिल्यै त्यस्तो थाहा भएको भए हामी पहल नै गर्दैनथ्यौं ।
भनेपछि विपक्षी दलहरू तपाईंको कामसित डराएर विरोधमा उत्रिएका हुन् ?
हो नि ! नत्र झलनाथ खनालको सरकारका बेला राज्यको ढुकुटीबाट अर्बौं बाँडियो, कसैले केही भनेन । निजामती कर्मचारी बिनाउद्देश्य सगरमाथा चढे, उनीहरूलाई कसैले केही भनेन । हामी दलहरूलाई शान्ति र संविधानको काम समयमै पूरा गर भनेर दबाब दिन र नेपालका प्रमुख पर्यटकीय स्थल सगरमाथा र लुम्बिनीलाई संसारमा चिनाउन सगरमाथा चढ्न गइरहेका छौँ । तर, बिनाकारण विरोध गरिरहेका छन् ।

तपाईंहरूले सगरमाथा चढेर शान्ति र संविधान बन्छ र ?
हामीले सगरमाथाको चुचुरोमा उक्लिएर त्यहाँबाट संविधान तल फाल्ने होइन, दलहरूलाई हामी सगरमाथा त चढ्यौँ, तपार्इंहरू संविधान बनाउन सक्नुहुन्न ? बनाउनुस् भनेर नैतिक दबाब दिने मात्रै हो । संविधान बनाउन राज्यको अर्बौं खर्च गरेर सभासद्हरू काठमाडौँमा बसिरहेका छन् तर संविधान बन्ने छाँट छैन । हामीले दबाब दिने मात्रै हो । हामीले त कांग्रेसका गगन थापा, एमालेका योगेश भट्टराईलाई पनि जाऊँ भनेका हौँ । सुरुमा उहाँहरूले हुन्छ भन्नुभयो, पछि मरिन्छ कि भनेर डराएर हो कि जान तयार हुनु भएन ।
यही घटनालाई लिएर विपक्षी दलका युवा–विद्यार्थीले तपाईंलाई ‘नया पारस’ भनिरहेका छन् नि ?
हाम्रो टोलीमा ११ जना छौँ । कृष्ण केसीले नेतृत्व गर्नुभएको छ । अहिले विपक्षी मित्रहरूले सरकारले दिएको दुई करोड मैले लिएर भाग्छु जसरी प्रचण्डको छोरालाई दियो भनेर प्रचार गरिरहेका छन् । हामीले मागेको तीन करोड हो । सरकारसित नमागेर कोसित माग्ने ? दुई करोड मात्रै दिएकामा दुःख लागेको छ । त्यो सामन्ती राजसंस्थाको पारस र म दुःख, कष्ट झेलेर आएको प्रकाशबीच कुनै तुलना हुन सक्दैन ।
उनीहरूले त सरकारी निर्णय फिर्ता नभएसम्म आन्दोलन चर्काउने भनिरहेका छन् नि ?
मैले उहाँहरूलाई भन्ने यत्ति मात्रै हो कि, तपार्इंहरू प्रतिपक्षमा हुनुहुन्छ, गर्नोस् । अझ एमालेको त सत्ताबाहिर बस्ने बानी नै छैन । तैपनि, राष्ट्रिय एकताका लागि हौसला बुलन्द गरेर आउनुस्, सबैले सहयोग गर्छन् । हामीलाई हाम्रो पार्टी माओवादीले सघाउँछ ।
आलोचना सहन नसकेर हो कि तपार्इंले आफ्नो फेसबुक नै बन्द गर्नुभएछ त ?
मैले बन्द गरेको छैन, म बाहिर छु । अरू कसैले गरेको होला ।
तपाईंको फेसबुक अरूले कसरी बन्द गर्ला र ?
होइन, फेसबुक कम्पनीमै भनेर पनि बन्द गर्न सक्छन् । यसअघि पनि एक दुईपटक मेरो फेसबुक बन्द गरिएको छ ।

फेसबुकमा यस्ता प्रतिक्रिया आए
प्रकाश आस्था ढुङ्गा लडाऊ ए शेर्पा दाजुभाइ, सगरमाथामा जाने बाटामा बसेर शान्तिका लागि ढुङ्गा लडाऔँ ।
हरेराम कार्की जनताका छोराछोरीले जीवनजल खान नपाउने देशमा नेताको छोरालाई सगरमाथा चढ्न दुई करोड ! कस्तो लाजमर्दो सरकारी निर्णय ।
शम्भु कट्टेल होइन, यो संविधान सगरमाथाको टुप्पोमा छ कि क्या हो ?
प्रेणित पोखरेल सगरमाथा चढेर देशमा शान्ति र संविधान आउँछ भन्ने ज्ञान भएको भए जनताले आप्पा शेर्पा र लाक्पा शेर्पाहरूलाई मत दिन्थे होलान् ।
विपुल पोखरेल सगरमाथा चढेर शान्ति र संविधान ल्याउनेलाई दुई करोड दिने सरकारले धरहराबाट प्याराग्लाइडमार्फत शान्ति र संविधान ल्याउनेलाई कति पैसा
देला ? माग्नुपर्छ कि क्या हो……
माधव रोस्यारा ए भाइ, सगरमाथा चढ्ने भनेको गाडी चढ्याजस्तो होइन । प्रकाश दाहाललाई मात्रै दे’को होइन, ११ जना अरू छन् । एउटा अभियानसहित यो यात्रा सुरु भा’को छ । बरु पर्यटन अभिवृद्धिका साथै यो अभियानले भविष्यमा दिन सक्ने परिणामको परीक्षा लिऊँ न !
विष्णु प्याकुरेल गणतन्त्र भनेको श्री ६ महाराजाप्रचण्डाधिराज भनेको त होइन कतै ?
अधिकारी सरोजराज प्रचण्डपुत्र प्रकाशले राज्यको अर्बांै रुपियाँ जोगाइदिएछन् । धन्न चन्द्रमामा जान्छु भनेनन् ।
हेमन्त बेलबासे ल ल बाबुराम, फेरि प्रधानमन्त्री हुन पाउँछौ पाउँदैनौ, जति सक्छौ राज्यको रकम कुम्ल्याऊ । तिमीले जनतालाई थाङ्नामा सुताइहाल्यौ, अब जति मोज गर्नु छ गर । तिमीप्रतिको मेरो समर्थन फिर्ता है अब ।
गणेश ओली बधाई छ डाक्टर साप, भित्र–भित्र खोक्रिसकेको देशलाई तपाईंको कार्यकालसम्म रित्तो र भीख माग्ने बनाउनुहोस् ।
विजयराज अधिकारी सगरमाथाको टुप्पोबाट संविधान आउने भए किन ग¥यौ दशक लामो जनयुद्ध ?
ध्रुवकुमार तुलाधर भट्टराईपुत्री मानुषीले त विवादमा तानिएको भन्दै नेपाल क्रिकेट सङ्घको सदस्य पदमा नबस्ने बताएकी छन् । दाहालपुत्र प्रकाशले पनि दुई करोड अस्वीकार गर्दै सगरमाथा चढ्दिन भन्ने हुन् कि ।
खगेन्द्र दैलेखी प्रचन्नका सु….पुत्र सगरमाथा नचढी संविधान नबन्ने भए नबनोस् । तर, आज म स्वयम्भूको डाँडा नचढे मेरो मायापिरिम नै छुट्छ सरकार ! जनता त फकाए नि फकिन्छन् तर उनी त हजुरकै वैद्यभन्दा नि चर्की छिन् । सरकार ढले फेरि बहुमत जुटिहाल्छ । तर, उनले छाडे म सधैँका लागि ढल्छु सरकार । लौ हामीजस्ता कर्महारा, रात दुःखी, मायाका भोका, पिरमका नाङ्गाहरूको उद्धारका लागि दुई हजार रात प्याकेजमै पाऊँ सर्कार…….
प्रकाश ढुङ्गाना प्रधानमन्त्रीज्यू, म पनि प्रकाश नै हो । शान्ति र संविधानमा सघाउन म पनि चन्द्रमामा जाने सोचमा छु । दुई करोड चाहियो ।
जीवन भण्डारी १५ हजार नेपालीको ज्यान लिने जनयुद्ध गरेको त आफ्नै छोरालाई राज्यको ढुकुटी बाँड्न पो रहेछ भन्ने आज फेरि पुष्टि भयो ।
कांग्रेस–एमालेका भ्रातृसङ्गठन आन्दोलनमा

सौर्य समाचार

काठमाडौँ, ४ चैत । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशको टोलीलाई सगरमाथा चढ्न सरकारले रकम दिने सरकारी निर्णयको तीव्र विरोध सुरु भएको छ । कांग्रेस र एमालेका भ्रातृसङ्गठन निर्णय फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ तथा नेकपा (एमाले)निकट युवा सङ्घ नेपाल र अनेरास्ववियु सरकारी निर्णयको विरोधमा उत्रिएका हुन् । राजधानीमा शनिबार पत्रकार सम्मेलन गरी युवा सङ्घ र अनेरास्ववियुका नेताले दाहालपुत्र प्रकाशलाई नयाँ पारसको संज्ञा दिए । सरकारी निर्णयको विरोधमा आइतबारदेखि मुलुकभरका क्याम्पसअगाडि विरोध प्रदर्शन गर्ने उनीहरूले जानकारी दिएका छन् । प्रकाशको हालत पूर्वयुवराज पारस शाहको जस्तै बनाउने चेतावनीसमेत कार्यक्रममा दिइएको थियो ।
अनेरास्ववियुका महासचिव किशोरविक्रम मल्लले राज्यको ढुकुटीबाट दाहालपुत्रलाई दुई करोड रुपियाँ दिने निर्णय ‘जनघाती’ भएको बताए । ‘सरकार शान्तिप्रक्रिया र नयाँ संविधान निर्माणको काम पूरा गर्न लाग्नुपर्ने बेला देशको ढुकुटी रित्याउने खेलमा लागेको छ,’ मल्लले भने । निर्णय २४ घन्टाभित्र फिर्ता नलिए सडक सङ्घर्ष गरेर सरकार ढाल्ने उनको चेतावनी  थियो ।
सङ्घका उपाध्यक्ष झपट रावलले माओवादी नेताका छोरालाई सगरमाथा आरोहणका नाममा दुई करोड दिने निर्णयले नयाँ सामन्तको उदय भएको बताए । ‘नयाँ पारसलाई समाप्त पारेरै छाड्छौँ,’ रावलले भने । मन्त्रिपरिषद् बैठकले शुक्रबार प्रकाश सम्मिलित ११ सदस्यीय टोलीलाई शान्तिको कामना गर्दै सगरमाथा आरोहण गर्न लागेको भन्दै आर्थिक सहायतास्वरूप दुई करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
यसैबीच, कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले शनिबार राजधानीमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुत्ला दहन ग¥यो । निर्णयको साङ्केतिक विरोधस्वरूप उसले ‘प्रचण्डपुत्रका लागि चन्दा सङ्कलन गरेर प्रधानमन्त्रीलाई बुझाउने’ जनाएको छ ।
राजधानीको त्रिचन्द्र क्याम्पसअगाडि भट्टराईको पुत्ला दहन तथा कोणसभा गरिएको हो । कार्यक्रममा नेविसङ्घ अध्यक्ष रञ्जित कर्णले भने, ‘नेपाली जनता सिटामोल खान नपाएर मरेका बेला  प्रचण्डका छोरालाई दुई करोड दिने सरकार नालायक हो ।’
प्रधानमन्त्रीको व्यवहारले उनको विश्वसनीयता गुम्दै गएको समेत कर्णले बताए । स्ववियु चुनाव घोषणा, विद्यार्थीलाई पेट्रोलियम पदार्थमा सहुलियत दिनेलगायत विषयमा सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै उनले सरकारको आलोचना गरे ।

प्रतिक्रिया