२ महिने सुत्केरीको हत्या

सिन्धुपाल्चोक, ४ चैत । सिन्धुपाल्चोकको सिपापोखरे, ७ की दुई महिने सुत्केरी शर्मिला भट्टराईको श्रीमान, देवर, ससुरा र सासूले आज हत्या गरेका छन् । २३ बर्षीय भट्टराईको हत्या गरी वुईगलको वलोमा झुण्ड्याइएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

५ फिट उचाईको वुईगलमा घुँडा टेकेको अवस्थामा शव फेला परेकाले हत्या नै गरेको पुष्टी भएको ईलाका प्रहरी कार्यालय नवलपुरका सहायक प्रहरी निरीक्षक श्रीराम गिरीले जानकारी दिए ।  ‘डोरी पनि घाँटी भन्दा तल भएकाले घटना आत्महत्या हुनै सक्दैन ।’ उनले भने, ‘परिवारमा पहिलेदेखि नै कलह रहेछ, परिवारकै सदस्यहरुको मिलेमतोमा हत्या भएको हुनु पर्छ ।’

प्रहरीले हत्याको आशंकामा मृतकका श्रीमान सुदीप भट्टराई, सासू देवी भट्टराई, ससुरा कुन्जनमणी भट्टराई र देवर उदीप भट्टराईलाई नियन्त्रणमा लिएको छ ।
शर्मिलाका श्रीमान सुदीपले अर्की श्रीमती विहे गरेको कुरासँगै घरमा विवाद हुदै आएको गाँउलेको भनाई छ । राजिखुसीमा विहे गरेपनि परिवारले सुरुदेखि नै शर्मिलालाई ‘हेला’ गर्ने गरेको दाई उमेश घोरासैनीले वताए ।

फटकशीला माइती भएकी शर्मिलाको दुई महिनाको छोरा भएको दाई उमेशले जानकारी दिए ।

प्रतिक्रिया