काटिने भयो कार्टरको कपाल

लन्डन, २ चैत । बालबालिकालाई कपाल काट्न मनाउन फकाई–फुल्याई गर्नुपर्ने हुन्छ । तर, बेलायतका पाँच वर्षीय बालक रियन कार्टर अरूभन्दा भिन्न छन् । उनले आफ्नो कपाल काटिदिन आमालाई उल्टै मनाइरहेका छन् ।
कार्टरले अहिलेसम्म कपाल काटेका छैनन्, जसले गर्दा उनको कपाल कम्मरसम्म पुगेको छ । लामो कपाल भएकै कारण धेरैले उनलाई ‘केटी’ भन्दै जिस्क्याउन थालेपछि उनले कपाल काट्ने मुड बनाएका हुन् ।
छोराले कपाल काट्ने इच्छा देखाएपछि आमा लियान स्मिथ खिन्न भएकी छन् । ‘जन्मँदै सुनौलो कपालले उसको टाउकाको पछाडिको भाग छपक्कै छोपेको थियो । आजसम्म उसको कपाल काट्न त परै जाओस्, टुप्पो मिलाउनसम्म मैले दिएकी थिइनँ,’ उनले भनिन् ।
कार्टरको लामो कपालले धेरैलाई लोभ्याउने गरेको छ । ‘उसलाई देख्ने धेरैले ‘आहा ! कति राम्री फुच्ची’ भन्ने गर्थे । उसले हाँसेर टार्ने गरेको थियो । तर, स्कुल जान थालेपछि आफूलाई केटी भनेको उसले मन पराउन छाड्यो,’ आमा स्मिथले छोराले कपाल काट्ने इच्छा व्यक्त गर्नाको कारण खुलाउँदै भनिन् ।
स्कुलमा साथीहरूले कार्टरलाई ‘केटी’ भन्दै जिस्क्याउन थालेपछि उनी कपाल काट्न तम्सिएका हुन् । ‘यो केटीसँग के खेल्नु !’ भनी साथीहरूले उसको उपेक्षा गर्न थाले । त्यसपछि उसले कपाल काटेरै छाड्ने अड्डी लिएको हो,’ उनले भनिन् ।
कार्टरले कपाल काट्ने भनेपछि आफू असाध्यै दुःखी भएको बताउँदै उनले भनिन्, ‘उसको कपाल काटिन्छ भन्ने कल्पनामात्रैले मलाई दुःखी बनाएको छ, उसले कपाल काटेको दिन म रुन्छु होला ।’ छोराले कपाल छोटो र ‘स्पाइकी’ बनाउने इच्छा व्यक्त गरेको बताउँदै उनले स्कुल बिदा हुने समय पारेर छोराकोे कपाल काटिने जानकारी दिइन् । (डेलिमेल)

प्रतिक्रिया