मनैभरि सामाजिक भावना

केही वर्षअघि किशोरावस्था पार गरेका दुई युवा । एकसँग पढ्ने पैसा थिएन । कसैले गरिदिएको सहयोगलाई भरमार मेहनत गरेर सार्थक तुल्याई भर्खरै उच्चशिक्षा सिध्याएका मान्छे । पारिवारिक अवस्था नाजुक तर पनि समाजका लागि केही गरौँ भन्ने भावना । त्यही भावनाको पछि दौडिरहेछन्, सन्तोष पौडेल र शिवजङ्ग चौलागाईं ।
सिन्धुलीमा ०४३ सालमा जन्मेका शिवजङ्गले अहिले इन्जिनियरिङको पढाइ सकेका छन् । तेल मिलमा काम गर्दै बुबाले उनलाई प्राथमिकसम्म मात्र पढाउन सकेका थिए । ‘थप पढाइका लागि दाताको सहयोग पर्खनुको उपाय थिएन,’ शिवजङ्गले सम्झिए । एसओएस बालग्रामको आर्थिक सहयोगमा माध्यमिक तह पूरा गरेका उनलाई सरकारी कोटाको छात्रवृत्ति हात लाग्यो । त्यसकै भरोसामा इन्जिनियरिङमा स्नातक सकेका छन् ।
अहिले २५ वर्षका भए कास्की हेम्जाका सन्तोष पौडेल । शिवजङ्गलाई जस्तो आर्थिक कठिनाइ त उनलाई परेन, तर पनि उनीहरूको विचारचाहिँ ठ्याक्कै मिल्यो । सँगै सुरु गरे सामाजिक सेवा । कलेजमा भेट भएका यी उत्साहित युवाका रोडमोडल म्याग्दीका महावीर पुन हुन्, जसले बिजुली नपुगेको ठाउँमा इन्टरनेट सेवा पु¥याएर समाजसेवी युवा जोसको दृष्टान्त बनाएका थिए । ‘त्यो देखेर हामीलाई पनि केही गर्नुपर्छ भन्ने लाग्यो’ –सन्तोषले सुनाए । अहिले उनीहरूले केही गरिसकेका छन्, सिन्धुलीका दुई गाउँमा निर्माण भएका चर्पी यसका प्रमाण हुन् ।
म्याग्दीको अवलोकन भ्रमणपछि यी युवाले एउटा अवधारणापत्र तयार पारेछन्, ताररहित फोनले मानिसको दैनिक जीवनमा कस्तो प्रभाव पार्छ भनेर । ‘त्यो अवधारणापत्र धेरै समय ओझेलमा परेन, भारतको पन्जाबस्थित स्लाइड युनिभर्सिटीमा हामीले त्यो प्रस्तुत ग¥यौँ,’ सन्तोष सम्झन्छन्– ‘त्यति बेला स्विडेनकी इलिनर ब्रुमले हामीलाई सहयोग गर्ने घोषण गरिन्, हाम्रा लागि अत्यन्त खुसीको कुरा थियो ।’ अहिले उनीहरूले सिन्धुलीको झाँगाझोली र कालीमाटीमा सामूहिक शौचालयहरू बनाइदिएका छन् । ‘सुरु गर्दा गाह्रो भएको थियो, तर अहिले सहयोगी हातहरू पनि बढेका छन्’ –सन्तोषले अनुभव सुनाए । ‘सन् २००९ मा हाम्रो अवधारणालाई सहयोग गर्ने बढेका थिए । इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन पढेका विद्यार्थी, हामी आफैँलाई पनि यो क्षेत्रमा राम्रो गर्न सक्छौँ भन्ने आत्मविश्वास थियो, अझै छ, त्यसैले त निरन्तरता छ’ –सन्तोष उत्साहित भए ।
शिवजङगको गाउँमा अहिलेसम्म पनि बिजुली बलेको छैन, सडक त परको कुरा । अब यो तन्नेरी जोस त्यहाँ पनि आफ्नो सीप खर्चने सुरमा छ, गाउँमा ताररहित इन्टरनेट सेवा पु¥याउने तयारीमा छन् । ‘हामी समाजकै लागि बाँच्नुपर्छ, समाजकै लागि केही गरिरहनुपर्छ । यही नै हाम्रो मान्यता हो, लक्ष्यबाट कहिल्यै विमुख हुन नपरोस्’, शिवले सुनाए– ‘मेरो गाउँमा ताररहित इन्टरनेट लैजान काभ्रेको धुलिखेलबाट नै सुरु गर्नुपर्छ । कठिन भए पनि असम्भव छैन । समय लाग्ला तर हात लागेरै छोड्छ ।’
यस्तै समाजसेवी कार्यकै कारण यी दुई युवा भर्खरै सम्मानित भएका छन् । युथ फेडरेसन नेपालले अवार्ड दिएका दस युवामध्ये यी दुई जना पनि थिए । सन्तोष र शिवको साहस बेस्ट कम्युनिटी अर्गनाइजेसनका रूपमा पुरस्कृत भएको थियो । ‘समुदायको हित गर्ने गतिविधि गर्नमा अझ ऊर्जा मिलेको छ’ –अवार्ड पाएपछि उनीहरूको एउटै आवाज थियो ।

प्रतिक्रिया