फस्टाउँदो ढाँटको खेती

जे गर्छु भनेर घोषणा गरिन्छ, त्यो कार्यान्वयन गर्ने इमानदार कहलिन्छ । जसले कार्यान्वयन गर्दैन वा त्यसको ठीक उल्टो गर्छ, त्यो बेइमान ठहरिन्छ । नियमले यही चरित्रलाई आधार बनाएर इमानदार र बेइमानको उपमा दिन्छ । विज्ञहरू निरन्तर त्यसको अनुगमन र विश्लेषणमा कार्यरत रहे भने मात्र त्यो असली मानोविज्ञ र विश्लेषक हो । जसले साँचो र झूटोको विचार प्रवाह गर्छ । हाम्रा समाजका अगुवा हामीलाई शासन गर्ने र शासनका लागि आतुर दलका पदाधिकारीले कस्ता नारा दिन्छन् र व्यवहारमा उनीहरू कस्ता छन्, त्यसको लेखाजोखा यो लेखको आशय हो । हाम्रो राजनीतिक फाँटमा सबभन्दा उदाउँदो दल एनेकपा (माओवादी)लाई चिरफार नगरी अरूका बारेमा प्रारम्भ गर्नु, खोजीनीति गर्नु सान्दर्भिक हुँदैन । एमाओवादीबाटै यसको प्रारम्भ गरौँ ।
एमाओवादीले गत १ फागुनमा १७ औँ जनयुद्ध दिवस मनायो । जनयुद्ध दिवस मनाउने क्रममा उसका प्रदर्शित ब्यानर र नारा नयाँ जनवादी गणतन्त्रको स्थापना गरौँ, जनवाद स्थापना नभएसम्म थकाई नमार्ने भन्ने थियो । ब्यानर बोक्ने र नाराबाजीमा सामेल प्रायः अनुहारले बताउँथ्यो कि उनीहरू साँच्चै नारा र नीतिमा विश्वासका साथ पछि लागेका छन् । त्यो कार्यकर्ताको विश्वास र जनताको मतलाई एमाओवादीले बोकेर हिँड्ने सामथ्र्य राख्ला ? सामथ्र्य राख्ने भए १२ बुँदे दिल्ली सम्झौता गथ्र्यो ? दिल्ली सम्झौताका अनुयायीबाट जनवाद स्थापना गर्न सम्भव छ ? यसरी हेर्दा सबभन्दा अप्ठ्यारोमा एमाओवादी नेतृत्व पुगेको छ । नयाँ जनवादलाई दिल्ली सम्झौतापूर्व नै तिलाञ्जली दिने काम सम्पन्न भइसकेको छ ।
खुला राजनीतिक प्रतिस्पर्धामा तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीले बढ्ता आलोचना खेप्नुप¥यो । बहुदलीय प्रजातन्त्रका अनुयायीबाट एमालेको आलोचना हुन थाल्यो भनेर नेता कार्यकर्ताको ‘फेस सेभिङ’का लागि जनताको बहुदलीय जनवाद (जबज) को नारा दिएर कार्यकर्ता फुस्ल्याए । राजनीतिक आत्मसमर्पण जबजको नाराकै बेला एमालेले गरेको थियो भन्ने पछि कार्यकर्ताले बुझ्दै गए । भण्डारीको जबजले पछिल्लो पुस्तालाई बहुलवादी बनायो । उनका असली अनुयायी जबजको व्याख्याता भएर माधवकुमार नेपाल, केपी शर्मा ओलीलगायत एमालेका नेताका रूपमा उभिएका छन् । यिनको नीति माक्र्सवाद र लेनिनवादको जस्तो रहेन ।
एमालेले नेपालमा कम्युनिस्ट शासन लागू गर्ने कुरा कसैले कल्पना पनि गर्दैन र उसको नीति नेपाली कांग्रेस र मधेसवादीको भन्दा नारामा मात्र भिन्न छ । सबैले एमालेको विभिन्न रूपको सरकार देखे । असली मानेमा एमालेले कांग्रेस र अरू दलभन्दा फरक चरित्र देखाउन सकेन । नारा वामपन्थीको, कर्म हामपन्थीको भएपछि त्यसमा क्रमिक विकर्षण पैदा भयो । क्रान्तिकारी र खसोखास कम्युनिष्ट कार्यकर्तालाई एमालेले विचारमा बाँध्न नसक्दा माओवादीको जन्म भयो । एमाले, कांग्रेस र अरू नै प्रजातन्त्रका मसिहा ठान्नेका अनुयायी हुन खोज्दा चिप्लियो । स्वयम् कांग्रेस प्रजातान्त्रिक छ÷छैन उसका कार्यकर्ता जानून् । विश्वले प्रजातान्त्रिक पार्टी र नेपालमा बहुदलीय प्रणालीका लागि निरन्तर लडेको दल भनेर कांग्रेसलाई नै बुझ्छन् । त्यसैले लोकतन्त्र या प्रजातन्त्रको नाम आयो कि अरूको उच्चारण नै हुँदैन र उही कांग्रेस अगुवा कहलिन्छ ।
एमाले असली कम्युनिष्ट पार्टीको रूपमा उभिन नसक्दा त्यसलाई दुत्कार्दै जन्मेको एमाओवादी यतिखेर फेरि भड्खालोमा पर्ने छनक आम नागरिकले पाउन थालेका छन् । दुनियाँलाई थाहा छ, माओवाद र बहुलवादको मेल सम्भव छैन । भ्रम सिर्जना गर्न नेपाली माटो सुहाउँदो कम्युनिज्म र फ्युजनको कुरा प्रचण्डहरू गर्दैछन् । उही जबजको अर्को रूप धारण गर्ने अनि जाकिने पूर्वाभ्यासमा प्रचण्ड–भट्टराई मन, वचन र कर्मले लागिपरेका छन् । माओवादीको क्रान्तिकारी नाराले एमालेलाई सुकायो । प्रचण्ड–भट्टराई बहुलवादभन्दा बाहिर जान चाहेका पनि छैनन् । कार्यकर्ताका पछि लाग्दा वैदेशिक घेराबन्दीको सिकार हुने पक्का छ । एक माओवादी नेता भन्छन्, जब एनेकपा (माओवादी) विभाजित हुन्छ यो दुई तीन टुक्रा हुने छैन, यो त धुजाधुजा हुनेछ । त्यसबेला राहतको सास नेकपा (एमाले)ले मात्र फेर्ने छैन, कांग्रेस र माओवादी विभाजनको सपना देखेर बसेकाहरूले पनि फेर्ने छन् ।
पञ्चायतकालमा प्रतिबन्धित कांग्रेसको कार्यालय जमलमा थियो । साझा बस चढेर किसुनजी कुपन्डोलबाट एकातिर वासुदेव रिसाल, अर्कातिर योगप्रसाद उपाध्यायसँग कार्यालय धाउनु हुन्थ्यो । सहिदगेटबाट नयाँ सडकको पान पसल हुँदै जमल पुग्दा उहाँलाई नमस्कार गर्ने र बोल्ने आधा दर्जन मानिस भेट्न पनि गाह्रो पथ्र्यो । कांग्रेसका अगुवा देख्दा मानिस तर्कन्थे । गणेशमान सिंहको थोत्रे रसियन जिप धकेल्दै जमल ल्याउने गरिएको अझै मेरो मस्तिष्कमा ताजै छ । त्यो हविगतको कांग्रेस बहुदलीय प्रजातन्त्र भनेकै नाममा स्थापित भयो । पञ्चमात्र होइन सबैलाई पछुवा बनाउन सफल भयो । ०४६ सालको आन्दोलन कांग्रेसकै अगुवाइमा भएको थियो । फलतः बहुदल प्राप्तिपछिको निर्वाचनले कांग्रेसलाई स्पष्ट बहुमत दियो । अरू अनुयायीहरू दोस्रा, तेस्रा र अन्तिम भए । जबसम्म बहुदलीय प्रजातन्त्र राजासहितको कायम रह्यो कांग्रेसले पछुवा पार्टी हुन परेन । जब कांग्रेस नै माओवादीको नारामा सहमत भयो त्यसपछिको परिवर्तनले माओवादीलाई नै अगुवा पार्टी बनायो ।
स्वाभाविक पनि हो, नारा माओवादीको भएपछि नेतृत्व कांग्रेसको सम्भव थिएन । अहिले माओवादी एनेकपा (माओवादी) भएको छ र ऊ बहुलवादमा अभ्यस्त हुने गृहकार्यमा छ भने उसको स्कुलिङका कार्यकर्ता त्यो हुनबाट रोक्न उद्यत छन् । यसका लागि वैद्य पक्ष अगुवाइ गर्दैछ । वैद्य पक्षको लाइनमा जाँदा जडसूत्रवादी कहलिने र पुराना सम्झौता तोडेको ठहरिने र त्यसै बहानामा बाह्य तत्वले आक्रमण गर्ने त्रासले प्रचण्ड–भट्टराई निसास्सिएका छन् ।

प्रतिक्रिया