‘सरुवा गरे काम ठप्प पार्छौं’

काठमाडौँ, २ चैत । सिँचाइमन्त्री महेन्द्रप्रसाद यादवविरुद्ध सचिव बिन्द्रा हाडाको पक्षमा कर्मचारी सङ्घ÷सङ्गठन लागिपरेका छन् । कर्मचारी सङ्गठनका प्रतिनिधिले बिहीबार मुख्यसचिव माधव घिमिरे र सचिव हाडासँग छुट्टाछुट्टै भेट गरी मन्त्रीको विरोधमा सहयोग गर्ने बताएका हुन् ।
उनीहरूले मन्त्री यादवले सचिव हाडाको अपमान गरेको भन्दै त्यस्ता घटना सदाका लागि निरुत्साहन हुनेगरी कर्मचारी प्रशासनबाट कडा कदम चाल्नुपर्ने बताए । ‘कर्मचारीको नेतृत्व गर्ने सचिवको अपमान हुनेगरी गरिएको व्यवहार सहन सकिँदैन,’ मुख्यसचिवसँग कर्मचारी सङ्गठनका अध्यक्ष भोला पोखरेलले भने । मन्त्रीले मनोमानी रूपमा गरेको कर्मचारी सरुवा रोकेर हाडाले प्रशंसनीय काम गरेको भन्दै त्यसमा सहयोग गर्न पोखरेलले मुख्यसचिवलाई आग्रह गरेका थिए । उनीहरूले मन्त्रीको दबाबमा सचिव हाडाको सरुवा गरे काम ठप्प पारी आन्दोलनमा उत्रने चेतावनीसमेत दिए ।
‘मन्त्रीले महिला सचिवमाथि गरेको व्यवहारले सचिव हाडामात्र होइन, म आफैँ अपमानित भएको महसुस गरेको छु,’ मुख्यसचिव घिमिरेले कर्मचारी सङ्गठनका प्रतिनिधिसँग भने, ‘यो सामान्य प्रकृतिको विषय होइन, सरकारी तहबाटै यसको समाधान खोजिनुपर्छ, यसलाई म प्रधानमन्त्रीसँग गम्भीर रूपमा राख्छु ।’
कर्मचारी सङ्गठनका प्रतिनिधिले हाडालाई मन्त्रीविरुद्धको आन्दोलनमा सक्रिय सहभागी हुने वचन दिए । हाडासँग उनीहरूले भने, ‘तपाईंले साहसी काम गर्नुभयो र सिँचाइ मन्त्रालयबाट कर्मचारी सुदृढीकरण अभियान थाल्नुभएको छ, यसमा हाम्रो समर्थन छ ।’
हाडाले मन्त्री यादवले आफूलाई अपमानित बनाएकाले बाध्य भएर प्रतिवाद गर्नुपरेको बताइन् । मन्त्री र सचिवबीच कर्मचारी सरुवामा कुरा नमिल्दा बुधबार मन्त्रालयमा भनाभन भएको थियो । ‘मैले मन्त्री तथा विभागका साथीहरूलाई सँगै राखेर सरुवाको निर्णय गरेको हुँ,’ उनले भनिन्, ‘तर, मलाई मन्त्रीले तल्लोस्तरको शब्द प्रयोग गरेर निर्णय सच्याउन ठाडो निर्देशन दिँदा पनि विभागका महानिर्देशकहरूले सहयोग गरेनन् ।’
यसैबीच, सचिवमाथि भएको दुव्र्यवहारको विरोधमा कर्मचारीले बिहीबार दिनभर मन्त्रालयको काम ठप्प पारे । उनीहरूले मन्त्री यादवको नेतृत्वमा काम गर्न नसक्ने भन्दै तत्काल मन्त्री परिवर्तन गर्न माग गरेका छन् । कर्मचारीको विरोधका कारण मन्त्री यादव मन्त्रालय गएनन् ।

महालेखाको सरुवा रोकियो

कर्मचारी सरुवाको विरोध भएपछि महालेखा परीक्षकको कार्यालयले सम्पूर्ण सरुवा स्थगन भएको जनाएको छ । कार्यालयले बिहीबार सूचना टाँस गरी महालेखाबाट केही दिनअघि भएको कर्मचारी सरुवा हालका लागि स्थगन गरिएको जनाएको छ । सरुवाको विरोधमा बुधबार कांग्रेस, एमाओवादीनिकट कर्मचारीले सचिव प्रतापकुमार पाठकको कार्यकक्षमा तोडफोड गरेका थिए ।

प्रतिक्रिया