बेपत्ता युवती खोज्दै अमेरिकी दूतावास

काठमाडौँ, २ चैत । काठमाडौँस्थित अमेरिकी राजदूतावासले दुई वर्षदेखि हराइरहेकी एक युवतीको खोजी गरिरहेको छ । दूतावास बारम्बार प्रहरी तथा सेनालाई पत्र पठाउँछ र खोजीकार्यमा भइरहेको प्रगतिबारे विवरण माग्छ । राजधानीको महाराजगन्जस्थित अमेरिकी दूतावासका भित्तामा उनी हराएको जानकारीसहितको तस्बिर पनि राखिएको छ ।
अमेरिकाको कोलोराडो राज्यकी बासिन्दा ओब्री क्यारोलिन स्याक्को २२ अप्रिल २०१० देखि बेपत्ता छिन् । टे«किङका लागि हिँडेकी स्याक्को रसुवाको लामा होटलमा अन्तिमपटक देखिएकी थिइन् । टे«किङ गाइडका अनुसार रसुवाका गाउँ–गाउँमा उनका खुइलिएका तस्बिर अझै भेटिन्छन् । पर्यटक बढी पुग्ने ठमेलका होटल र खाजाघरमा पनि उनका तस्बिर टाँसिएका छन् ।
२० अप्रिल २०१० मा नेपाल पर्यटन बोर्डबाट १०३३९२ नम्बरको टे«किङ परमिट कार्ड (टिम्स) लिएर काठमाडौँबाट स्याफ्रुबेंसी हुँदै लाङटाङ क्षेत्रको पदयात्रामा हिँडेकी स्याक्को त्यसको दुई दिनमै हराइन् । टिम्स कार्डअनुसार उनी मे १ सम्ममा काठमाडौँ फर्किनुपर्ने थियो ।
टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार स्याक्को लाङटाङ राष्ट्रिय निकुञ्जस्थित सेनाको चेकपोस्टमा ‘इन्ट्री’ भएकी थिइन् । त्यसपछि उनको कुनै रेकर्ड छैन । यस प्रकरणमा अप्रत्यक्ष रूपमा सेना जोडिएपछि स्याक्को खोजी अभियानको संयोजन गरिरहेको टानले सेनासँग केही विवरण मागेको छ । ‘स्याक्को इन्ट्री भएको दिन को–को ड्युटीमा थिए, को बाहिर थियो, कोही शङ्कास्पद छ कि भनेर सोधेका छौँ तर अहिलेसम्म जवाफ आएको छैन,’ टानका महासचिव मोहन लम्सालले भने । सेनाले समेत सक्रियतापूर्वक स्याक्कोको खोजी गरिरहेको उनले जानकारी दिए ।
स्याक्को हराएपछि टानको संयोजनमा अमेरिकी दूतावास, सेना, प्रहरी र स्थानीय प्रशासनको सहयोगमा फिस्टेल एयरको हेलिकोप्टरबाट शङ्का लागेका सबै ठाउँमा खोजिएको थियो । ‘पाँचपटकसम्म ‘स्टिङ अपरेसन’ गरियो । सेनाले दुईपटक छुट्टै हेलिकोप्टरबाट खोज्यो,’ लम्सालले भने । टानले आफ्नै खर्चमा पनि स्थानीय मानिस खटाएको र महिनौँसम्म काम गर्ने मान्छेको भेषमा विभिन्न व्यक्ति राखिएको उनले जानकारी दिए ।
स्याक्को परिवारले मृत्युको प्रमाण फेला नपरेसम्म खोजीकार्य जारी राखिने बताएको छ । ‘६ सय ९२ दिन भयो हामी राम्ररी सुत्न नसकेको । उनी कतै हुनुपर्छ भनेर आशा मारेका छैनौँ,’ छोरीको खोजीमा चौथोपटक नेपाल आएकी कोन्नी स्याक्कोले भनिन् । उनले नेपाल प्रहरीका महानिरीक्षक रवीन्द्रप्रताप शाह र प्रहरीका अन्य उच्च अधिकारीलाई पनि भेटिन् । तर, उनले भौगोलिक कठिनाइका कारण खोजीकार्य प्रभावकारी हुन नसकेको र प्रयास जारी रहेको आश्वासन मात्रै पाइरहेकी छन् । स्याक्कोको खोजीका लागि नेपालकोे गृह मन्त्रालयले धेरै ध्यान नदिएको उनको गुनासो छ । उनले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्ने प्रयास गरिरहेकी छन् ।
खोजीकार्यमा एक करोड रुपियाँभन्दा बढी खर्च भइसकेको स्याक्को परिवारले बताएको छ । ‘हाम्रा लागि पैसा ठूलो कुरा होइन, उनी भेटिनुप¥यो,’ कोन्नीले भनिन् । स्याक्कोको सूचना दिने व्यक्तिलाई २० लाख रुपियाँ पुरस्कार दिने घोषणा पनि गरिएको छ ।
नेपालमा पटक–पटक पर्यटकमाथि आक्रमण भइरहेको भन्दै कोन्नीले यसले नेपालको पर्यटनमा नै असर पुग्ने बताइन् । ‘पर्यटकको सुरक्षा गर्नु तपाईंहरूको दायित्व हो,’ उनले भनिन् । सुरक्षा निकायले छोरीको खोजीमा चासो नदेखाएको आरोप लगाउँदै उनले यस विषयलाई अन्तर्राष्ट्रियकरण गरेर नेपालको पर्यटन नै धराशयी बनाइदिने चेतावनीसमेत दिइन् । परिवारका अनुसार अमेरिकाबाट सन् २००९ डिसेम्बरमा पहिलोपटक एसियाका लागि हिँडेकी उनी श्रीलङ्का, भारत हुँदै नेपाल आइपुगेकी थिइन् ।
गत डिसेम्बरमा पनि एक अमेरिकी महिला लेना सेसन गोसाइँकुण्ड क्षेत्रमा बेपत्ता भएकी थिइन् । तर, त्यसको खासै चर्चा भएन । ओब्रीका बुबा पाउल स्याक्को कोलोराडो राज्यका न्यायाधीश भएकाले दूतावासलाई अमेरिकाको दबाब रहेको बताइएको छ । अमेरिकी संस्था एफबीआईले पनि उनको खोजीका लागि दबाब दिइरहेको छ । आमा स्याक्कोका अनुसार उनको स्थिति थाहा पाउन ८ हजारभन्दा बढी पत्र अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनलाई बुझाइएको छ ।

प्रतिक्रिया