सरकार ढाल्न कस्सियो वैद्य समूह

काठमाडौँ, २ चैत । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष मोहन वैद्य समूह आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव ल्याउने तयारीमा जुटेको छ । यसका लागि उसले कांग्रेस, एमाले र मधेसवादी दलसित गोप्य छलफलसमेत सुरु गरिसकेको छ ।
स्रोतका अनुसार २८ र २९ फागुनमा वैद्य पक्षधर केन्द्रीय सदस्यहरूको काठमाडौँमा बसेको गोप्य बैठकले आफ्नै पार्टीका उपाध्यक्ष डा.बाबुराम भट्टराई नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेको हो । बैठकले अन्य दलसित गोप्य छलफल गर्न उपाध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा, स्थायी समिति सदस्य नेत्रविक्रम चन्द तथा पोलिटब्युरो सदस्य खड्कबहादुर विश्वकर्मा र हितमान शाक्यको टोलीसमेत बनाएको छ ।
टोलीले पहिलो चरणमा कांग्रेससित छलफल गरेको थियो । तर, कांग्रेसको एउटा खेमाले वैद्य पक्षको प्रस्तावमा रुचि नदेखाएपछि एमाले र मधेसवादी दलसित छलफल सुरु गरिएको हो । एक एमाले नेतासितको वार्तामा उनीहरूले ‘कांग्रेसले दह्रोगरी खुट्टा नटेकेको’ गुनासोसमेत गरेका थिए ।
वार्तामा खटाइएका नेताहरूले एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलसित पटक–पटक सामूहिक र एकल छलफल गरिसकेका छन् । खनालसितकोे पहिलो चरणको छलफल गर्न वैद्यको सन्देश बोकेर माओवादी नेता विश्वकर्मा गएका थिए । त्यसपछि स्थायी समिति सदस्य चन्दले कुरा गरेका थिए । तेस्रो चरणमा मात्रै उपाध्यक्ष वैद्य, महासचिव थापा र चन्दले खनालसित सामूहिक रूपमा कुरा गरेको स्रोतको दाबी छ ।
त्यस्तै, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम (लोकतान्त्रिक)का नेता शरत्सिंह भण्डारी र फोरम (गणतान्त्रिक)का कार्यवाहक अध्यक्ष राजकिशोर यादवसित पटक–पटक छलफल भइसकेको छ । उनीहरूसित प्रारम्भिक चरणको वार्ता चन्द र विश्वकर्माले गरेका थिए । त्यसपछिका वार्तामा उपाध्यक्ष वैद्य र महासचिव थापासमेत सहभागी रहेको स्रोतको दाबी छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सिङ्गो रूपमा सरकारको विपक्षमा आउने सम्भावना कम रहेकाले मधेसवादी दलसित छुट्टाछुट्टै छलफल थालिएको स्रोतले जनाएको छ । मोर्चालाई विभाजित गरेरै भए पनि सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने योजना वैद्य पक्षको छ । तर, अधिकांश मधेसी दल विभाजित भइसकेकाले योजना सफल हुने हो कि होइन भन्ने आशङ्का पनि नेताहरूमा रहेको स्रोतको भनाइ छ ।
वैद्यनिकट माओवादी सचिव सिपी गजुरेलले भट्टराई नेतृत्वको सरकार छिटोभन्दा छिटो ढाल्नुपर्छ भन्ने निर्णय आफ्नो विचार समूहले गरेको बताए । ‘यो छिटोभन्दा छिटो ढाल्नुपर्छ, त्यसका लागि के–के पहल गर्न सकिन्छ, गर्नुपर्छ भन्ने हाम्रो निर्णय हो,’ उनले सौर्यसँग भने । त्यसको जानकारी पार्टी संस्थापन पक्षलाई पनि गराइसकिएको उनले बताए ।
भट्टराई नेतृत्वको सरकार हटाउन अन्य दलसित पनि छलफल भइरहेको गजुरेलले जानकारी दिए । ‘अन्य दलसित छलफल चलाउने निर्णय भएको हो । म काठमाडौँबाहिर छु, अरू साथीले कुराकानी गरिरहनुभएको छ,’ उनले भने । प्रधानमन्त्रीले आफँै राजीनामा नदिए अविश्वासको प्रस्तावमार्फत हटाउन पहल गरिने उनले बताए । ‘हामी आफैँले अविश्वासको प्रस्ताव ल्याउनु अलिकति अस्वाभाविक हुन्छ, अरूले ल्याए त्यसमा हाम्रो पूर्ण समर्थन रहन्छ,’ सचिव गजुरेलले भने । वैद्य समूहले आफ्नो विचार समूहमा ८३ सभासद् रहेको दाबी गरिरहेको छ ।
एमाले नेताहरू पनि वैद्य पक्षसित कुराकानी भइरहेको स्विकार्छन् । तर, औपचारिक रूपमा बोल्नचाहिँ चाहँदैनन् । ‘उनीहरू (वैद्य पक्ष)ले त खुलेआम नै यी कुरा बोलिरहेका छन्, हामीसित पनि अलि–अलि कुरा भएको छ,’ एक एमाले नेताले भने । आफूहरूसितको छलफलमा वैद्यपक्षीय नेताले ‘भट्टराई नेतृत्वको सरकारले लगातार सहमतिविपरीत काम गर्दै गइरहेकाले विकल्प खोजौँ’ भनेर प्रस्ताव गरेको ती एमाले नेताले बताए ।
यता, बिहीबार माओवादी अध्यक्षनिवास लाजिम्पाटमा बसेको दाहाल र भट्टराई पक्षको संयुक्त बैठकले भने वैद्य पक्षको नयाँ कदमको प्रतिवाद गर्ने निर्णय गरेको छ । ती दुई पक्षले वैद्य समूहको कदमलाई पार्टी नीतिविपरीत भएको ठहरसमेत गरेका छन् ।

प्रतिक्रिया