कम्पनीलाई कालो सूचिमा राख्न निर्देशन

काठमाडौं, २ चैत । संसदको सार्वजनिक लेखा समितिले कम तौलको रासायनिक मल आयात गर्ने कम्पनीलाई कालो सूचिमा राख्न कृषि मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको कार्यकक्ष सिंहदरबारमा आज बसेको बैठकले कम तौलका रासायकनिक मल आयात गरेर भ्रष्टाचार गर्ने कम्पनीलाई कालो सूचिमा राखेर १५ दिन भित्र त्यसको लिखित जानकारी गराउन निर्देशन दिएको सभापति रामकृष्ण यादवले जानकारी दिए ।

आयात गरिएको रासायनिक मलका बोरामा झण्डै पाँच किलो सम्म कम तौलको पाईएपछि त्यस बिषयमा अध्ययन र छानविन सुरु भएको थियो ।

रासायनिक मलमा भएको घोटाला प्रकरणका बारेमा छानविन गर्न बनेको समितिको प्रतिवेदनपनि तीन दिन भित्र उपलब्ध गराउन लेखाले कृषि मन्त्रालयलाई निर्देशन दिएको छ । छानविन समितिको प्रतिवेदन अध्ययन पछि लेखाले थप निर्णय गर्ने जनाएको छ ।

लेखा समितिले किसानलाई समयमा सहज रुपमा रासायनिक मल उपलब्ध राउनपनि मन्त्रालयलाई दिर्नेशन दिएको छ ।

प्राङगारिक मल प्रयोगलाई अनुदान दिनुका साथै प्रयोगका लागि प्रोत्साहन गर्न निर्देशन दिएको समितिले स्वदेशमै मल कारखाना निर्माणका लागि आवश्यक प्रक्रियाको सुरुवात गर्न सुझाव दिएको छ ।

बैठकमा समिति सदस्यहरुले कमतौलको मल ल्याएर भ्रष्टाचार गर्ने कर्मचारीलाई हदै सम्मको कारबाही गर्न माग गरेका थिए । उनीहरुले रासायनिक मलमा हुने गरेको अनियमितता रोक्न नियमित अनुगमनको आवश्यक्ता समेत औल्याएका छन् ।

प्रतिक्रिया