संविधान जारी नभए ताजा जनादेशः देउवा

काठमाडौ, २ चैत । नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले १४ जेठभित्रै शान्ति र लोकतान्त्रिक संविधान निर्माण पुरा नभए ताजा जनादेशमा जानु पर्ने बताएका छन् ।

राजधानीमा आज आयोजना गरीएको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता देउवाले दुई वर्षका लागि पाएको जनादेश चार वर्षपछि पनि म्याद थपको कुरा गर्न नसुहाउने बताए । ‘फेरि अब म्याद थप गर्न लाज हुन्छ,’ उनले भने,‘सर्वोच्च अदालतले नै म्याद थप्न नमानेकोले अब नयाँ चुनावमा जानुको विकल्प छैन ।’

संघीयता र धर्म निरपेक्षताबाहेक अहिलेसबै कुरा २०४७ सालको संविधान अनुसार नै मुलुक चलिरहेको भन्दै दउवाले संघीयता र धर्मनिरपेक्षतालाई मिलाएर २०४७ सालकै संविधान जारी गर्दापनि फरक नपर्ने तर्क गरे ।

देउवाले संघीयताको हिमायति माओवादी नै  संघीयताको पक्षमा नरहेको दाबी गर्दै भने,‘माओवादी अध्यक्ष प्रचण्डले नै अखण्ड चितवन टुक्रिदैन भनेपछि कसरी मुलुक संघीयतामा जान्छ ?’ संघीताका बारेमा माओवादी नेतृत्वको प्रष्ट धारणा आउनु पर्ने उल्लेख गर्दै उनले भने, ‘मुलुक जातीय संघीयतामा जानै सक्दैन ।’

वरिष्ठ नेता देउवाले आफू पार्टी एकताको पक्षमा रहेको उल्लेख गर्दै भ्रातसंगठन विघठन नगरेको भए पार्टी भित्र कुनै विवाद नहुने बताए । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग भएको सहमतिकै आधारमा पार्टी अगाडि बढाए कुनै विवाद नहुने उनको भर्नाइ छ ।

प्रतिक्रिया