तस्बिरमा सङ्घर्षका कथा

काठमाडौँ, १ चैत । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलका कोठाको हलभित्र ३१ वटा तस्बिर सजिएर आ–आफ्नै भाषा बोलिरहेका थिए, भङ्गीमा दर्साइरहेका थिए । तस्बिरमध्ये कतिले आगन्तुकलाई प्राकृतिक दृश्यपान गराइरहेका थिए त कतिले मानवीय कारुणिकताको मर्मस्पर्श गराइरहेका थिए । कतिले नेपाली सांस्कृतिक पक्षको उज्यालो चम्काइरहेका थिए त कतिले दिनदिनै कठिनतम बन्दै गइरहेको नेपाली जनजीविका प्रस्ट्याइरहेका थिए ।
तस्बिरको फ्रेमभित्र कैद गरिएका ती भावनाले प्रदर्शनीमा यस्तो शीर्षक पाएका छन्– जीवित देवीको अदृश्य शक्ति, के चिन्ता प¥यो र देवी, मेरो बुढेसकालको सहारा, बालसुलभता , लेकका हामी केटाकेटी, भिडका माझ एउटा बालक, यस्तो पो हाँसो,  किशोर उत्सुकता, दिदीबहिनीका बीच, साधुको गहिरो दृष्टि, परिपक्व स्नेह, बलियो काँधमा सुरक्षित, पास्नीको शुभदिनमा बालिका, बूढी आमाको अनुभवका धर्साहरु, क्या घत पर्‍यो त ! , इन्धनको बन्दोबस्त, आँखाको तिर्खा, आमालाई सघाउने छोरी, निर्दोष सौन्दर्य, छठ माताले रक्षा गरून्, मेरो मुटु, बेलसँग हाम्रो बिहे अरे !, दिव्य मुस्कानको जादु , बूढो मान्छे तर तन्नेरी हाँसो ।
प्रसङ्ग हो, फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुसीको बुधबारदेखि सुरु भएको एकल फोटो प्रदर्शनीको । प्रदर्शनीमा राखिएका सबै तस्बिर आफैँमा गहन भए पनि ङाखुसीको रोजाइमा चाहिँ बूढी आमाको अनुभवी धर्साहरू शीर्षक तस्बिर पर्छ । उनी भन्छन्– ‘एउटा मानिसको जीवन यसै चित्रबाट वर्णन हुन्छ ।’ करिब ७३ वर्षीया बूढी आमाको तस्बिरमा
सङ्घर्षको व्यथा झल्किएको उनी विश्वास गर्छन्  ।
त्यसो त आफ्ना सबै तस्बिरले जीवनका तितामीठा अनुभवलाई उजागर गरेको मान्छन् उनी र यी सबैलाई एउटै शीर्षक दिनुपर्दा यसो भन्छन्– छुट्टै देखिएका अनुहारहरू । आफूले खिचेका चार हजार तस्बिरमध्येबाट ३१ वटा छनोट गरी उनले सार्वजनिक प्रदर्शनका लागि आर्ट काउन्सिलका भित्ता सजाएका हुन् । उनले यसअघि पनि ६ पल्ट फोटो प्रदर्शनी गरिसकेका छन्् । नेपालका लागि चिनियाँ राजदूत याङ् हौलानले उद्घाटन गरेको प्रदर्शनी पछी ५ चैतसम्म चल्नेछ ।

प्रतिक्रिया