बजार अनुगमनलाई तीव्रता

काठमाडौँ, १ चैत । वाणिज्य विभागले यो वर्ष बजार अनुगमनलाई तीव्रता दिएको छ । आमउपभोक्त महङ्गीको चपेटासँगै अभावमा बस्न परेको भन्दै विभागले अनुगमन तीव्र पारेको दाबी गरेको छ ।
बजारमा दूषित वस्तुको उत्पादन तथा बिक्रिवितरण गर्ने उद्योगी व्यापारीलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याउने प्रकृया थालिएको पनि विभागले बताएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने, कालोबजारी गर्ने व्यापारी तथा उद्योगीको उत्पादन र बिक्रीमा रोक लगाइएको विभागले बताएको छ ।
वाणिज्य विभागले उपभोक्ता हितसम्बन्धमा २०६८ साउनदेखि फागुन मसान्तसम्ममा विभिन्न खालका बजार अनुगमन गरेको थियो । उपत्यकाका पसल, होटल, औषधिपसल, रेस्टुराँ, पेट्रोलपम्प, पानी उत्पादन कम्पनीलगायतका विभिन्न पाँच सय ४४ वटा अनुगमन गरेको विभागले जनाएको छ ।
जसमा ३२ मूल्यसूची सङ्कलन, ४३ वटा नमूना सङ्कलन र परीक्षण, ४५ वटालाई कारबाही गरिएको वाणिज्य विभागका निर्देशक शङ्करहरि आचार्यले बताए । त्यसैगरी वाणिज्य कार्यालय विराटनगरले तीन सय ६६, वीरगन्ज कार्यालयले तीन सय १६, भैरहवा कार्यालयले दुई सय ८३, नेपालगन्ज कार्यालयले दुई सय ८४, धनगढी कार्यालयले दुई सय १७ वटामा अनुगमन गरेको पनि विभागले जनाएको छ । विभागको नेतृत्वमा उपत्यका बाहिर पसल, पेट्रोलपप्प, होटल गरी ७० वटामा अनुगमन गरेको आर्चायले बताए । आगामी दिनमा पनि यसकिसिमको अनुगमनलाई तीव्रता दिने विभागका अनुगमन निर्देशक कमलबहादुर थापा बताउँछन् ।

प्रतिक्रिया