दिमागबाट चल्ने क्षेप्यास्त्र !

लन्डन, १ चैत । बन्दुक चलाउन ‘ट्रिगर’ दबाउनुपर्छ, क्षेप्यास्त्र प्रहार गर्न यसको फेदमा आगो ठोस्नुपर्छ । अब यस्तो केही गर्नु नपर्ने भयो ! क्षेप्यास्त्र प्रहार गर्नु छ भने अब सोचे मात्रै पनि पुग्ने भयो ! दिमागबाट चल्ने क्षेप्यास्त्र बनाउन आवश्यक पर्ने केही उपकरण र प्रविधि निर्माण भइसकेका छन् । यस्तो हतियार बने मानवीय आचारसंहितामा कस्तो असर पार्छ भन्ने विषयमा बेलायतमा रहेको ‘नुफ्फिल्ड काउन्सिल अन बायोइथिक्स’ ले परामर्श सुरु गरेको छ । परामर्श कार्यक्रम मे महिनासम्म सञ्चालन हुने जनाइएको छ ।
परामर्श कार्यक्रमका प्रमुख प्रा थोमस बाल्डविनले अमेरिकी सेनाले यस्तो हतियार निर्माण गर्ने जमर्को गरिरहेको बताए । हजारौँ किलोमिटर टाढाबाट सैनिकको दिमागले कम्प्युटरमार्फत नियन्त्रण गर्न सक्ने खालको क्षेप्यास्त्र निर्माण गर्न अमेरिकी सेना लागिपरेको जानकारी उनले दिए । ‘मानिसको सोचसँग सम्पर्क गरी सैन्य उपकरणमाथि नियन्त्रण गर्न सकियो भने युद्धको स्वरूपमै ठूलो परिवर्तन आउनेछ,’ उनले भने । अधिकतम रकमको जोहो गर्न सके अमेरिकाले यस्तो हतियार बनाउने सम्भावना रहेको उनको दाबी छ । ‘थिङ्किङ क्याप’ अथवा ‘हेडसेट’ ले दिमागमार्फत विद्युत् प्रवाह गर्ने प्रविधि डिप्रेसनलगायत कतिपय रोगको उपचारमा प्रयोग भइरहेको छ । यसबाहेक कम्प्युटरमार्फत मानिसको सोचाइ प्रवाह गरी टेलिफोनबिनै दुईजनाबीच कुरा गराउने प्रविधि पनि प्रयोगमा छ । दिमागबाट चल्ने ह्विलचियर तयार भइसकेको छ । यद्यपि, दिमागबाट चल्ने क्षेप्यास्त्र निर्माण भइरहेका बारे अमेरिकी सेनाले भने कुनै जानकारी दिएको छैन । (डेलिमेल)

प्रतिक्रिया