अहमदिनेजादलाई प्रश्नै प्रश्न

तेहरान, १ चैत । पश्चिमी राष्ट्रको नाकाबन्दीबाट मुलुकलाई मुक्त गर्न नसकेर शिथिल बनेका इरानी राष्ट्रपति महमुद अहमदिनेजादले मुलुकका सांसदबाट खप्की खानुपरेको छ । सांसदले अहमदिनेजादलाई संसद् भवनमा डाकेर विभिन्न विषयमा केरकार गरेका छन् । उनीहरूले अहमदिनेजादमाथि प्रश्नैप्रश्न तेर्साएपछि करिब एक घन्टा लगाएर उनले जवाफ दिनुपरेको थियो ।
इरानमा सन् १९७९ मा इस्लामी गणतन्त्र स्थापना भएयता राष्ट्रपतिलाई संसद्मा डाकेर केरकार गरिएको यो पहिलो घटना हो । सांसदले मुलुकको विदेशनीति, गृहनीति, अर्थतन्त्र तथा व्यापारको अवस्था आदि विषयमा अहमदिनेजादलाई दर्जनौँ प्रश्न सोधेका थिए । साथै, उनीहरूले ‘इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खोमेनीको प्राधिकारलाई अटेर गर्न खोज्नुभएको हो ?’ भन्दै अहमदिनेजादसँग प्रष्टीकरण मागेका थिए ।
केही समययता राष्ट्रपति र नेता खोमेनीबीच दूरी बढेको चर्चा चलिरहेका बेला सांसदले यसबारे अहमदिनेजादसँग प्रष्टीकरण मागेका थिए । गत वर्ष उनले निष्कासन गरेका गुप्तचर मन्त्री हइदर मोस्लेहीलाई खोमेनीले पुनः स्थापित गरेपछि उनीहरूबीचको विवाद सतहमा आएको थियो । त्यसपछि भएको सरकारी बैठकमा अहमदिनेजाद ११ दिनसम्म अनुपस्थित भएका थिए । ‘खोमेनीप्रतिको रोष देखाउनकै लागि कतै तपाईं बैठकमा अनुपस्थित हुनुभएको त होइन ?’ भनी एक सांसदले उनीसँग सोधेका थिए । जवाफमा उनले खोमेनीको सर्वोच्चतालाई चुनौती दिन नखोजेको प्रस्ट पारेका थिए । एकघन्टे लामो जवाफपछि अन्त्यतिर उनले भनेका थिए, ‘मेरो सरकारले उल्लेख्य नियम उल्लङ्घन गरेको कुनै प्रमाण छैन । यस्तो अवस्थामा तपाईंहरूले हामीलाई शतप्रतिशत अङ्क दिनुभएन भने तपाईंहरू कपटी र डरछेरुवा भएको ठहर्छ ।’ (एजेन्सी)

प्रतिक्रिया