मासुभात खानुस्, पाँच सय लानुस्

आखा भनिने दुई थान गुच्चा ठीकठाक छन् भने उल्का–उल्का देख्न पाइन्छ । हालसालै यस्तै उल्का दर्शन गर्ने सौभाग्य पाएँ । तपाईं पनि उल्का दर्शन गर्न चाहनुहुन्छ भने, लौ हिँड्नुस् मसँग ।
नेपालको सबभन्दा दुर्गन्धमयी महानगरी काठमाडौँमा घुम्दाघुम्दै मेरो दुई थान आँखारूपी गुच्चा अनौठो प्रचारमा गएर ठोक्किए । एउटा घरको बाहिर ठूलो बोर्ड झुन्ड्याएको थियो । त्यसमा ठूलाठूला अक्षरमा लेखिएको थियो,
मासु, भात खानुस्, पाँच सय लानुस् ।
यो प्रचार देखेर म लोभिएँ । यसो बोर्डका सामु रोकिएर तीन÷चार पल्टै पढेँ । त्यसमा अलि तल लेखिएको थियो– मौका आउँछ पर्खंदैन, बगेको खोला फर्कंदैन– श्रोता सप्लायर्सः– देशलुटुवा कम्पनीका तर्फबाट, प्रतिनिधि हरिलठ्ठक हरामी । मलाई बोर्डमा लठ्ठिएको देखेर फुच्चे फुत्त बाहिर आयो र मलाई सान गरेर भित्र बोलायो । कोठाभित्र हेभ्भी सोफामा आफ्नो हेभ्भी शरीर बोकेर हरिलठ्ठक हरामी विराजमान थियो । दुर्घटनामा परेको ट्रकझैँ उसको अनुहार र शरीर कतै कुच्चिएको आधा सुतेको आधा बसेको जस्तो देखिन्थ्यो ।
डराएरै नमस्कार ठोकेँ । अनि प्रश्न पोखेँ, बाहिर बोर्डमा लेखिएको प्रचारका बारेमा मलाई केही कुरा बुझ्नपर्ने थियो । को सित… ?
त्यो हात्तीछाप हरामीले भन्यो, त्यसैका लागि त म यहाँ विराजमान छु, सोध्नुस्, के सोध्नु छ ।
यो सूचनाको त मैले छेउ, टुप्पो केही बुझिनँ । मैले अदबका साथ भनेँ । हात्तीले हका¥यो, अनुहार हेर्दा त तपाईं पढेलेखेको जस्तो देखिनुहुन्छ । बोर्डमा नेपाली भाषामै लेखिएको छ, चाइनिज, कोरियन, जापानीमा लेख्या छैन क्यारे । मासु भात टन्न खानुस् । पाँच सय दक्षिणासमेत लानुस् । अब यसमा नबुझिने कुरो नै के छ र ?
म त माछा मासु नखाने, शुद्ध… आहार ग्रहण गर्ने बाहुन बाजे परेँ । बरु खानाको साटो मलाई पाँच सय छुट्टै थप गरी एक हजार पाइएला ? डराई–डराई प्रस्तावलाई प्रश्नात्मक बनाएर पेश गरेँ ।
हात्तीले मुसुमुसु हाँस्दै भन्यो, तपाईं त जेरीजस्तै साह्रै सोझो पो हुनुहुँदो रै’छ । खानाको साटो पैसो चाहियो । काम चैँ के गर्नुपर्ला भनेर एक वचन सोध्नुहुन्न । यो बाजे त कस्तो हँसियाजस्तो सोझो ।
त्यस डरलाग्दो जन्तुले अलिकति आफ्नो आसन फेर्दै भन्यो, लौ बाजेलाई मै खुलस्त सुझाउँछु । टन्न मासु भात हसुर्ने र पाँच सय दक्षिणासमेत लुँड्याउनेले पाँच घन्टा जति हाम्रो कार्यक्रममा बसेर हाम्रा महान् नेताहरूको भाषण सुन्नैपर्छ । बेलाबेलामा, जतिखेर अरूले ताली बजाउँछन्, तपाईंहरूले पनि ताली बजाउनुपर्छ । सबैले हाँस्दा, कुनै नबुझे पनि हाँस्नैपर्छ । कार्यक्रम पूरा सकिएपछि मात्र घर फर्कन पाइन्छ । कार्यक्रम उपत्यकामै पर्छ । हाम्रै बसले सबैलाई ओसार्छ, ठेकानसम्म घिसार्छ, अनि यहीँ फिर्ता ल्याएर थचार्छ । तपाईंको सुको
खर्च हुँदैन ।
उसले पुनः सम्झायो, बर्डफ्लु होटेलमा गएर टन्न मासुभात ज्युनार गर्ने । अनि बस चढेर हररर कार्यक्रम थलोमा जाने । कार्यक्रम सकेर निस्कँदा पाँच सय दक्षिणा गोजीमा हालेर फेरि बसमा हररर यहाँ आउने । हामी घटीमा पनि दुई÷तीन लाखको भिड जम्मा पार्छौं । अनि हाम्रो पार्टीको शक्तिप्रदर्शन कार्यक्रम
सफल हुन्छ ।
लघुशङ्का–दीर्घशङ्काले च्याप्यो भने
नि ? मैले केटाकेटी झैँ सोधेँ ।
हात्ती हाँस्यो भने जनताको कुनै पनि शङ्काको समाधान गर्ने ठेक्का नेताहरूले लिएका छैनन् । नेताहरूको मुख्य काम हामी जनताका सामु भाषण छाँट्ने हो, सपना बाँड्ने हो र देश भाँड्ने हो । लौ यो एक हजारको नोट गोजीमा राख्नुस् र नेपाली राजनीतिको मजा
चाख्नुस् । यति भन्दै उसले हजारको हात्ती मेरो गोजीमा हाल्यो ।
म हतारहतार बसतिर लागेँ, तर बाटोमा मेरो अन्तरात्माले भन्यो, यी डाँकाहरूको एक हजार खानाले कुनै पाप लाग्दैन । लुसुक्क गएर अर्कै कुनै बसमा चढ बाजे ।

प्रतिक्रिया