केन्द्राध्यक्ष तोक्ने विवादमा कुटाकुट

बाग्लुङ, १ चैत । एसएलसी परीक्षा मर्यादित बनाउने विषयमा जिल्ला शिक्षा कार्यालयमा छलफल गर्न बसेका शिक्षकबीच नै बुधबार कुटाकुट भएको छ । परीक्षाको केन्द्राध्यक्ष तोक्ने विषयमा राजनीतिक भागबण्डा मिलाउने क्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका सल्लाहकार थानेन्द्र गौतमले शिक्षक सङ्घ–सङ्गठनको हैसियतअनुसार केन्द्राध्यक्ष तोक्नुपर्ने बताएपछि अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष फणीन्द्र खड्काले लठ्ठी प्रहार गरेका हुन् ।
यही ७ चैतदेखि सञ्चालन हुने एसएलसी परीक्षाका लागि २९ जना केन्द्राध्यक्ष छनोट गर्न शिक्षक सङ्गठनहरूबीच छलफल भइरहेका बेला गौतममाथि खड्काले हातपात गरेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष अनन्त खड्काले बताए । ‘जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा छलफल भइरहँदा सल्लाहकारमाथि हातपात भएको छ,’ अध्यक्ष खड्काले भने, ‘हातपात गर्ने शिक्षकलाई कारबाही नगरे हामी शिक्षाले आयोजना गर्ने कुनै पनि छलफलमा सहभागी हुँदैनौँ ।’
गौतममाथि हातपात भएको शिक्षा कार्यालयले स्वीकार गरेको छ । ‘खड्काजी अलि अभद्र व्यवहारमा प्रस्तुत हुनुभयो,’ निमित्त शिक्षा अधिकारी कुश्मराज शर्माले भने, ‘मेरै कार्यकक्षभित्र भएको यो घटनाले अत्यन्तै दुःखी छु ।’ गौतममाथि हातपात गर्ने शिक्षकलाई कानुनअनुसार कारबाहीको माग गर्दै शिक्षा कार्यालय पुगेका शिक्षक सङ्गठनका पदाधिकारीसँग शर्माले घटनाले समग्र शिक्षाजगत्को बेइज्जत भएको बताए । ‘शिक्षक साथीहरूले हामीलाई निवेदन दिनुभएको छ,’ जिल्ला शिक्षा अधिकारी हरि गौतमले भने, ‘निवेदन आएपछि प्रक्रिया अघि बढाउनु हाम्रो दायित्व हो ।’ कस्तो प्रक्रिया भन्ने विषयमा भने उनले केही खुलाउन चाहेनन् । यता अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष फणीन्द्र खड्काले भने आफूले कसैमाथि हातपात नगरेको दाबी गरेका छन् । ‘त्यत्तिको त जहिले पनि हुन्थ्यो र आज पनि भयो,’ खड्काले भने, ‘उनीहरूले हातपात गरेको भन्दै अनावश्यक प्रचार गरिरहेका छन् ।’
बाग्लुङमा नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घ र नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनभन्दा एकीकृत नेकपा (माओवादी) निकट अखिल नेपाल शिक्षक सङ्गठन, सङ्गठनात्मक रूपमा कमजोर छ ।

प्रतिक्रिया