कर्णाली लोकमार्ग बन्यो मृत्युमार्ग

जुम्ला, १ चैत । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि २७ जनाले ज्यान गुमाइसकेका छन् । कालीकोट सडकखण्ड र कालीकोटको सिमाना दैखोलादेखि कालीकोट र जुम्लाको सिमाना नाग्मसम्ममा बढी दुर्घटना हुन थालेपछि राजमार्ग मृत्युमार्ग बन्दै गएको छ ।
विसं २०६४ देखि सञ्चालनमा आएको कर्णाली राजमार्गमा अहिलेसम्म ५३ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । २७ जनाको अनाहक मृत्युसँगै ६६ घाइते भएको कालीकोट जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । साँघुरो राजमार्ग, सडक सङ्केतको अभाव तथा सवारी ऐनविपरीत गाडी चलाइएका कारण दुर्घटना हुने क्रम बढेको छ ।
२९ फागुन २०६७ मा जुम्ला कालीकोट सिमानाको नाग्मामा ट्रक दुर्घटना हुँदा चन्दननाथ–४ जुम्लाका दीपक झाँक्रीको मृत्यु भयो । यस्तै, २२ जेठ २०६८ मा कालीकोटको पिलीमा भएको दुर्घटनामा चालक डम्बर विकले ज्यान गुमाए भने चार घाइते भए । त्यस्तै, २३ जेठ २०६८ मा ट्रक दुर्घटना हुँदा गाम–४ रोल्पाका सहचालक सेते बुढाको मृत्यु भयो ।
साँघुरो सडकमा सहचालकले गाडी चलाउने, मदिरा सेवन गर्ने र क्याबिनको सिटमा महिला राखेर गाडी चलाउनाले पनि दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । क्षमताभन्दा बढी यात्रु चढाउने, सामान राख्ने, यात्रु जबर्जस्ती चढ्ने, गाडीको गति बढाउनेलगायत समस्याका कारण दुर्घटनामा वृद्धि हुने गरेको छ । हालै व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितिद्वारा गठित सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन अध्ययन उपसमितिले राजमार्गको अनुगमनसमेत गरेको थियो ।सो अवसरमा स्थानीयवासीले दुर्घटना कम गर्न सरकारले कडा कानुन बनाउनुपर्ने माग गरेका थिए ।
उपसमितिका संयोजक अर्जुनप्रसाद जोशीले गाडी दुर्घटना विकराल समस्या भएकाले सबैले उठाएका सुझाव प्रतिवेदनमा समावेश गर्ने बताए । उनले भने, ‘हरेक नागरिकभित्र राज्य र राज्यभित्र नागरिक भएकाले राज्यले बनाएका ऐननियम पनि सबैले पालना गरे राज्य आफँै बलियो हुन्छ ।’
उपसमिति सदस्य राजबहादुर बुढाले एउटै राजमार्गमा पर्ने जिल्लाहरूबीच निकट सम्बन्ध रहे यातायातको विकासमा टेवा पुग्ने बताए । अर्का सदस्य सुदर्शन बरालले सवारी दुर्घटना हुने देशमध्ये नेपाल पनि एक भएको जानकारी दिँदै बर्सेनि नेपालमा दुर्घटनाका कारण एक हजार सात सय मानिसको ज्यान जाने गरेको बताए । उनले भने, ‘दुर्घटना न्यूनीकरणमा राज्य र नागरिक चनाखो बन्नुपर्छ ।’ अर्का सदस्य निलम खड्काले कानुन बनाएर मात्रै राज्य चल्न नसक्ने भन्दै कानुन कार्यान्वयनमा नागरिकले जोड दिनुपर्ने बताए ।
स्थानीय राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाल, स्थानीय विकास अधिकारी, नागरिक समाज, पत्रकार, यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतले दुर्घटना न्यूनीकरणका विषयमा खुलेर धारणा राखेका थिए ।

प्रतिक्रिया