अफगानिस्तानमा अमेरिकाविरोधी प्रदर्शन

जलालाबाद, ३० फागुन । एक अमेरिकी सैनिकले अन्धाधुन्ध गोली प्रहार गरी १६ जना निहत्था अफगान नागरिकको हत्या गरेको विरोधमा अफगानिस्तानका विभिन्न सहरमा प्रदर्शन भएको छ । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तस्थित अमेरिकी सैनिक केन्द्रका एक जवानले आइतबार बिहान गोली प्रहार गरी  सर्वसाधारणको हत्या गरेका थिए । हत्याको विरोधमा मङ्गलबार अफगानिस्तानको पूर्वी सहर जलालाबादमा विद्यार्थीले प्रदर्शन गरे ।
अमेरिकी सैनिकले गोली चलाएको स्थान अवलोकन गर्न पुगेका सरकारी अधिकारीमाथि अफगानिस्तानका सशस्त्र लडाकुले हमला गरेका छन् । कान्दाहार प्रान्तको पन्जबाई भन्ने ठाउँमा विद्रोहीले अफगान राष्ट्रपति हमिद कार्जाइका भाइ र उच्च सुरक्षा अधिकारी सम्मिलित टोलीमाथि आक्रमण गरेका हुन् । आक्रमणमा परी अफगान सेनाका एक जवानको मृत्यु भएको र अन्य तीन घाइते भएको बिबिसीले जनाएको छ ।
जलालाबादलगायत अफगान सहरमा मङ्गलबार दिनभर अमेरिकाविरोधी नारा गुन्जियो । कान्दाहार प्रान्तमा विश्वविद्यालयका विद्यार्थी अमेरिकाविरोधी प्रदर्शनमा सरिक भए । उनीहरूले निहत्था नागरिकको हत्या गर्ने अमेरिकी सैनिकलाई अफगानिस्तानमै सार्वजनिक गर्न माग गरेका छन् । ती अमेरिकी सैनिक ३८ वर्षका रहेको बताइए पनि उनको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन । अज्ञात स्थानमा उनलाई हिरासतमा राखिएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले हत्याप्रति दुःख व्यक्त गर्दै हत्यामा संलग्नमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । त्यसैगरी, अमेरिकी रक्षामन्त्री लियोन पनेटाले हत्याको आरोप प्रमाणित भए हत्यामा संलग्न सैनिकलाई मृत्युदण्ड दिन सकिने बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया