मुकेशको दादागिरी कल्पना

मुकेश ढकाल केही समयअघिसम्म नायिका मेलिना मानन्धरको श्रीमान्का रूपमा मात्र चिनिन्थे । तर, अब मेलिनाको चलचित्र–जमाना नदेख्नेहरूले उनलाई चाहिँ मुकेशकी श्रीमतीका रूपमा चिन्न थालेका छन् । छोटो समयमै मुकेशले नेपाली चलचित्रमा आफ्नो छुट्टै स्थान बनाइसके । सिरियल किसरको उपनाम पाएका यिनले चलचित्रमार्फत युवा पुस्ताको मन जित्दै आएका छन् ।
अभिनयमा उनी परिचित भइसके । जिज्ञासाको विषय– अभिनयमा नलागेका भए अहिले उनी के बनेका हुन्थे त ? ‘म नायक नबनेको भए नेपाल आर्मी हुन्थेँ होला, जसरी पनि सामाजिक कार्यमा नै अग्रसर हुन्थेँ’, उनले सुनाए । ‘मिलेको हट्टाकट्टा ज्यान छ, आर्मी नभएको भए डन बनेर दादागिरीमा पो उत्रनुहुन्थ्यो कि ?’ –ठट्टा गरियो । ‘त्यो क्षणिक समयका लागि मात्र हुन्छ, सकेसम्म त्यतातिर त लाग्दैनथेँ होला ।’ उत्तर आउनासाथ सोधिहालियो– ‘फिल्ममा त गुन्डाहरूलाई तह लगाउन भए पनि दादागिरीमा उत्रिएर मारपिट गर्नुहुन्छ नि ?’ अब उनले लय समाते– ‘हो, वास्तविक जीवनमा पनि दादागिरी देखाउनुपरेचाहिँ सकारात्मक परिवर्तनका लागि मात्र गर्थें होला, सोझासाझालाई दुःख दिने गरी त पक्कै गरिँदैनथ्यो । देशमा जति पनि नराम्रा काम भएका छन्, केही बल प्रयोग गरेर त्यो तह लाग्ने भए त सोच्नै प¥यो नि !’
कहिलेकाहीँ अर्को दादागिरी समूहले आक्रमण गर्ने डर त्यत्तिकै रहन्छ, आफू पनि मारपिटमा पर्न सकिन्छ । ‘आफूले गल्ती नगरी अरूले निहुँ खोज्न थाले भने चुप लागेर कहाँ बसिँदो हो र आफैँ दादा भइसकेपछि । तिनीहरूलाई पनि तह लगाइँदो हो, त्यस्तो बेलामा दादागिरीको झनै महŒव हुन्छ’ –जोस देखाए उनले ।
उनका अनुसार मान्छे–मान्छेबीच जब भेदभाव हुन्छ, त्यहाँ दादागिरी मौलाउँछ । सोझासाझामाथि दादागिरी देखाएर हेप्नेलाई तह लगाउने उपाय पनि दादागिरी नै हुन सक्छ । तिनीहरूले कानुन अनि मानवीय वेदना बुझ्नै सक्दैनन् । ‘भनिहालेँ नि, जहाँ सम्झाउँदा मान्छन् त्यहाँ द्वन्द्वमा उत्रिन आवश्यकै पर्दैनथ्यो होला, अब नबुझ्नेलाई त अरू दादाहरूले जस्तै दादागिरी नै देखाउने मति हुन्थ्यो होला मेरो पनि, तर यत्ति हो मचाहिँ समाजलाई सकारात्मक बाटामा डो¥याउनकै लागि त्यसो गर्थें’ –समाजले नरुचाउने क्रियाकलापभित्र सकारात्मक धारणा उपस्थित गरेर कल्पनामा डुबे उनी । कल्पनाबाट निस्किएर यथार्थमै दादागिरी गर्ने समूहलाई सुझाब पनि दिन भ्याए उनले– ‘तपाईंहरू पनि जनतालाई दुःख दिन होइन, भ्रष्टाचार गर्ने नेतालाई तह लगाउन दादागिरी प्रयोग गर्नुस्, कानुन तोड्नु हुँदैन, अनावश्यक मारमिटको मानसिकता छोड्नुस् । यस किसिमको दादागिरीलाई चाहिँ अरूले पनि सहयोग गर्न सक्छन्, हामी कलाकारको पनि होस्टेमा हैँसे हुन्छ ।’
प्रस्तुति, विशाल राई        

प्रतिक्रिया