एउटा अस्पतालको भवन मात्रै भूकम्प प्रतिरोधी !

काठमाडौं, ३० फागुन । भूकम्पको उच्च जोखिममा रहेको नेपालका करिब अढाइ सय निजी अस्पतालमध्ये एउटा अस्पतालको भवन मात्रै भूकम्प प्रतिरोधी प्रमाणित भएको छ । सहरी विकास तथा भवन निर्माण विभागमा भूकम्प प्रतिरोधी प्रमाणितका लागि परेको १४ ओटा अस्पतालको निवेदनमध्ये टोखाको ग्राण्डी इन्टरनेशनल हस्पिटलको भवन मात्रै भूकम्प प्रतिरोधी प्रमाणित भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत २७ असारमा सबै निजी एवं गैरसरकारी अस्पताललाई अनिवार्य रुपमा विभागबाट भूकम्प प्रतिरोधीको प्रमाणपत्र लिन निर्देशन दिएको थियो ।

आइन्दा सञ्चालन अनुमति लिने र सञ्चालन भैरहेका दुवै अस्पताललाई प्रमाणपत्र लिन भनिएको छ । निजी अस्पताल तथा नर्सिङ होमहरु आवासीय भवनमा सञ्चालन भैरहेकाले भूकम्पको जोखिम बढेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
‘निवेदन आएका १४ मध्ये अस्पतालकै बनावटअनुसारको भवन र भूकम्पीय जोखिमका हिसाबले सुरक्षित टोखाको ग्रान्डी अस्पताल मात्रै पाइयो’ विभागका सुपरिटेन्डेन्ट इन्जिनियर शम्भु केसीले सौर्यसँग भने ‘उसलाई प्रमाणित प्रमाणपत्र दुई चार दिनमै दिन्छाँैं ।’ अन्य १३ अस्पतालमध्ये धेरैको आफ्नै भवन नभएको, भाडामा लिएर सञ्चालन भएका अस्पतालको बनावट कमजोर रहेको र भूकम्प गैहालेमा अरुसँगै ढल्न सक्ने खतरा रहेकाले तिनीहरुको निवेदन अस्वीकृत गरिएको उनले जानकारी दिए ।
भवन संरचना कमजोर भएका कारण भूकम्प गैहालेमा हुन सक्ने क्षतिको हिसाबले काठमाडाँैं विश्वकै पहिलो जोखिममा रहेको छ । दिनहुँ साना–ठूला भूकम्प गैरहने हुँदा नेपाललाई भूकम्पीय क्षेत्र पनि मानिन्छ । भूकम्प गैहालेमा घाइतेको उपचारका लागि पुग्ने  अस्पताल सबैभन्दा सुरक्षित हुनुपर्ने हो । तर, धमाधम भाडाका र कमजोर घरमा निजी अस्पताल खुल्न थालेपछि गत असारमा प्रधानमन्त्री कार्यालयले भूकम्प प्रतिरोधी भवनमा मात्रै अस्पताल सञ्चालन गर्न गराउन भौतिक योजना तथा निर्माण र  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र  अख्तियारलाई निर्देशन दिएको थियो ।
निर्देशन दिएको लामो समय भैसके पनि अहिलेसम्म निजी एवं गैरसरकारी अस्पताल र स्वास्थ्य मन्त्रालय दुबै पक्षले बेवास्ता गरेको विभागको आरोप छ । ‘निर्देशन दिएको आठ महिना बितिसक्दा निजी अस्पतालका १४ वटा मात्रै निवेदन पर्नु र भवन प्रमाणितबिना धमाधम नयाँ अस्पताल सञ्चालन हुनु दुवै पक्षको बेवास्ता हो’ विभागका उपमहानिर्देशक रमेशप्रसाद सिंहले भने ।
यता स्वास्थ्य मन्त्रालयले भने निजी एवं गैरसरकारी अस्पतालका भवन भूकम्प प्रतिरोधी प्रमाणित गर्ने प्रधानमन्त्री कार्यालयको निर्देशन कार्र्यान्वयनका लागि ‘गाइडलाइन’ को तयारी गरिरहेकोले समय लागेको जनाएको छ । ‘अस्पताल भवन भूकम्प प्रतिरोधी प्रमाणित गर्ने गाइडलाइन बनाउँदै छाँैं, त्यसैले समय लागेको हो,’ मन्त्रालयका प्रवक्ता डा. बालकृष्ण सुवेदीले सौर्यसँग भने ‘अब भवन विभागको स्वीकृतिपछि मात्र नयाँ अस्पताललाई अनुमति दिन्छौं ।’ उनले पछिल्लो चार महिनादेखि नयाँ निजी एवं गैरसरकारी अस्पताललाई अनुमति नदिइएको बताए ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, उद्योग मन्त्रालय लगायत छुट्टाछुट्टै निकायबाट नयाँ अस्पतालको स्वीकृति दिइने भएकाले देशभर यत्ति नै निजी एवं गैरसरकारी अस्पताल सञ्चालित छन् भन्ने यकिन तथ्याङ्क मन्त्रालयसँग छैन । तर अनुमानित करिब अढाई सय  निजी एवं गैरसरकारी अस्पताल देशभर सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया