भ्रमणमा कसले कति सके ?

काठमाडौं, ३० फागुन । नेकपा(एमाले)का अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारलाई उछिन्दै एमाओवादी उपाध्यक्ष डा बाबुराम भट्टराई नेतृत्वको सरकारले तीन करोड रुपियाँभन्दा बढी रकम भ्रमणमा सकेको छ । वर्तमान सरकारका मन्त्रीहरुले ६ महिनामै स्वदेश तथा विदेश भ्रमणका नाममा यति धेरै रकम खर्च गरेका हुन् ।
खनाल नेतृत्व सरकारले छ महिनामा एक करोड १३ लाख रुपियाँ भ्रमणमा सिध्याएको थियो । प्रधानमन्त्री कार्यालय आर्थिक शाखा स्रोतका अनुसार वर्तमान सरकारका मन्त्रीहरुको विदेश भ्रमणमा मात्र दुई करोड रुपियाँभन्दा बढी सकिएको छ । प्रधानमन्त्री डा भट्टराईको टोलीले अमेरिका, भारत र माल्दिभ्सको भ्रमण गर्दा राज्यकोषबाट सबैभन्दा धेरै खर्च भएको देखिन्छ । प्रधानमन्त्रीको विदेश भ्रमणमा मात्रै ९० लाख  रुपियाँभन्दा बढी खर्च भएको स्रोतले बतायो ।
प्रधानमन्त्रीको भ्रमण दल ठूलो हुने भएकाले खर्च पनि धेरै हुने परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्ट बताउँछन् । उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणमा ठूलो टिम हुने भएकाले खर्च धेरै हुनु स्वाभाविकै हो ।’ राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमण खर्च परराष्ट्र मन्त्रालयबाट भुक्तानी हुने गरेको उनले जानकारी दिए ।
कतार, भारत, माल्दिभ्स र चीन भ्रमण गरेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको विदेश भ्रमण पनि महँगो देखिएको छ । परराष्ट्रमन्त्री श्रेष्ठले भ्रमणमा २७ लाख रुपियाँभन्दा बढी खर्च गराइसकेका छन् । स्रोतका अनुसार उनले सो रकम परराष्ट्रबाट बुझी पनि सकेका छन् । त्यस्तै उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भारत, चीन लगायतका मुलुक भ्रमण गर्दा खर्च र भत्ता बापत २१ लाख रुपियाँ बुझेका छन्, आफ्नो गृह मन्त्रालयबाट ।
दक्षिण कोरिया, दक्षिण अफ्रिका, बङ्गलादेश, भारत लगायतका देश भ्रमण गरेका वातावरणमन्त्री हेमराज तातेडले वातावरण मन्त्रालयबाट २८ लाखभन्दा बढी रकम बुझेको मन्त्रालय स्रोतले बतायो । वातावरण सचिव कृष्ण ज्ञवालीले दातृ निकायको सहयोग नभएको कार्यक्रममा भाग लिन जाँदा खर्च हुने गरेको बताए । उनले भने, ‘कति खर्च भयो त्यो मलाई जानकारी छैन, तर, मन्त्री विदेश जाँदा राम्रै खर्च भएको छ ।’
प्रधानमन्त्री कार्यलयका अनुसार श्रम तथा यातायात व्यवस्थामन्त्री सरिता गिरी दुई पटक जापान गएकी छिन् ।  त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतो ब्राजिल, कृषि तथा सहकारीमन्त्री नन्दनकुमार दत्त बङ्गलादेश, भूमिसुधार तथा व्यवस्थामन्त्री भीमप्रसाद गौतम भारत र  भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी थाइल्यान्ड भ्रमणमा गएको कार्यालयले जनाएको छ । यसैगरी अर्थमन्त्री वर्षमान पुन दक्षिण कोरिया, शिक्षामन्त्री दीनानाथ शर्मा बेलायत, उद्योगमन्त्री अनिल झा भारत, महिला,बालबालिका तथा समाजकल्याणमन्त्री दानबहादुर कुर्मी चौधरी भारत र कतार तथा शान्ति तथा पुनःनिर्माणमन्त्री सत्या पहाडीले उत्तरी आयरल्यान्डको भ्रमण गरेका छन् । यी मन्त्रीको भ्रमण खर्च सम्बन्धित मन्त्रालयले नै बेहोर्ने भएकाले खर्च विवरण यकिन छैन ।
विदेशमा हुने केही बाहेक अधिकांश कार्यक्रममा मन्त्रीहरु सहभागी हुन जाँदा लाग्ने खर्च आयोजक आफैंले बेहोर्छ । तर, मन्त्रीहरुले भत्ता लगायत सुविधा भन्दै सम्बन्धित मन्त्रालयबाट रकम लिने गर्छन् । यसले गर्दा मन्त्रीहरुको विदेश भ्रमण महँगो पर्ने प्रधानमन्त्री  तथा मन्त्रिपरिषद् कार्यलयका प्रवक्ता जगदीश घिमिरेले बताए । उनले भने, ‘भ्रमणमा मन्त्री मात्र जाँदैनन्, अरु पनि जाने भएकाले बढी खर्च हुनु अनौठो होइन ।’
त्यसो त जिल्ला भ्रमणका नाममा एकै मन्त्रीले छ महिनाको अवधिमा पाँच लाखसम्म बुझेको प्रधानमन्त्री कार्यालयको रेकर्डमा उल्लेख छ ।  परराष्ट्रका एक अधिकारी भन्छन्, ‘नेपालका चार जिल्ला घुम्दा पाँच लाख खर्च हुन्छ भने विदेश जाँदा लाखाँै खर्च किन नहुनु ।’ प्रधानमन्त्री कार्यालयका अनुसार स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा लगायतका जिल्ला भ्रमण गरेको भन्दै प्रधानमन्त्री कार्यालयबाट साढे पाँच लाख बुझेका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार जिल्ला भ्रमणका नाममा प्रधानमन्त्री डा भट्टराईले साढे दुई लाखभन्दा बढी रकम लिएका छन् । त्यस्तै गृहमन्त्री गच्छदारले विभिन्न जिल्ला भ्रमण गरेको भन्दै चार लाख रकम बुझेका छन् । जिल्ला भ्रमणकै नाममा मन्त्री महतोले चार लाख, पुनले साढे दुई लाख, शर्माले तीन लाख, लोकेन्द्र विष्ट मगरले दुई लाख ७० हजार लिएको रेकर्ड छ । महेन्द्रप्रसाद यादवले एक लाख ४५ हजार, गोपाल किराँतीले पाँच लाख, गौतमले दुई लाख, झाले चार लाख सात हजार, वृजेशकुमार गुप्ताले साढे तीन लाख, राजलाल यादवले दुई लाख ३५ हजार, कमला रोकाले दुई लाख, दानबहादुर चौधरीले चार लाख, कल्पना धमलाले साढे एक लाख, पहाडीले दुई लाख र अन्यले एक लाखभन्दा माथि रकम बुझेका छन् ।
त्यस्तै राज्यमन्त्री गोपी अछामी, ज्वालाकुमारी साह, हरिराज खेवा लिम्बू,  हरिराज चौधरी, ईश्वरदयाल मिश्र, सुरिताकुमारी साह लगायतले पनि जिल्ला भ्रमणका नाममा प्रतिव्यक्ति साढे तीन लाखभन्दा बढी बुझेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार अन्य सबै राज्यमन्त्रीले कम्तीमा ५० हजारदेखि दुई लाखसम्म बुझेका छन् ।
भट्टराई नेतृत्वको सरकारमा मनोनीत तर, सपथ नखाएका पम्फा भुसाल र जयपुरी घर्ती मगरले समेत मन्त्रीकै हैसियतमा प्रधानमन्त्री कार्यालयबाट जिल्ला भ्रमण खर्च बुझेका छन् । प्रधानमन्त्री कार्यालयबाट भुसालले आठ हजार र घर्ती मगरले ७२ हजार सात सय ७५ रुपैयाँ बुझेको देखिन्छ ।
प्रधानमन्त्री कार्यालय आर्थिक प्रशासन शाखा प्रमुख उमाकान्त आचार्यले छ महिनाको अवधिमा मन्त्री तथा राज्यमन्त्रीको जिल्ला भ्रमणमा एक करोड २५ लाख सकिएको जानकारी दिए । ‘मन्त्रीहरुले अनुगमनका नाममा गर्ने भ्रमण खर्च सकिएकाले अर्थसंँग थप एक करोड माग गरेका छौं,’ उनले भने, ‘अर्थले ५० लाख दिने भनेको छ । तर, त्यतिले पुग्ने देखिँदैन ।’
आचार्यका अनुसार प्र्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको जिल्ला भ्रमणका लागि भन्दै एक करोड रकम छुट्टाएको थियो । मन्त्रीको विदेश भ्रमणका लागि सम्बन्धित मन्त्रालयले आवश्यकता अनुसार बजेटको व्यवस्था गर्छ । तर, यसअघि छुट्टाइएका शीर्षक अन्तर्गतको कुनै पनि बजेटले नपुगेपछि प्रधानमन्त्री कार्यालय लगायत सबै मन्त्रालयले अर्थसँग थप रकम मागेका छन् । स्रोतका अनुसार, प्रधानमन्त्री कार्यलयले मात्र मन्त्रीहरुको तलब, जिल्ला भ्रमणजस्ता शीर्षकमा एकमुष्ट ११ करोड थप रकम अर्थसंँग माग गरेको छ । अर्थसचिव कृष्णहरि बाँस्कोटाले पनि प्रधानमन्त्री तथा अन्य मन्त्रालयबाट अर्थसँग थप रकम माग भएको बताए । उनले भने, ‘बजेट माग भएको छ, आवश्यकता अनुसार निकासा हुन्छ ।’
मन्त्रीहरुको भ्रमणमा देखिएको खर्चबाट असन्तुष्ट विभिन्न मन्त्रालयका सचिवले मुख्य सचिव र प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् । उनीहरुले मन्त्रीहरुको भ्रमण खर्च सकिएको र अर्थले रकम पनि निकासा नगरेको गुनासो गरेका थिए । प्रधानमन्त्री कार्यालयले मन्त्रीहरु जिल्लाका कार्यक्रममा सहभागी हुँदा खर्च कम गर्न, एउटा जिल्लामा एक पटक मात्र पुग्न र आर्थिक मितव्यायिता अनुसरण गर्न भन्दै सरकार परिवर्तनपिच्छे परिपत्र नै जारी गर्दै आएको छ । अझ प्रधानमन्त्री डा भट्टराईले सुरुमै खर्च कम र काम धेरै गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका थिए । तर, डा भट्टराई आफँै प्रधानमन्त्री भएयता मात्र गृह जिल्ला गोरखामा दसपटक पुगिसकेका छन् ।

 

को कहा गए
प्रधानमन्त्री डा बाबुराम भट्टराई    – अमेरिका, भारत र माल्दिभ्स
उपप्रधानमन्त्री  नारायणकाजी श्रेष्ठ    – कतार, भारत, माल्दिभ्स र चीन
उपप्रधानमन्त्री विजयकुमार गच्छदार    – भारत र चीन
श्रममन्त्री सरिता गिरी    – जापान (दुई पटक)
वातावरणमन्त्री हेमराज तातेड    – कोरिया, दक्षिण अफ्रिका, ढाका र भारत
स्वास्थ्यमन्त्री राजेन्द्र महतो    – ब्राजिल
कृषिमन्त्री नन्दनकुमार दत्त    – बङ्गलादेश
भूमिसुधारमन्त्री भीमप्रसाद गौतम    – भारत
भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी    – थाइल्यान्ड
अर्थमन्त्री वर्षमान पुन    – दक्षिण कोरिया
वनमन्त्री मुहमद वकिल मुसलमान    –दक्षिण अफ्रिका
शिक्षामन्त्री दीनानाथ शर्मा    – बेलायत
उद्योगमन्त्री अनिल झा    – भारत
महिलामन्त्री दानबहादुर कुर्मी    – भारत र  कतार
शान्तिमन्त्री सत्या पहाडी    – उत्तरी आयरल्यान्ड
पर्यटन मन्त्री लोकेन्द्र विष्ट    – मलेसिया, जर्मनी
जिल्ला भ्रमणमा खर्च भएको रकम
प्रधानमन्त्री डा भट्टराई    साढे दुई लाख
गृहमन्त्री गच्छदार    चार लाख
स्वास्थ्यमन्त्री    महतो चार लाख
अर्थमन्त्री पुन    साढे दुई लाख
शिक्षामन्त्री  शर्मा    तीन लाख
पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगर    दुई लाख ७० हजार
महेन्द्र यादव    एक लाख ४५ हजार
संस्कृतिमन्त्री गोपाल किराँती    पाँच लाख
भूमिसुधारमन्त्री गौतम    दुई लाख
उद्योगमन्त्री झा    चार लाख सात हजार
कानुनमन्त्री वृजेशकुमार गुप्ता    साढे तीन लाख
बिनाविभागीयमन्त्री राजलाल यादव    दुई लाख ३५ हजार
खेलकुदमन्त्री कमला रोका    दुई लाख
महिलामन्त्री चौधरी    चार लाख
विज्ञानमन्त्री कल्पना धमला    साढे एक लाख
शान्तिमन्त्री पहाडी    दुई लाख

प्रतिक्रिया