मजदुर आन्दोलनले कुलेखानी तेस्रो प्रभावित

काठमाडौ,  ३० फागुन । मजदुरहरुको आन्दोलनको कारण मंगलबारदेखि सुरु हुने भनिएको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य सुरु हुन सकेन ।
विवादका कारण गत पुस २५ गतेदेखि निर्माण रोकिएको उक्त आयोजना सुरु गर्न जलविद्युतको सिभिल ठेक्का लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोले सार्वजनिक सूचना टाँस समेत गरिसकेको छ ।  सञ्चय कोष लगायतका व्यवस्था गर्नुपर्ने भन्दै मजदुरहरुले आन्दोलन गरेपछि कुलेखानी तेस्रो निर्माण कार्य सुरु हुन सकेन ।’–सिनो हाइड्रोका एक अधिकारीले भने–‘३० महिनामा सिध्याउनुपर्ने आयोजनाले मजदुरलाई सञ्चय कोष दिने सक्ने कुरै भएन ।’
मजदुर आन्दोलनको कारण काम सुरु गर्न नसक्दा समयमै आयोजना निर्माण गर्नमा कठिनाई पर्ने आयोजना सम्वद्ध व्यक्तिहरुले जनाएका छन् । मंगलबारदेखि आयोजना सुरु गर्ने गरी मजदुरलाई बोलाएपछि उनीहरुले विभिन्न माग राख्दै आन्दोलन सुरु गरेका थिए । आन्दोलन सुरु गरेपछि सिनो हाइड्रो पक्षले मजदुरहरुसँग वार्ता गरेको थियो ।
पटक पटक वार्ता भएपछि सोमबार दुवै पक्षबीच सरकारको रेट अनुसार ज्याला दिने लगायतका विषयमा सहमति भएपनि सहमतिमा सोमबार हस्ताक्षर हुन सकेको थिएन । मंगलबार वार्ता हुने भनेपनि निर्माण नहुँदा निर्माणनै सुरु भएन । सरकारमा रहेको एकीकृत माओवादी र एमाले निकट मजदुर संगठनहरुले संयुक्त आन्दोलन गरेपछि कुलेखानी तेस्रोमा निर्माणमा असर पर्ने देखिएको हो ।
गत पुस २५ गते एकतर्फी रुपमा कम्पनीले सम्झौता तोडेपछि धरौटी जफत वचाउका लागि कम्पनीले पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो भने मुद्दा दायर गरेपछि प्राधिकरणले धरौटी जफतका लागि पत्र लेखेको थियो । निर्माणको ठेक्का लिँदा कम्पनीले हिमालयन बैकमा ५ करोड धरौटी राखेको थियो । दुवै पक्षको विवादका कारण अन्योलमा परेको उक्त आयोजनाबारे गत फागुन ६ गते नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि र सिनो हाइड्रो कम्पनीका प्रतिनिधिबीच काठमाडौमा भएको वार्तामा कम्पनी पुनः काममा फर्कन तयार भएको थियो ।
दुवै पक्षको सहमतिमा कुलेखानी तेस्रो निर्माणका लागि ३० महिना समय थपिएको थियो । सहमति अनुसारनै सिनो हाइड्रोले मुद्दा समेत फिर्ता गरिसकेको छ तर मजदुर आन्दोलनमा उत्रिएपछि निर्माणमा समस्या देखिएको छ ।

प्रतिक्रिया