लगातार गोलरहित तेस्रो हार

काठमाडौं, २९ फागुन । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) च्यालेन्जकपमा नेपालको प्रदर्शन पछिल्लो एक वर्षयताकै सबैभन्दा कमजोर रह्यो । गत वर्षको सुरुआतमा एएफसी च्यालेन्जकपको छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ उचाइ प्राप्त गरे पनि नेपालले फाइनलचरणमा भने समूहचरणमै सीमित हुनुप¥यो । त्यति मात्र होइन, नेपालले कुनै पनि खेल जित्न सकेन । आफ्नै स्तरका टोलीसँगको समूह भेटमा नेपालले जित त परको कुरा भयो, गोलसम्म गर्न सकेन  ।
लगातार दुई खेलमा हार व्यहोरेपछि सेमिफाइनल पुग्ने आशा समाप्त भएको नेपाल सोमबार अन्तिम खेलमा तुर्कमेनिस्तानसँग ३–० ले पराजित भयो । यसअघि समूहको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग २–० र दोस्रो खेलमा माल्दिभ्ससँग १–० ले हारेको थियो ।
अघिल्ला दुई खेलमा दबाबपूर्ण प्रदर्शन गरे पनि गोल गर्न नसकेको नेपालको प्रदर्शन तुर्कमेनिस्तानविरुद्ध भने स्तरहीन रह्यो । खेल अवधिभर घरेलु टोली नेपालले एउटा पनि दर्शनीय आक्रमण गर्न सकेन । एउटा खेलमा जित र अर्कोमा बराबरीपछि उच्च मनोबलमा उत्रिएको साविक उपविजेता तुर्कमेनिस्तानले खेलभर दबाब कायम गरेको थियो । गोलका अतिरिक्त तुर्कमेनिस्तानका तीन प्रहार बारमा लागेर फर्किएका थिए । नेपाली अग्रपङ्क्तिले अर्को निराशाजनक प्रदर्शन ग¥यो । समूहचरणबाटै बाहिरिइसकेपछिको स्थितिमा तुर्कमेनिस्तानसँग नेपालले सोमबार गरेको प्रदर्शनलाई स्वाभाविक रूपमा हेरिएको छ । ‘अघिल्ला दुई खेलमा हार्नु र त्यसैकारण बाहिरिएको स्थितिमा नेपालले हामीविरुद्ध जुन प्रदर्शन ग¥यो त्यो स्वाभाविक छ ।’ खेलपछि तुर्कमेनिस्तानका प्रशिक्षक होजाजेलदियेभ याज्गुलीले भने ।
हुन पनि नेपालले अघिल्ला खेलमा दबाबपूर्ण प्रदर्शन गर्नुका बाबजुद जित हात पार्न नसकेपछि खेलाडीदेखि प्रशिक्षकसम्ममा निराशा देखिएको थियो । खेलमा बढी समय बल आफ्नो नियन्त्रणमा लिनु र अवसर सृजना गर्नुका बाबजुद नेपाली टोली प्यालेस्टाइन र माल्दिभ्सविरुद्ध गोल गर्न असफल भएको थियो । यसका पछाडि नेपाली टोलीको कमजोर ‘फिनिसिङ’ कारण नै जिम्मेवार थियो ।
विगत एक वर्षमा नेपाली फुटबलले चौतर्फी ‘वाह–वाह’ पाएको थियो । गत वर्षको फेब्रुअरीमा ग्राह्म रोबटर््सको प्रशिक्षणमा आएयता नेपाल एएफसी च्यालेन्जकपको छनोटमा समूहको उपविजेता बनेको थियो । त्यसपछि विश्वकप छनोटको पहिलो चरणमा इस्ट टिमोरलाई हराएको नेपालले दोस्रो चरणमा जोर्डनविरुद्ध अवे खेलमा कमजोर प्रदर्शन गरे पनि ‘होम’ खेलमा भने बराबरीको नतिजा निकाल्न सफल भएको थियो यद्यपि नेपालको यात्रा विश्वकप छनोटमा दोस्रो चरणभन्दा अगाडि बढ्न सकेन । त्यसपछि गत साफ च्याम्पियनसिपमा नेपालले राम्रो प्रदर्शन गर्‍यो । उत्कृष्ट प्रदर्शनका साथ नेपाली टोलीले १२ वर्षपछि सो प्रतियोगितामा सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा अफगानिस्तानविरुद्ध १–० ले पराजित हुनुअघि नेपाल समूहचरणमा अपराजित रहँदै विजेता बनेको थियो । ‘स्ट्राइकरले बिर्सनलायक प्रदर्शन गरे ।’ नेपालका लागि अन्तिम प्रतियोगितामा सहभागी भएपछि प्रशिक्षक ग्राह्म रोबर्ट्सको प्रतिक्रिया थियो ।
घरेलु मैदानमा पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको पृष्ठभूमिमा जारी एएफसी च्यालेन्जकपको नतिजाले भने नेपाललाई ठूलै झड्का दिएको छ । घरेलु मैदानमा गोल नगरी बाहिरिएको नेपालका लागि यो लामो समयपछिको पहिलो घटना हो । यसअघि सन् २०१० को संस्करणको छनोटचरणमा नेपालले जित हात पार्न नसके पनि दुई खेल बराबरी गरेको थियो जसमध्ये एकमा गोल पनि गरेको थियो ।

साफ टोली समूहचरणमै सीमित
एएफसी च्यालेन्जकप एसियाको दोस्रो श्रेणीका राष्ट्रले खेल्छन् । फुटबल स्तरलाई हेरेर एएफसीले आफ्ना सदस्यको वर्गीकरण गरेको छ अर्थात् दक्षिण एसियाली टोली दोस्रो श्रेणी खेल्छन् । एसियाको दोस्रो श्रेणीका टोलीले खेल्ने यस प्रतियोगितामा लगातार दोस्रोपटक दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) का सदस्यहरूले समूहचरणभन्दा अघिल्लो चरणको यात्रा तय गर्न सकेनन् ।
यसपटक फाइनलचरणमा पुगेका भारत, माल्दिभ्स र नेपाल गरी साफका तीन सदस्य राष्ट्रको यात्रा समूहचरणमै सीमित भएको हो । यसअघि सन् २०१० मा श्रीलङ्कामा सम्पन्न पछिल्लो संस्करणमा साफ टोलीहरू श्रीलङ्का, बङ्गलादेश र भारत फाइनलचरण पुगे पनि समूहचरणको चुनौती भने पार गर्न सकेका थिएनन् ।
यसपटक एउटै समूहमा परेका माल्दिभ्स र नेपाल चार टिम रहेको समूहमा अन्तिम दुई स्थानमा क्रमशः रहे । शीर्ष दुई टिम अगाडि बढ्ने प्रावधान रहेको समूहमा माल्दिभ्सले एक जित हात पार्‍यो भने दुईमा हार व्यहोर्‍यो । त्यस्तै नेपालले भने सबैमा पराजय व्यहोर्‍यो । आइतबार ताजिकिस्तानसँग १–० ले पराजित भएपछि माल्दिभ्सको झिनो आशा पनि समाप्त भएको थियो ।
यता अर्को समूहमा सन् २००८ को विजेता भारत पनि समूहचरण पार नगर्ने निश्चित भइसकेको छ । उत्तर कोरियासँगको भिडन्तअगावै सेमिफाइनल पुग्न असफल हुनुमा भारतले फिलिपिन्स र ताजिकिस्तानविरुद्ध समान २–० ले हार व्यहोरेको थियो । यसअघि छनोटविना नै खेलाइएको सन् २००६ को पहिलो संस्करणमा माल्दिभ्सबाहेक साफका अन्य सबै ७ टोली सहभागी थिए । बङ्गलादेशमा सम्पन्न उक्त संस्करणमा श्रीलङ्का, नेपाल, बङ्गलादेश र भारतले समूहचरण पार गर्दै सेमिफाइनल पुगेका थिए । सन् २००८ मा भारतमा सम्पन्न दोस्रो संस्करणमा श्रीलङ्का, अफगानिस्तान, भारत र नेपालले समूहचरणमा खेले पनि भारत मात्र सेमिफाइनल पुगेको थियो ।
यसपटक भारत र नेपालले सेमिफाइनल पुग्ने हैसियतका प्रदर्शन गरे पनि स्ट्राइकरको कमजोर प्रदर्शन नै दुवै टोलीका लागि घातक भयो । दुवै टोलीका प्रशिक्षकले स्ट्राइकरको अभावमा गोल गर्न नसकेको स्वीकार पनि गरे ।

प्रतिक्रिया