प्रधानमन्त्रीको रुन्चे गुनासो

आइतबार बसेको संवैधानिक समितिको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुनासो गरेछन्, ‘मलाई काम गर्न दिइएन ।’ सँगसँगै उनले इतिहासले आफ्नो मूल्याङ्कन गर्ने कुरा पनि गरेछन् । आधुनिक नेपालको इतिहासमा सम्भवतः सबैभन्दा विद्वान् र जनताले सबैभन्दा धेरै अपेक्षा गरेका प्रधानमन्त्रीको यो अभिव्यक्ति निराशाको अभिव्यञ्जना हो । त्यति मात्रै होइन, यसले डा. भट्टराईको व्यक्तित्वको लुकेको पाटोलाई पनि उजागर गरेको छ । बहुदलीय प्रणालीमा खुट्टा तानातानको राजनीति सर्वस्विकार्य विधि नै हो । यसका केही अवगुण भए पनि विपक्षीहरूले सत्तारुढका अगाडि अवरोध सिर्जना गर्न खोज्नु न अराजनीतिक काम हो, न अनैतिक कुरा । भट्टराईलाई राजनीति वेन जियावाओ नेपाल आउँदा खाली गरिएका सडकजस्तो पनि होइन भन्ने थाहा हुनुपथ्र्यो । सजिलो र अवरोधरहित बाटो पाइए उनीजस्ता सबलाङ्गहरूको त के कुरा हातखुट्टा केही नभएको पनि सजिलै दौडन सक्छ भन्ने कुरा पनि डा. भट्टराईले बिर्सनु हुन्न ।
यस मुलुकमा कुन प्रधानमन्त्रीले निर्बाध र सबैको सहयोग पाएर काम गर्न पाएको छ भन्ने प्रश्नको उत्तरै प्रधानमन्त्रीले रुञ्चे स्वरमा गुनासो गर्नु हुँदैनथ्यो । उनकै पार्टी एकीकृत नेकपा(माओवादी)ले आपूm विपक्षमा हुँदा मच्चाउने बितन्डा सम्झेर पनि उनले अवरोधहरू पन्छयाएर अगाडि बढ्ने र उच्च नैतिक साहसका साथ आफ्नो मिसन पूरा गर्नेतिर लाग्नु पथ्र्यो । विडम्बना, पदासीन भएकै दिनदेखि अतिकल्पनाको घोडामा सवार हुन थालेका भट्टराईले समयले दिएको कार्यादेशभन्दा बाहिरका खुद्रा कामहरू गर्न थाले । काम कुरो एकातिर छाडेर आफूले सुरु गरेको ‘ठिमी यात्रा’कै परिणाम हो आज डा. भट्टराई इतिहासकै असफल र बदनाम प्रधानमन्त्रीको पङ्क्तिमा उभिन पुगेका हुन् ।
शान्ति प्रक्रिया र संविधान लेखनजस्ता दुई महत्वपूर्ण काम छाडेर डा भट्टराईले आफ्नो पोजिसन बलियो बनाउने जुन खेल थाले, त्यसैको परिणति हो आज उनले अरूलाई दोषी देखाउन थालेको । मुस्ताङ गाडी चढेर उनले देखाएको स्पिरिट आज प्रहसन साबित भइसकेको छ । इतिहासकै ठूलो मन्त्रिमण्डल र स्वकीय सचिवालय बनाएर उनले मुस्ताङ स्पिरिटको घाँटी निमोठिदिएपछि नै उनको व्यक्तित्वको गुरुत्व क्षीण हुन थालेको हो । जनतालाई राहत दिने उनको घोषणा हावादारी साबित भएपछि आममानसको आशाभरोसा चकनाचुर हुन पुग्यो । उनकै कार्यकालमा मन्त्रीहरूले बिखण्डनको कुरा गरे र उनी स्वयंले शङ्कास्पद शैलीमा मर्ज र सबमर्जको कुरा उठाए । यस्ता काम गर्दा आलोचना मात्रै भएको हो । प्रेस र विपक्षी दलहरूले यस्ता काम गर्न दिएनन् भन्ने प्रधानमन्त्रीको भनाइ हो भने त्यो हास्यास्पद हो ।
आफ्ना कमजोरी अरूको टाउकामा थुपारेर उम्किन खोज्ने प्रवृत्तिबाट प्रधानमन्त्री डा. भट्टराई पनि अछुता रहेनछन् भन्ने प्रस्ट भएको छ, उनको पछिल्लो अभिव्यक्तिबाट । अहिलेसम्मका प्रधान–मन्त्रीमध्ये शेरबहादुर देउवालाई सबैभन्दा लोभी व्यक्तिका रूपमा चिनिन्थ्यो किनभने उनले आफ्नो कुर्सी जोगाउन राजनीतिक नैतिकताको धज्जी नै उडाइदिएका थिए । आजका दिनमा तिनै शेरबहादुरले समेत गिज्याउने पात्र बन्न भ्याए डा. भट्टराई । यसका पछाडि पनि विरोधीहरूको हात छ भन्ने ठानेर बहस गर्न थालियो भने कसको के लाग्छ ? तीन महिना बित्दा पनि खाना पकाउने ग्यासको हाहाकार छ । पेट्रोल पम्पहरूमा लाइन कहिल्यै घट्दैन । मापसेका नाममा पुलिस राज चलेको छ । मन्त्रीहरूले खुलेआम घुस मागिरहेका छन् । तर, प्रधानमन्त्री विदेशीहरूलाई समेत वंशजको नागरिकता दिने सहमति गर्न लागेका छन् । मधेसका हिंस्रक टुकडीका तथाकथित लडाकुहरूलाई पनि नेपाली सेनामा समायोजन गर्ने मुद्दामा छलफल गर्न उनलाई कुनै सङ्कोच छैन । यस्तो कुर्सीमोह पालेर बस्ने अनि अरूले काम गर्न दिएनन् भन्ने ? नागरिकता र मधेसका हतियारधारीको समायोजनको प्रश्नले राष्ट्रहित कहाँनिर समेटेको छ र प्रधानमन्त्रीका लागि ती विषय विचारणीय लागे ?
हो, लडाकु समायोजनका मामिलामा केही प्रगति भएकै हो । तर, त्यसको जस प्रधानमन्त्रीले पाउनै सक्दैनन् किनभने यहाँनिर अरू राजनीतिक दलले कहीँकतै अवरोध खडा गरेका छैनन्, सहयोगी भूमिका नै गरिरहेका छन् । बरु, समायोजनको दिशामा भइरहेको प्रगतिको जस एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नै जान्छ किनभने सबैले देखेकै छन् यस मामिलामा दाहाल बढी गम्भीर छन् र उनकै आग्रहमा लडाकुहरूले खुरुखुरु शिविर छाड्दै छन् । तर, संविधान लेखनको काममा डा. भट्टराईको कुनै चासो देखिन्न । अरूले काम गर्न दिएनन् भन्नुभन्दा पहिले प्रधानमन्त्रीले आपूmले गर्न खोजेका कामको विवरण दिनुपथ्र्यो । साथसाथै, समयले अह्राएका काम पनि चिन्न सक्नुपथ्र्यो । उनले गर्न चाहेका काम आफ्नो लोकप्रियता बढाउने आशयका थिए तर समयले सुम्पेको जिम्मेवारीतर्फ उनको ध्यान गएन । त्यति हुँदाहँुदै पनि उनले आपूmलाई लोकप्रिय बनाउन सकेनन् । र, असफलताको झोँकमा दोष अरूको टाउकामा थुपार्ने प्रयास गरिरहेका छन् । संवैधानिक समितिको बैठकमा उनले दिएको अभिव्यक्तिले ‘नाच्न जान्दैन आँगन टेढो’ लोकोक्ति चरितार्थ भएको छ ।
भट्टराईजस्ता विद्वान् नेतालाई थाहा हुनुपर्छ, उनको मात्रै होइन हरेक प्रधानमन्त्रीको इतिहासले मूल्याङ्कन गर्ने गर्छ । उनलाई आपूmले महान् काम गर्न खोज्दाखोज्दै पनि गर्न नपाएको लागेको होला । त्यसो लागेको हो भने प्रस्ट छ उनी महाभ्रममा छन् । उनले आजसम्मको आफ्नो कार्यकालमा गरेका राम्रा र नराम्रा कामको छुट्टाछुट्टै चाङ लगाउने हो भने नराम्रा कामहरूको थुप्रोका अगाडि राम्रा काम बिलाउने छन् । कुर्सीमोह उनमा देखिएको सबैभन्दा ठूलो कमजोरी हो, उनको यही कमजोरीमा टेकेर इतिहासका पानाहरूमा उनको मूल्याङ्कन हुनेछ । कुर्सीमोहको कमजोरी सच्याएर आफ्नो छवि उकास्न सक्छन् डा. भट्टराई । तर, प्रधानमन्त्री भएर उनले आफ्नो व्यक्तित्वमा लुकेको एउटा पाटो भने उजिल्याइदिए । ११ भदौअघि भट्टराई समकालीन राजनीतिका सबैभन्दा प्रखर, दूरदर्शी र तैयार नेता मानिन्थे । युवाजमात्ले त उनमा ठूलै राजनेताको छवि देखिरहेको थियो र उनी प्रधानमन्त्री भएपछि कायाकल्प नै हुने आसमा बाँचिरहेको थियो । उनी प्रधानमन्त्री भएपछिका केही साता आशावादको लहर नै चल्नाले पनि त्यसको पुष्टि गरेको थियो ।
तर, अहिले आएर त्यो लहर ठण्डा भइसकेको छ । उनलाई काम गर्न दिनुपर्छ भनेर अभियान नै चलाएकाहरू पनि अहिले उनका आलोचक भएर उत्रेका छन् । अहिले उनी औसत नेपाली नेताहरूको दर्जामा झरिसकेका छन् र उनीप्रति आशा गर्नेहरूको सङ्ख्यामा पनि भारी गिरावट आइसकेको छ । यस परिस्थितिलाई प्रधानमन्त्रीले कसरी हेरिरहेका छन् त्यो अनुमानको मात्रै विषय हो । तर, उनले बुझ्नै पर्ने कुरा के हो भने सबै कुराको मूल्याङ्कन इतिहासकै जिम्मा मात्रै छाड्नु हुँदैन । धेरै कुराको मूल्याङ्कन त वर्तमानले पनि गर्छ । अहिले उनको ओजमा जुन ह्रास आइरहेको छ त्यो वर्तमानकै मूल्याङ्कनको अंश हो ।

प्रतिक्रिया