हिमाली भेगमा पनि वन्यजन्तु तस्करी

काठमाडौँ, २९ फागुन । तराईका राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रमा जस्तै उच्च हिमाली भेगमा पनि संरक्षित वन्यजन्तुको तस्करी हुने गरेको पाइएको छ ।
निकुञ्ज प्रशासन र प्रहरीको सक्रियतासँगै पछिल्लो समय चोरी–सिकारमा संलग्न व्यक्ति पक्राउ पर्न थालेपछि उच्च हिमाली भेगमा पनि वन्यजन्तु तस्करी भइरहेको खुलेको हो । हिउँचितुवाको छाला र हड्डीसहित पहिलोपटक त्यसमा संलग्न अभियुक्त पक्राउ पर्नुले हिमाली क्षेत्रमा पनि वन्यजन्तु चोरी–सिकार भइरहेको देखाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
‘हिउँचितुवा र रेडपान्डा सिकारी पक्राउ पर्नुले उच्च हिमाली क्षेत्रमा वन्यजन्तु चोरी–सिकार भइरहेको देखाएको छ,’ निकुञ्ज विभागका रेन्जर विष्णु थपलियाले सौर्यसँग भने, ‘उच्च भेगमा भौगोलिक विकटताले अनुसन्धानको काम गर्न गाह्रो छ । त्यसैले सिआइबीसमेतको सहकार्यमा चोरी–सिकार नियन्त्रणको काम गरिरहेका छौँ ।’
विभाग र जिल्ला प्रहरी कार्यालयको पहलमा गत १४ जेठमा मुस्ताङको मार्फादेखि आठ घन्टाको दूरीमा रहेको चौरीखर्क लेकमा पहिलोपटक दुईजना हिउँचितुवा सिकारी पक्राउ परेका थिए । चौरीखर्क लेकमा हिउँचितुवाको छाला, एक मृत हिउँचितुवा र हड्डीसहित स्थानीय प्याराडाइज गेस्ट हाउसका सञ्चालक श्याम लालचन र कामदार कुलमान घले पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत १ कात्तिकमा विदुर नगरपालिकाबाट हिउँचितुवाको छालासहित कान्छा लामा भनिने बुद्धे लामा तामाङलाई पक्राउ गरेको थियो । सिआइबीले हिउँचितुवासँगै रेडपान्डाको दुइटा छालासहित काठमाडौँमै ६ जनालाई गत ९ पुसमा पक्राउ गरेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, ०२९ का अनुसार संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरिद–बिक्री गर्ने व्यक्तिलाई ५० हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन्छ ।

प्रतिक्रिया