भट्टराईको गुट तितरवितर

काठमाडौँ, २९ फागुन । गुटगत राजनीति गर्ने नेताहरू सत्तामा पुगेपछि आफ्नो समूह बलियो बनाउँछन् । सत्ताको रवाफ र पैसाको बलले विपक्षी गुटहरू प्रभावित बन्छन् । तर, प्रधानमन्त्री डा. बाबुराम भट्टराईका हकमा भने ठीक उल्टो भएको छ । उनी प्रधानमन्त्री भएपछि उनको गुट बलियो हुनाको साटो तितरवितर भएको छ ।
पार्टीभित्र सधैँ अल्पमतमा रहेका माओवादी उपाध्यक्ष डा. भट्टराई प्रधानमन्त्री भएपछि उनको गुट बलियो हुने आशा निकटस्थहरूले गरेका थिए । तर, प्रधानमन्त्री भएपछि पार्टीभित्रको अन्तरसङ्घर्षमा लामो समयदेखि साथ दिँदै आएका नेताहरूसमेत उनीसँग टाढिएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईको गुट क्रमशः छिन्नभिन्न हुँदै छ । प्रधानमन्त्री भएको लामो समय बितिसक्दा पनि आफूहरूलाई बेवास्ता गरिएको, पार्टीभित्रै पनि संरक्षण गर्न नसकेको भन्दै उनको विचार समूहमा आबद्ध धेरै नेता–कार्यकर्ता बाहिरिने र तटस्थ बस्ने गर्न थालेका छन् । उनलाई सघाउँदै आएका केही पोलिटब्युरो सदस्यसमेत रुष्ट हुनुका साथै निष्क्रिय बनेका छन् ।
भट्टराई खेमाका खम्बा नै मानिने पोलिटब्युरो सदस्य राम कार्की र देवेन्द्र पौडेल प्रधानमन्त्री डा. भट्टराईसित असन्तुष्ट रहेको बालुवाटार स्रोतको दाबी छ । भट्टराईले गर्ने आफ्नो विचार समूहको गोप्य बैठकमा समेत कार्की जाँदैनन् । ‘किन हो उहाँ त्यस्ता बैठकमा आउनुहुन्न,’ स्रोतले सौर्यसँग भन्यो ।
भट्टराई नेतृत्वको सरकारले कार्कीलाई भारतका लागि राजदूतमा प्रस्ताव गरेको थियो । तर, झन्डै चार महिना बित्दा पनि उनको एग्रिमो आएको छैन । स्रोतका अनुसार एग्रिमोबारे भारतसित कुरा नै नगरेको भन्दै कार्की भट्टराईसित खिन्न भएका छन् ।
भट्टराई खेमाकै केही नेताले बिरामी भएर घरबाटै परराष्ट्र मन्त्रालय चलाइरहेका नारायणकाजी श्रेष्ठलाई हटाएर कार्कीलाई परराष्ट्रमन्त्री बनाउन सल्लाह दिएका थिए । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाउने भनेर भट्टराईले सुझाब बेवास्ता गरेको स्रोतले जनाएको छ । ‘मन्त्रालय नै आउन नसक्ने बिरामीलाई किन मन्त्री राखिरहनु ? बरु, उनको उपचारको विशेष व्यवस्थासहित बिदा दिएर कार्कीलाई नियुक्त गर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई सुझाब दिएका हौँ,’ भट्टराईनिकट एक केन्द्रीय सदस्यले भने, ‘हाम्रो सुझाबलाई उहाँ(भट्टराई)ले वास्ता गर्नुभएको छैन ।’
प्रधानमन्त्री भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार रहेका देवेन्द्र पौडेल पनि असन्तुष्ट बन्दै गएको स्रोतहरूले जनाएका छन् । प्रधानमन्त्रीले ‘सिस्टममा काम नगरेको’ गुनासो उनले निकटस्थहरूसित गर्ने गरेका छन् । कतिपय काम गर्दा भट्टराईले पत्तै नदिने र कतिपय काम प्रधानमन्त्रीपत्नी हिसिलामार्फत हुने गरेको उनको गुनासो छ । ‘उहाँ(पौडेल)को आपत्ति कार्यशैैलीप्रति हो, विचारमा त खासै समस्या छैन,’ पौडेलनिकट एक सदस्यले भने ।
स्रोतका अनुसार लामो समयदेखि भट्टराईलाई साथ दिँदै आएका केन्द्रीय सदस्यद्वय खगराज भट्ट र डोरप्रसाद उपाध्याय पनि प्रधानमन्त्री भट्टराईसित टाढिएका छन् । आफू प्रधानमन्त्री हुँदासमेत सुदूरपश्चिमका नेतालाई राम्रो स्थान नदिएको, सुदूरपश्चिम क्षेत्रका नेता–कार्यकर्ताको सुझाब र मागलाई बेवास्ता गरिएको भन्दै भट्ट रुष्ट बनेका छन् । पछिल्लो समयमा भट्टले ‘हामी कसैको पिछौडिया होइनौँ, स्वतन्त्र छौँ’ भन्न थालेको स्रोतले बतायो ।
करिब तीन महिनाअघि भट्टसँगै सुदूरपश्चिमका ठूलै नेता–कार्यकर्ताको समूहले भट्टराईसित लिखित असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा उपसचिव पदमा कार्यरत माओवादीको बझाङ सेक्रेटरी जनकबहादुर बुढाले त राजीनामा नै दिएका थिए । आफ्ना माग सम्बोधन नभएको भन्दै त्यस क्षेत्रका नेता–कार्यकर्ता तटस्थ बसेका छन् ।
‘हिजोको जस्तै केन्द्रीकृत शासनसत्ता चलाएर हिँड्ने हो भने हामी विद्रोहमा उत्रिन्छौँ भनेर हामीले प्रस्ट रूपमा प्रधानमन्त्रीसँग भनिसक्यौँ,’ भट्टले सौर्यसँग भने । उनका अनुसार शान्ति र संविधानका सन्दर्भमा भट्टराईले लिएको मुद्दामा सैद्धान्तिक रूपमा कुनै असहमति नभए पनि कार्यशैली र पिछडिएको÷उत्पीडित क्षेत्रलाई गर्ने व्यवहारमा भने आपत्ति छ । कार्यकर्ताको निष्ठा र पार्टीप्रतिको प्रतिबद्धता हेरेर संरक्षण गर्नुका साथै अवसर दिनुपर्ने उनले बताए ।
अर्का केन्द्रीय सदस्य उपाध्याय पनि भट्टराई खेमा छाडेर अध्यक्ष दाहाल खेमातिर नजिकिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री बनेपछि प्रमुख स्वकीय सचिव बनाउने आश्वासन पाएका उनी त्यो पद नपाएपछि रुष्ट बनेका हुन् । भट्टराईसित टाढिएपछि उपाध्यायले ३÷४ पटक अध्यक्ष दाहाललाई भेटिसकेको स्रोतको दाबी छ । भट्टराई माओवादीको क्रान्तिकारी जनपरिषद्को संयोजक हुँदा उपाध्याय उनका सेक्रेटरी थिए ।
उपत्यकाका पुराना माओवादी नेता तथा युद्धका बेला सेनाको गोलीबाट खुट्टा गुमाएका गङ्गाबहादुर तामाङ पनि भट्टराई विचार समूहबाट टाढिँदै गएका छन् । उनी माओवादीको जातीय सङ्गठन तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्षसमेत हुन् । अध्यक्ष दाहाल र उपाध्यक्ष मोहन वैद्य विचार समूहमा लागेका आफूभन्दा कनिष्ठ हितबहादुर तामाङ, सूर्यमान दोङलगायतले राम्रो अवसर पाइसक्दा पनि आफूलाई भट्टराईले महत्व नदिएको तामाङको गुनासो छ ।
भट्टराईको निजी सचिवालयमा अधिकृत पदमा नियुक्त गरिए पनि आफूभन्दा कनिष्ठहरूलाई सचिव, सहसचिव र उपसचिव पदमा नियुक्त गरिएकामा तामाङ रुष्ट छन् । १५ फागुनमा भट्टराईले आफ्नो विचार समूहलाई स्वीकार गर्ने जातीय मोर्चाका नेताका लागि आयोजना गरेको चियापानमा पनि तामाङ र उनीनिकट नेता उपस्थित भएनन् ।
प्रधानमन्त्री भट्टराई जनमोर्चाको अध्यक्ष हुँदादेखि नै सघाइरहेका लुम्बिनी क्षेत्रका नेता माधव शर्मा पनि अहिले उनीसित टाढिएका छन् । उनी त्यतिबेला जनमोर्चाको केन्द्रीय सदस्य थिए । कुनै बेला शर्मालाई ‘भट्टराईको लुम्बिनी खम्बा’ पनि भनिन्थ्यो । स्रोतहरूका अनुसार भट्टराईले कुरै नसुन्ने र टोपबहादुर रायमाझीले आफूलाई नटेरेको गुनासो उनले नजिककाहरूसित गर्ने गरेका छन् ।
कोचिला, लिम्बुवान, किरात राज्यसमितिका युवा नेताले पनि प्रधानमन्त्री भट्टराईलाई भेटेर उनको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । उनीहरूले ‘कार्यशैली यस्तै रहिरहने हो भने आफूहरूले साथ दिइरहन वा विचार समूहका नाममा ‘सहिद’ भइरहन नसक्ने’ चेतावनी भट्टराईलाई दिएको स्रोतले जनाएको छ । लिम्बुवानका केन्द्रीय सदस्य श्रीप्रसाद जगेबु, धनकुटाका सभासद् हेमराज भण्डारी, कोचिलाबाट झापा इन्चार्ज अग्नि, किरातबाट संखुवासभाका इन्चार्ज राजेन्द्र राई, सोलुखुम्बुका पूर्वइन्चार्ज राजेन्द्र बस्नेतलगायत १६ जना युवा नेताले भेटेर भट्टराईसित असन्तुष्टि जनाएका थिए ।
बस्नेतलाई भट्टराई समूहमा लागेकै कारण अध्यक्ष दाहाल पक्षका राज्यसमिति इन्चार्ज गोपाल किरातीले सोलुखुम्बुको इन्चार्जबाट हटाउँदासमेत भट्टराई मौन बसेकामा उनीहरूको चर्को असन्तुष्टि रहेको स्रोतले जनाएको छ । ‘जिम्मेवारी पाएर र पढेर मात्र नहुनेरहेछ । भट्टराईले कार्यान्वयन गरेर केही देखाउन सकेनन् । हामी उहाँको विचार समूहमा लागेर दुःख पाउने तर राम्रा ठाउँमा नियुक्तिचाहिँ हेडक्वार्टरको दबाबमा उनीहरूकै मान्छेले पाउने ? त्यसैले हामी विचार समूह छाडेर स्वतन्त्र बन्ने सोचमा पुगेका छौँ,’ भट्टराईसितको भेटमा सहभागी एक युवा नेताले भने ।
स्रोतहरू अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष तथा माओवादीको लमजुङ जिल्ला इन्चार्ज देवेन्द्र पराजुली पनि भट्टराई विचार समूहबाट बाहिरिएको दाबी गर्छन् । उनले केही दिन अघिसम्म फेसबुकमा ‘भूमिकाको मूल्याङ्कन भएन’ भन्ने खालका स्टाटस लेख्ने गरेका थिए । यद्यपि उनकी पत्नी कल्पना धमला भट्टराई सरकारमा विज्ञान तथा प्रविधिमन्त्री छिन् । ‘भट्टराईले यत्रो अवसर पाउँदा पनि कार्यकर्ताको संरक्षणसमेत गर्न नसकेको’ गुनासो उनले आफूनिकटहरूसित गर्ने गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया