कुलेखानी तेस्रोको पुनः निर्माण गरिने

काठमाडौ, २८ फागुन । विवादका कारण गत २५ पुसदेखि निर्माण रोकिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य मङ्गलबारदेखि गरिने भएको छ ।
जलविद्युत्को सिभिल ठेक्का लिएर सम्झौता तोडेको चिनियाँ कम्पनी सिनो हाइड्रोले मङ्गलबारदेखि पुनः निर्माण गर्न लागेको हो । सिनो हाइड्रोले मार्च १३ देखि पुनः निर्माण सुरु गरिने भन्दै आयोजनास्थलममा सार्वजनिक सूचनासमेत टाँसेको छ । ‘हामीले मङ्गलबारदेखि कुलेखानीको निर्माण गर्न लागेका छौँ, सार्वजनिक सूचना टाँसेर जानकारीसमेत दिएका छौँ,’ सिनो हाइड्रोका एक अधिकारीले भने ।
गत २५ पुसमा एकतर्फी रूपमा कम्पनीले सम्झौता तोडेपछि कुलेखानी तेस्रो जलविद्युत् निर्माण प्रभावित बन्दै आएको छ । सम्झौता तोडेपछि धरौटी जफत बचाउका लागि कम्पनीले पाटन पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो । निर्माणको ठेक्का लिँदा कम्पनीले हिमालयन बैंकमा पाँच करोड रुपियाँ धरौटी राखेको थियो । दुवै पक्षको विवादका कारण अन्योलमा परेको सो आयोजनाबारे गत ६ फागुनमा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि र सिनो हाइड्रो कम्पनीका प्रतिनिधिबीच भएको वार्तामा कम्पनी पुनः काममा फर्कन तयार भएको थियो ।  दुवै पक्षको सहमतिमा कुलेखानी तेस्रो निर्माणका लागि ३० महिना समय थपिएको थियो ।
दुई साताभित्र कुलेखानी तेस्रो निर्माण कार्य सुचारु गर्ने सहमतिअनुसार नै सिनोले पुनः निर्माण गर्न लागेको हो । सिनो हाइड्रोले मुद्दासमेत फिर्ता गरेको आयोजनाले जनाएको छ ।
गत २१ मङ्सिरमा निर्माण सम्पन्न गर्नुपर्ने सो आयोजनाका लागि चिनियाँ पक्षले थप समयको माग गरेपछि प्राधिकरणले थप आठ महिना समय थपेकोे थियो । तर, पछि मूल्यवृद्धिले लागतमा वृद्धि, बन्द, हडतालको समस्यालगायत देखाउँदै गत २५ पुसमा सम्झौता तोडेको थियो । सन् २००८ मा मकवानपुरको भैसेमा निर्माण सुरु भएको १४ किलोवाट क्षमताको सो आयोजना तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया