उपत्यकाका सबै पम्प बन्द

काठमाडौँ, २८ फागुन । सेवा, सुविधा र पारिश्रमिक वृद्धिको माग राख्दै पेट्रोलपम्पमा कार्यरत मजदुरले आइतबार उपत्यकाका पेट्रोलपम्प बन्द गरेका छन् । आफूले खाइपाई आएको पारिश्रमिक वृद्धि हुनुपर्ने, सेवा सुविधा थप हुनुपर्ने लगायतका माग राख्दै मजदुरले पम्प बन्द गरेका हुन् ।
मजदुर हडतालका कारण सरकारीबाहेक उपत्यकाका एक सय २३ पेट्रोलपम्प आइतबार बन्द रहे । उपत्यकामा रहेका एक सय ३४ मध्ये ११ वटा सरकारी पम्प छन् । मजदुर हडताल भए पनि आइतबार सरकारी पम्प खुला रहेको तथा ती पम्पबाट पेट्रोलियम वितरण सहज रहेको नेपाल आयल निगमले जनाएको छ ।
लामो समयदेखि तलब वृद्धिलगायतका माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका पम्पमजदुरको हडतालका कारण उपत्यका पेट्रोलियम वितरणसमेत ठप्प रहेको थियो । उनीहरूले आफ्ना माग सुनवाइ नभए नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनको कार्यालयमा समेत तालाबन्दी गर्ने र अनिश्चित कालका लागि पेट्रोलियम वितरण बन्द गराउने बताएका छन् ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डेले मजदुर हडतालका कारण उपत्यकाका पम्प बन्द रहे पनि तत्काल आफूहरू मजदुरको माग पूरा गर्न सक्ने अवस्थामा नरहेको बताए । लामो समयदेखि समस्याका रूपमा देखिएको पेट्रोलियम सहज हँुदै गएको भन्दै उनले अहिले मजदुर आन्दोलनको समय नभएकाप्रति जोड दिए । सरकारले व्यवसायीलाई लिने कमिसन नबढाएसम्म मजदुरको सेवा सुविधा वृद्धि गर्न नसकिने उनको भनाइ थियो ।
‘आफ्नो हक अधिकारका लागि सबैले आवाज उठाउनु पर्छ,’ उनले भने, ‘सरकारले हामीलाई कमिसन नबढाएसम्म तलबलगायतका सुविधा वृद्धि गर्नसक्ने अवस्था छैन ।’ सरकारमा रहेका जिम्मेवार राजनीतिक दलमा आबद्ध मजदुर सङ्गठनकै अगुवाइमा आन्दोलन भएको भन्दै उनले सरकारले नै समस्याको समाधान खोज्नुपर्ने बताए ।
यसैगरी, नेपाल आयल निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले नयाँ ग्यास उद्योग खोल्न नपाउने निर्णय गरेको छ । उद्योग स्थापनाका लागि उद्योग विभागमा दर्ता हुन अनिवार्य रूपमा आयल निगमको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको निगमका प्रवक्ता मुकुन्द ढुङ्गेलले बताए । ग्यास उद्योग स्थापना भएर पनि उत्पादन नगर्ने उद्योगलाई खारेजी गर्नेसमेत निर्णय भएको उनले बताए । ग्यास बिक्रेतालाई समेत अनिवार्य प्यानमा दर्ता हुनुपर्ने व्यवस्थासमेत निगमले गरेको छ । प्यानमा दर्ता नभई कारोबार गरेको पाइएमा खारेजी गर्नेसम्मको कारबाही हुने निगमले जनाएको छ ।
बजारमा लामोसमयदेखि ग्यास अभाव भएपछि यसलाई व्यवस्थित बनाउन त्यस्तोे निर्णय गरिएको प्रवक्ता ढुङ्गेलले बताए । सँगसँगै बजार अनुगमनमा तीव्रता दिने निर्णयसमेत निगमले गरेको छ ।

प्रतिक्रिया