निर्जीवन बिमा कम्पनीको नाफामा वृद्धि

काठमाडौँ, २८ फागुन । चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बिमा कम्पनीहरूको नाफा करिब ३० प्रतिशतले वृद्धि भएको छ । घरजग्गा कारोबारमा आएको मन्दीका कारण वाणिज्य बैंकको खुद नाफामा गिरावट आएको समयमा निर्जीवन बिमा कम्पनीको नाफामा भने वृद्धि भएको हो ।
६ महिने अवधिमा बिमा समितिबाट अनुमति प्राप्त कुल १४ निर्जीवन बिमा कम्पनीहरूले २६ करोड ३० लाख ९५ हजार रुपियाँ खुद नाफा गरेका छन् । बिमा समितिले नेपालभित्र गुड्ने सम्पूर्ण निजी तथा सार्वजनिक सवारी साधनको तेस्रो पक्ष बिमा अनिवार्य गरेपछि निर्जीवन बिमा कम्पनीहरूको कारोबारमा वृद्धि हुनका साथै नाफामा समेत वृद्धि भएको हो ।
गत आवको सोही अवधिमा निर्जीवन बिमा कम्पनीले २० करोड २६ लाख २८ हजार रुपियाँ खुद मुनाफा गरेको थियो । चालु आर्थिक वर्षको अर्ध वार्षिक वित्तीय विवरणअनुसार कुल १४ निर्जीवन बिमा कम्पनीमध्ये नौ कम्पनीको नाफामा अघिल्लो आवको पहिलो ६ महिनाभन्दा वृद्धि भएको छ भने पाँच कम्पनीको नाफामा अघिल्लो वर्षको भन्दा नाफामा गिरावट आएको छ ।
कुल १४ निर्जीवन बिमा कम्पनीमध्ये चालु आवको ६ महिनामा सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स लिमिटेडले गत आवको भन्दा सबैभन्दा बढी मुनाफा आर्जन गरेको हो । कम्पनीले गत आवको पहिलो ६ महिनामा एक करोड ४८ लाख ४२ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेकामा चालु आवको पहिलो ६ महिनामा सात करोड तीन लाख चार हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको हो  । त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एलियन्स इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आवको पहिलो ६ महिनाको तुलनामा
चालु आवको पहिलो ६ महिनामा खुद मुनाफा वृद्धि गरेका छन् ।
चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार गत आवको भन्दा कम नाफा आर्जन गर्ने कम्पनीमा एनबी इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल, लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स रहेका छन् । हाल लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलाई मोटर बिमाको कारोबार गर्न रोक लगाइएको छ भने एनबी इन्स्योरेन्स कम्पनीमा एनबी समूहको लगानी रहेका कारण समस्यामा रहेको र हाल नयाँ व्यवस्थापनले कम्पनी सञ्चालन गरिरहेको अवस्था छ ।

प्रतिक्रिया