दरबार हत्याकाण्डमा सिआइएको भूमिका

कम्बोडियाका पूर्वराष्ट्राध्यक्ष नरोद्दम सिंहानुकले लेखेको पुस्तक ‘माई स्ट्रगल अगेन्स्ट सिआइए’ पढेपछि सिंहानुकलाई अपदस्त गर्ने खेलको षड्यन्त्र एउटा अस्पतालबाट सिआइएले सुरु गरेको थाहा भएको थियो । त्यहाँ लेखिएको छ, ‘लोन नोल बिरामी भएर अस्पताल भर्ना भएको समयमा केही अमेरिकी पनि बिरामी भएर त्यहाँ भर्ना भएका थिए । तर, ती बिरामीलाई कुनै चोटपटक थिएन । विद्यार्थी पनि लोन नोलले बोलाएको भरमा त्यहाँ जाने गर्दथे र उनले दिएको एक सय डलर लिने गर्थे । पछि त लोन नोल सिआइएद्वारा सञ्चालित हेडक्वार्टरबाट सिआइएको डफ्फासहित सीधै कम्बोडिया आएका थिए ।’ (पृ.२७) । पश्चिमा संसदीय प्रणालीको अन्धो नक्कल कम्बोडियाले सिंहानुकको शासनकालमा गर्न नचाहेको कारण पनि उनले सो पुस्तकमा स्पष्ट पारेका छन् । यो घटनालाई हेर्दा नेपालमा भएको दरबार हत्याकाण्डमा पनि सिआइएले अस्पताल प्रयोग गरेकोे देखिन आउँछ ।
विवेक शाहले ‘नेपाल’ (साप्ताहिक) १५ पुस ०६४ को अङ्कलाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘राजा वीरेन्द्रले केही समयपछि केही कदम चाल्न लागेको अवस्था पनि थियो । किनभने देशको स्थिति धेरै बिग्रेको थियो । (पृ.३२–३३) । त्यस्तो कदम चाल्न नदिन पनि हत्याकाण्ड गराइएको हो कि !’ राजा वीरेन्द्रले चाल्न खोजेको कदम के थियो होला त ? यो कुरा आजसम्म पनि अन्योलमै छ । विवेक शाहले पनि खुलेर भन्न नसकी अर्को आयोग वा छानबिन समिति बनेमा कुरा बाहिर आउने बताउनाको कारण उनलाई पनि त्यो कुराको केही जानकारी भएको हुनुपर्छ । तर, उनले पुस्तकै निकालेर निकै आन्द्र्राभुँडी देखाएका भए पनि वास्तविकतालाई छल्न खोजेको प्रस्ट देखिन्छ । दरबार हत्याकाण्डमा सिआइए र तत्कालीन शाही नेपाली सेनाका केही अधिकारीको संलग्नताको बलियो आशङ्का पैदा हुन गएको छ । यस विषयमा चर्चा गर्दा नेपालस्थित एक कूटनीतिज्ञले एक भेटघाटमा भनेका थिए, ‘सन् २७ फेब्रुअरी २००१ मा चीनमा भएको बाओ मञ्चको सम्मेलनलाई सम्बोधन गरिसकेपछि दरबारभित्र विदेशी एजेन्टको प्रवेश भएको राजा वीरेन्द्र आफैँले जानकारी पाए । यसपछि उनी  आफै माओवादीसँग सहमति र सम्झौतामा अघि बढ्ने र दरबार, सेना, राजनीतिक दलहरूको पुनः संरचनामा जाने घोषणा गर्ने तयारीमा थिए । सोही कुरा थाहा पाएर  त्यसअघि नै उनको हत्या गरियो । उक्त षड्यन्त्रको जानकारी सोहीे दिनको सुरुमा नपाए पनि त्यसको साँझमात्रै भएको एउटा रेकर्डमा उनीमाथि हमला हुने सङ्केत पाइएको थियो ।
राजा वीरेन्द्रलाई त्यसपछि सम्पर्क गर्ने निकै प्रयास गर्दा पनि उनका सचिवले फोन दिएनन् । उनलाई शरण दिएर ल्याउन पनि कुनै कुटनीतिक नियोगले गाडीसमेत पठाएर ल्याउने प्रयास गरेका थिए । उक्त कुटनीतिक नियोगको गाडी जाँदा कहिल्यै नखुल्ने दरबारको उत्तरतर्फको गेट खुला थियो, भित्र गोली चलेको आवाज सुनिएपछि खेल सकिएको ठानेर गाडी रित्तै फर्किएछ । त्यसबेला भक्तपुरमा बन्दै गरेको एउटा अस्पतालको वेलीनाइटिङ्गल नामको परियोजनाको प्राविधिक क्षमता पनि दरबार हत्याकाण्डमा प्रयोग भएको भन्ने पनि कतै रेकर्ड भएको हुनुपर्दछ ।’ सोही अस्पतालको विषयमा गोरखापत्रले पनि के लेखेको छ भने, ‘भक्तपुरमा एक भूकम्प निरोधक भवन बनाउन लागिएको जसमा अमेरिकाको अलास्काको ८४ औँ इन्जिनियरिङ बटालियनको मातहतका ३४ जना सदस्य जोडतोडका साथ काम गर्दछन्् । त्यसमा शाही नेपाली सेनाका ३० इञ्जिनियर कर्मचारी उक्त अस्पताल भवन बनाउन खटेका छन् । लेफ्टिनेन्ट ल्किन करी त्यसको नेतृत्वमा छन् र वेलिनाइटिङ्गल योजनाअनुरूप सो भवन बनिरहेको छ ।’ (२० जेठ २०५८) ।
सरकारीे यो सन्देशसँगै सुविधा सम्पन्न अस्पताल सिआइएद्वारा सञ्चालित वेलिनाइटिङ्गल परियोजनाले भक्तपुरमा बनाउन जोडतोडले काम गरेको भनिए पनि नारायणहिटी पर्वको घटना घटिसकेपछि अस्पताल निर्माणको कार्य पूरा नगरेर अमेरिकीहरू त्यहाँबाट गए र त्यो कार्य पछि नेपालीले नै पूरा गरे । आज सो भवन भक्तपुर अस्पतालको आकस्मिक कक्षको रूपमा रहेको छ । सोही दिन अर्थात् १९ जेठ २०५८ मा तत्कालीन प्रधानसेनापति प्रज्वल शमशेर राणाले उद्घाटन गरेको सो भवन भूकम्प निरोधक भनिए पनि घरको अघिल्तिर दुई स्थानमा अहिले नै पर्खाल चर्किसकेको छ र उत्तरतिरको  घरको पर्खाल पनि चर्किएर चिरिएको देखिन्छ । जबकि पुरानो भक्तपुर अस्पताल जस्ताको तस्तै छ । त्यत्रो प्रचार गरेर बनाइएको भनिएको अस्पताल सामान्य नागरिकको छाप्रोभन्दा पनि नालायक देखिन्छ । राप्रपा नेपालका स्थानीय कार्यकर्ता माधव खत्री आफ्ना पिताले ३४ वर्ष काम गरेको त्यस ठाउँमा अमेरिकीहरूको काम गर्ने तरिका रहस्यमय रहेको अनुभव सुनाउँछन् । उनी दीपेन्द्रको जिउडालसँग मिल्ने विदेशी जवानहरू जे काम गर्दा पनि एकैपटक ५० केजीका सिमेन्टका दुई बोरा उठाउन सक्ने मानिस भएको बताउँछन् । भूकम्प निरोधक भनेर बनाइएको सो भवन अहिले नै भत्किने अवस्थामा देखिनु वा चर्किएर चिरा परेको अवस्थामा देखिनु र दरबार हत्याकाण्डपछि बाँकी निर्माणमा अमेरिकीहरूले चासो नदेखाउनु जस्ता कुरालगायत कूटनीतिक नियोगका व्यक्तिको भनाइलाई समेत हेर्दा दरबार हत्याकाण्डमा सिआइएको करामत देखिन्छ । त्यसबेलाका सेनाका अधिकारीहरू पनि कम्बोडियाका अधिकारीहरू सिआइएको पैसामा बिकेको अनुभूति हुन जान्छ । त्यसकारण सो भवन निर्माण गर्ने योजना नारायणहिटी हत्याकै लागि मात्र त थिएन ? यो प्रश्नको जवाफ सम्बन्धित पक्षबाट आउन जरुरी छ ।
दरबार हत्याकाण्डपछि शाही नेपाली सेनामा ह्वात्तै परेको अमेरिकी प्रभावलाई हेर्दा त्यसलाई गलत भन्ने आधार पनि पाइँदैन । राजाले थाहा पाएको र उठाउन खोजेको कदमले विदेशी स्वार्थ पूरा हुँदैनथ्यो । राजा वीरेन्द्र भने दरबार, सेना, राजनीतिलगायत क्षेत्रमा पनि परिवर्तन गरेर मुलुकलाई निकास दिने र देशभक्तिको मूल्यमा आधारित राजनीतिको विकास गर्ने सोचाइमा पुगेको पाइन्छ ।
यसको सत्यता बारे भक्तपुरमा बन्ने भनिएको अस्पतालका आसपासका केही व्यक्ति त्यो अस्पतालमा ‘दीपेन्द्र बनाउनेबाहेक केही काम भएन’ भनेर प्रतिकात्मक ढङ्गले दरबार हत्याको समयमा नक्कली दीपेन्द्र त्यहाँ तयार पारिएको कुरामा विश्वास गर्छन् । अझै यसको सत्यता मापन हुन जरुरी छ । तथापि, अर्को तथ्य बाहिर नआएसम्म यसलाई सत्य मान्नुपर्ने हुन्छ । यस घटनाले दरबार हत्याकाण्डमा सिआइए तथा शाही सेनाका तत्कालीन अधिकारीको संलग्नता देखिन आउँछ । यी कुरालाई हेर्दा विदेशी प्रलोभन, प्रभाव, स्वार्थसँग तत्कालीन शाही नेपाली सेनाको नेतृत्व पङ्क्तिको स्वार्थ साटिनाको परिणाम दरबार हत्याकाण्ड भएको भन्नुपर्ने हुन्छ ।

प्रतिक्रिया