कालीमाटीका शव अझै जलाइएन

काठमाडौँ, २८ फागुन । कालीमाटीमा भएको आगलागीमा परी ज्यान गुमाएका एकै परिवारका चारजनाको शव नौ दिनसम्म पनि टिचिङ अस्पतालमै छ । सरकारले दिने भनेको राहत रकम अहिलेसम्म नपाएको भन्दै आफन्तले शव बुझ्न नमानेका हुन् ।
प्युठानको बाङ्गेमरोठ–५ का खेमबहादुर पुनमगर आगलागीमा ज्यान गुमाएका दाजु हीराबहादुर पुनमगर र भतिजा–भतिजीको शव बुझ्न काठमाडौँ आएको नौ दिन बितिसकेको छ । तर, शव लैजाने वातावरण बनेको छैन । घरबाट ऋण गरेर ल्याएको १० हजार रुपियाँ सकिएकाले अब के गर्ने भन्ने द्विविधामा रहेको उनले बताए ।
बलाजुस्थित एक गेस्टहाउसमा भेटिएका पुनमगरले भने, ‘मरेको नौ दिन बितिसक्दा पनि दाहसंस्कार गर्न पाएनौँ ।’ उनीसँगै थिए, माहिलो दाजु लोकबहादुर पुनमगर । भारतीय आर्मीमा कार्यरत उनी दाजुको परिवार आगलागीमा परेको खबर पाउनासाथै तीन दिनको रेलयात्रा गरी काठमाडौँ आएका थिए । उनले पनि जम्मा १० हजार रुपियाँ बोकेर आएको बताए । उनले रुँदै भने, ‘खर्च सकिएकाले अब त छाकटार्नसमेत अरूको आश्रय लिनुपर्ने
अवस्था आयो ।’
आगलागी भएको भोलिपल्टै उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले सञ्चारकर्मीसित पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका थिए । प्रधानमन्त्री डा. बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले समेत सार्वजनिक समारोहमा भनेका थिए, ‘पीडित परिवारलाई उचित क्षतिपूर्ति दिइनेछ ।’ तर, उनीहरूको यो घोषणा अहिलेसम्म घोषणामै सीमित छ ।
‘घरमा ७८ वर्षका बुबा छन्, आमा पनि त्यही उमेरकी छन् । दिनमा तीनपटकसम्म फोन गरेर जेठा दाजुको परिवारबारे सोधखोज गर्छन्, के जवाफ दिने ?’ गहभरि आँसु पार्दै लोकबहादुरले भने, ‘सरकारले आशा नदेखाएको भए शवको दाहसंस्कार भइसक्थ्यो ।’
दाङ, तुल्सीपुर कालाखोलाका ५६ वर्षीय पृथ्वी रोकामगर पनि छोरी–ज्वाइँको परिवार नै आगलागीमा परेको थाहा पाएपछि २१ गते दुई छोरीका साथ काठमाडाँै आएका थिए । १० हजार रुपियाँ ऋण काढेर काठमाडाँै हिँडेका थिए, उनीहरू । नौ दिन बितिसक्दा पनि शव अस्पतालमै हुँदा थकित बनेका छन् उनीहरू । उनीसँगै रहेकी माहिली छोरी विमला पुनले आँसु पुछ्दै भनिन्, ‘दिदी–भिनाजुको पीर र घरमा केटाकेटीको बिजोगले अब पागल नै भइएलाजस्तो छ ।’
काठमाडौँ आएदेखि नै तीनैजना बालाजुको एक गेस्टहाउसमा बस्दै आएका छन् । उनीहरूको खर्च सकिसकेको छ । छाउनीस्थित सैनिक अस्पतालमा उपचारार्थ हिक्कमायालाई भेट्न दैनिक गाडी चढ्नुपर्ने हुन्छ । ‘अब त गाडीभाडा तिर्नेसमेत पैसा छैन,’ पृथ्वीले पीडा पोखे ।
यता, कालीमाटी तरकारी व्यवस्थापन समितिले घटना भएको चार दिनपछि पीडित परिवारलाई किरिया खर्चस्वरूप जनही २५ हजार रुपियाँ दिने निर्णय गरेको थियो । तर, त्यो पनि अहिलेसम्म दिइएको छैन । पीडित परिवारले तरकारी बजारको मूलगेटमा विरोधस्वरूप ताल्चा लगाएका थिए । पछि प्रहरीले ताला तोड्यो । विरोध मत्थर पार्दै समितिले राहतबापत पीडित परिवारलाई जनही एक लाख दिने भने पनि
दिइएको छैन ।
गृह मन्त्रालयका प्रवक्ता शङ्कर कोइरालाले भने, ‘प्राकृतिक विपत्तिमा परेकाहरूलाई किरिया खर्चबापत २५ हजार दिने प्रावधान छ, त्यो रकम सिडिओमार्फत जुनबेला पनि उपलब्ध हुन्छ ।’

प्रतिक्रिया