काठमाडौंका पाँच पुल ‘मर्मत गरिहाल्नुपर्ने’

काठमाडौँ, २८ फागुन । काठमाडौँका पाँचवटा पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा छन् । डिभिजन सडक कार्यालयले ती पुल मर्मत गर्न सडक विभाग पुल परियोजनालाई पत्राचारसमेत गरेको छ ।
काठमाडौँको टेकु, गोंगबु, बल्खु, सुविधानगर र तिलगङ्गाको पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेका हुन् । पुल परियोजनाका वरिष्ठ डिभिजन इन्जिनियर राजेन्द्रराज शर्माका अनुसार यल स्ी पुल एक वर्षभित्र मर्मत गर्ने लक्ष्य परियोजनाको छ ।
विष्णुमती खोलाका दुई र बाग्मतीका तीन पुल तत्काल मर्मत गर्नुपर्ने परियोजनाले जानकारी दिएको छ । तत्कालै मर्मत गर्नुपर्ने भए पनि भर्खर अध्ययन गरिँदै छ । मर्मतमा कति रकम लाग्छ भन्ने अध्ययनपछि मात्र थाहा हुने शर्माले बताए । पाँच पुलको जग संरक्षण गर्न आवश्यक रहेको पुल परियोजनाका इन्जिनियरले बताएका छन् ।
प्राविधिकका अनुसार ०३१ सालमा रिङरोड निर्माण गर्दा बनाइएका यी पुलको अवस्था खराब छ । रिङरोडका अन्य पुल पनि मर्मत गर्नुपर्ने अवस्थामै छन् तर  त्यसमा परियोजनाले चासो देखाएको छैन । ‘सवारीसाधनको अत्यधिक चाप रहने रिङरोडमा रहेका पुललाई वास्ता नगर्नु दुर्घटना निम्त्याउनु हो,’ एक प्राविधिकले भने । पुलको अध्ययन गरिरहेका एक इन्जिनियरले धोबीखोला, बाग्मती र विष्णुमतीका अन्य पुल पनि जोखिममा रहेको बताए । केही पुल भत्किने अवस्थामा रहे पनि मर्मतमा चासो नदेखाइएको उनको भनाइ छ । ती इन्जिनियरका अनुसार अधिकांश पुल भासिएका छन् । ‘यसलाई संरक्षण र पुनःनिर्माण नगरे समस्या आउनेछ,’ उनले भने ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानाका अनुसार काठमाडौँमा दैनिक ६ लाखभन्दा बढी सवारीसाधन गुड्छन् । सवारीसाधनको सङ्ख्या बढेको र पुलको क्षमता घटेकाले तुरुन्त पुनःनिर्माण गर्न प्राविधिकको सुझाब छ ।

प्रतिक्रिया