‘बिद्यालय बन्द फिर्ता लिन आयोग आह्वान’

काठमाडौं, २८ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल शिक्षक युनियनसमेतका शिक्षक संघ, संगठनको संलग्नतामा गरिएकोे अनिश्चितकालीन विद्यालय बन्दको घोषणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै बन्दको कार्यक्रम फिर्ता लिन आह्वान गरेको छ ।
आयोगले आज विज्ञप्ती जारी गरेर पटक पटकको विद्यालय बन्दको घोषणाबाट निर्वाध शिक्षा प्राप्त गर्न पाउने बालबालिकाहरुको नैसर्गिक हकको हनन् भएको जनाएको छ । शैक्षिक क्षेत्रमा भएको निरन्तरको बन्द र हड्तालबाट लाखौं विद्यार्थीको शैक्षिक अधिकारमा धक्का लागेको विज्ञप्तीमा उल्लेख छ ।
आयोगले शिक्षक संघ, संगठनको समेत सहभागितामा नेपाल सरकारले जारी गरेको ‘विद्यालय शान्ति क्षेत्र ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८’ को समेत उल्लंघन भएको जनाएको छ ।
शिक्षक समुदायले उठाएको जायज मागलाई वार्ताको माध्यमबाट न्यायसंगत एवम् विवेकपूर्ण ढंगले सम्बोधन गर्न र विद्यालय बन्दको घोषणा तत्काल फिर्ता लिने वातावरण तयार पार्न शिक्षक, नेपाल सरकार एवम् सरोकारवाला निकायहरुसँग आयोग आग्रह गरेको छ ।
नेपाल सरकार र शिक्षक संघ, संगठनको सार्वजनिक अभिव्यक्तिबाट पैदा भएको असहज र तनावपूर्ण वातावरणलाई यथाशक्य छिटो अन्त्य गर्न पनि दुवै पक्षलाई आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया