नेपाली कांग्रेसप्रति मिथ्या शङ्का

प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउने क्रममा  ७० वर्षको अवधिमा नेपाली जनताले ठूलो छलाङ मारेका छन् । यसबीचमा नेपाल अन्धकारपूर्ण जहानियाँ राणाशासनलगायतका सबै प्रकारका चङ्गुलबाट मुक्त भई विकासशील तथा आधुनिकीकरणतर्फ उन्मुख लोकतान्त्रिक अभ्यासमा संलग्न गणराज्य भएको छ । साधारण जनताका छोराछोरीले देशको सर्वोच्च पदको नेतृत्व गरी राष्ट्रलाई अगाडि बढाउने जिम्मेवारी बहन गर्दैछन् । यी युगान्तकारी परिवर्तन र राजनीतिक विकासलाई कम आँक्न मिल्दैन । हो, केही पाश्चात्य र अन्य विकसित मुलुकको विकासको अवस्था र प्रजातन्त्रसँग हाम्रो तुलना गरिहाल्न नमिल्ला । तर, प्रजातान्त्रिक आन्दोलनबाट जे–जति उपलब्धि हासिल भएको छ, यो अत्यन्त महत्वपूर्ण छ । यति महान् उपलब्धिका बाबजुद नेपाली जनताले छानेको राजनीतिक नेतृत्वको असक्षमताका कारण अपेक्षाकृत देशको आर्थिक, सामाजिक र राजनीतिक विकास गर्न असमर्थ भएको छ ।
कुनै पनि खेलमा खेल नियमको जति महत्व छ, लोकतान्त्रिक राजनीतिमा विधि, नीति र नियमको पनि उत्तिकै महत्व रहेको हुन्छ । दुर्भाग्यको कुरा के हो भने, नेपालको राजनीतिक इतिहासमा विधिको शासन किताबमा बढी सीमित भएको छ । संविधान कागजको साधारण खोस्टाभन्दा बढी हुन नसकेको आलोे इतिहास यसको ज्वलन्त उदाहरण हो । संविधान लेख्ने, विरोध गर्ने अनि फेरि अर्को संविधान लेख्न खोज्ने परम्परा र प्रचलन नै कायम भएको छ । यस्तो परम्पराले संविधानको सर्वोपरि महत्व, त्यही विधिभित्र बस्नुपर्ने गाम्भीर्य र विधिको शासनको नेतृत्व निर्माणको प्रक्रियामा अत्यन्त अप्ठ्यारो पारेको छ । यसले गर्दा पारिवारिक, नातावाद र सामन्तवादी सोचको विकास हुँदै यही प्रवृत्तिले प्राथमिकता पाउँदै आएको छ । यसले दण्डहीनतालाई स्थापित गर्ने काम भएको छ जसका कारण आर्थिक भ्रष्टाचार मात्र होइन राजनीतिक भ्रष्टाचारको अखडा सिर्जना हुन पुगेको छ । फलस्वरूप देशको नेतृत्व नै समयानुकूल अघि बढ्न नसक्ने असक्षमहरूको झुन्ड साबित हुन पुगी देश अकल्पनीय हिंसामा फस्यो । हजारौँ नेपालीले अनाहकमा ज्यान गुमाउनु, अपाङ्ग बन्नु, विस्थापित हुनु सामान्यजस्तो भइसकेको छ । यस राजनीतिक परिदृश्यले नेपाली जनताले तत्कालीन राजनीतिक नेतृत्वप्रति प्रत्यक्ष अप्रत्यक्ष रूपमा गम्भीर गुनासो प्रकट गर्दै आइरहेका छन् र यो इतिहासको पानामा सधैँ रहिरहनेछ । विगतमा नेपाली राजनीतिज्ञहरू अन्वेषणमूलक, उत्तरदायित्व बहन गर्ने, लचकदार, पारदर्शी, समर्पित, प्रतिबद्ध, इमानदार र स्वच्छ भइदिएको भए नेपाल यति धेरै रगतको आहालमा डुब्ने थिएन । हजारौँहजार नेपाल आमाका वीर सपूतले अनाहकमै जीवन गुमाउनुपर्ने थिएन । नीतिविहीन नेतृत्व जनताभन्दा टाढा रहेकाले नै जनता गरिबी, अशिक्षा र अभावमा छट्पटाउन थाले, जसले गर्दा हिंसात्मक विद्रोहहरू मौलाउने अवसर पाए ।
आजको पहिलो चुनौती एउटा पूर्ण लोकतान्त्रिक र जनकेन्द्रित संविधान निर्माण गर्नु मात्र होइन, उक्त संविधानलाई एउटा सर्वोच्च प्रश्नहीन विधिव्यवस्थाका रूपमा दीर्घकालीन युगसम्म स्थापित गर्नु पनि हो र त्यो काम सम्पन्न गर्न सक्ने क्षमतावान् नेतृत्वको निर्माण गर्नु हो । नेपाली राजनीतिमा स्थिरता र देश निर्माणका निम्ति पर्याप्त सम्भावना र प्रशस्त चुनौती देखापरेका छन् । समकालीन नेपाली राजनीतिलाई नियाल्दा यो कुरा झनै उजागर हुन पुग्छ ।
नेपाली नेतृत्वले आफू र आफ्नो पार्टीलाई मात्र केन्द्रविन्दु नबनाई सामूहिक राष्ट्रिय स्वार्थमा सहमति गरेर देशलाई हिंसाबाट मुक्ति नदिलाएको पनि होइन । नयाँदिल्लीमा गरिएको १२ बुँदे समझदारी र प्रधानमन्त्री निवास बालुवाटारमा गरिएका विस्तृत शान्ति सम्झौता, संविधानसभाको तिथि निर्धारणदेखि गणतन्त्र घोषणा र संविधानसभाको निर्वाचनसम्मका साझा दस्तावेज हामी सबैसामु ताजै छन् । यस अर्थमा नेपाली राजनीतिक नेतृत्वले देखाएका यी सुझबुझपूर्ण व्यवहार र कौशलता हुँदाहुँदै पनि फेरि अहिले किन राजनीतिक अराजकता र अन्योलको कालो बादल मडारिँदो छ ? नेपालका राजनीतिक पार्टी र नेतृत्व वर्ग व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेका बखत जस्तासुकै समस्या पनि समाधान गर्न सफल भएको इतिहास साक्षी छ । बिडम्बना, इतिहासका ती सफलताबाट पाठ सिक्नाको साटो हाम्रो नेतृत्व वर्ग व्यक्तिगत र पार्टीगत स्वार्थमा रुमल्लिएर नेपाली जनतालाई दुर्भाग्य र दुर्दिनतर्फ डो¥याउनतर्फ लागे । अर्कातिर नेपालका केही वामपन्थीलाई सिकाइएको कांग्रेसविरोधी शिक्षाले पनि राजनीतिक विकास र लोकतान्त्रीकीकरणका लागि बाधकका रूपमा काम गरेको छ । जसका कारण विगतमा गरिएका तमाम सम्झौता र सहमतिहरू कार्यान्वयनको चरण धरापमा परेको देखिन्छ, यो नयाँ संविधान निर्माण गर्न नकारात्मक सन्देशको सूचक हुन सक्छ ।
कांग्रेसको महत्वपूर्ण पक्ष
नेपालको प्रजातान्त्रिक इतिहासलाई नियाल्दा कांग्रेस सदैव प्रजातान्त्रिक आन्दोलनको पर्यायवाची रहिआएको छ । विगतमा जसरी कांग्रेसले जनआन्दोलनहरूको व्यवस्थापन गर्न सकेको छ, त्यसका उपलब्धिलाई कति व्यवस्थापन गर्न सक्यो त्योचाहिँ इतिहासको मूल्याङ्कनको विषय हो । वास्तवमा कांग्रेस स्वयम् आन्दोलन भन्दा फरक नपर्ला । आन्दोलन कांग्रेसको मौलिक पहिचान पनि हो । यसले आन्दोलनको निरन्तर नेतृत्व गर्दै आएकाले नै कांग्रेससँग असहमत पार्टीहरूलाई पनि कहिले छुट्टाछुट्टै त कहिले साथसाथै लिएर आन्दोलनको वातावरण निर्माण र नेतृत्व कांग्रेसले गर्न सकेको हो । यसको ज्वलन्त उदाहरणका रूपमा ०४६ र ०६२ ६३ सालको जनआन्दोलनलाई लिन सकिन्छ । कांग्रेसले राष्ट्रिय आन्दोलन मात्र होइन, यसका नेताहरूले भारत र बङ्गलादेशको स्वतन्त्रताको आन्दोलनमा समेत महत्वपूर्ण भूमिका निभाएको बिर्सन सकिँदैन ।
कांग्रेस यस मुलुकको ऐतिहासिक जिम्मेवारी बोकेको पार्टी मात्र होइन, यो त राजनीतिक एवम् सामाजिक नेतृत्व निर्माणको पाठशाला पनि हो । नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलाल श्रेष्ठ, पञ्चायती व्यवस्था सञ्चालक तुलसी गिरी, विश्वबन्धु थापादेखि अहिले तराईको नाममा खोलिएका पार्टीका नेताहरू महन्थ ठाकुर, विजय गच्छदार, जयप्रकाश गुप्ता लगायत सयौँ नेताहरू कांग्रेसकै विगतका आन्दोलनका उपज थिए । साथै कांग्रेसले विगतमा सञ्चालन गरेका जसको जोत उसको पोत, जङ्गलको राष्ट्रियकरण, बिर्ता उन्मूलन, राजारजौटा उन्मूलन, छुवाछुत र सामन्ती प्रथा र भू–स्वामित्व अन्त्यजस्ता क्रान्तिकारी कार्यक्रमको सुरुआत कांग्रेसी नेतृत्वको पहिचान थियो । कांग्रेसका कतिपय नेताकोे त्याग, तपस्या र सुझबुझपूर्ण दृष्टिकोणका कारण नेपालका तमाम तरुण युवा उनीहरूप्रति आकर्षित भएका हुन्। आफ्नो विचारधाराबाट आकर्षित, समर्थित र प्रशिक्षित जनशक्तिलाई कांग्रेसले कति उपयोग र संरक्षण गर्न सक्यो वा सकेन र कुन प्रवृत्तिका मानिसलाई अवसरमाथि अवसर दिइयो, त्यसबारेमा इतिहासले विश्लेषण र मूल्याङ्कन गर्ने नै छ । कांग्रेस एउटा कालखण्डमा जब कमजोर र असान्दर्भिक भयो भन्ने यसका शुभेच्छुक अथवा एउटा नेपालीले यो कहाँनिर चुक्यो भनी मूल्याङ्कन त अवश्य गर्नेछन् र त्यसमा यी सबै विषयको उजागर अवश्य हुनेछ ।
विकास निर्माणतिर हेर्ने हो भने २०४६ सालको आन्दोलनपछि विभिन्न क्षेत्रमा भएका विकासका उपलब्धि खासगरी शिक्षा, खानेपानी, स्वास्थ्य, बाटोघाटो, सञ्चार, पत्रकारितालगायत आधुनिक नेपाललाई आवश्यकता पर्ने विकासका पूर्वाधारको जग कांग्रेसकै सरकारले बनाएको हो भनी ठोकुवा गर्न सकिन्छ ।
नेपालको राजनीतिक सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै दृष्टिकोणले हेर्दा कांग्रेस मध्यमार्गी पार्टीमात्र नभई सहमति र समन्वयको थलो पनि हो । त्यसैकारण नेपालमा गरिएका आन्दोलन, व्यवस्थापन र सरकार सञ्चालनमा गरिएका सामूहिक प्रयास र नेतृत्व यसका उदाहरण हुन् ।

प्रतिक्रिया