सन् १९६४ को अगस्टमा छात्रवृत्ति कोटामा मैले रूसमा चिकित्साविज्ञान अध्ययन गर्ने मौका पाएँ । आदर्श नेता ठानेको लेनिनको देशमा पढ्न पाउनु मेरा लागि सौभाग्य थियो । रूसको राजधानी मस्कोमा मैले तीन वर्ष अध्ययन गरेँ । त्यहाँको बन्द, निगरानीपूर्ण र कठोर अनुशासनमा रहेको समाजमा मैले ‘कम्फर्टेबल’ महसुस गर्न सकिनँ । मैले रूस छाड्ने निधो गरेँ । छात्रवृत्तिको पढाइ बीचैमा छाडेर हिँड्नु मेरा लागि पीडादायक थियो । शिक्षकहरू सबै मलाई असाध्यै माया गर्थे । मैले पश्चिम जर्मनी अथवा पश्चिम युरोपको कुनै राष्ट्रमा छात्रवृत्ति खोज्ने सोच बनाएँ र मस्को छाडेँ । त्योभन्दा पहिले मैले आफ्नो देश फर्किनु थियो । हवाई मार्गबाट घर फर्किन मसँग पर्याप्त पैसा थिएन । त्यसैले ‘ल्यान्डरुट’ हुँदै फर्किने निर्णयमा पुगँे । मस्कोबाट पूर्वी बर्लिन, पश्चिम बर्लिन हुँदै म जर्मनीको हम्बर्ग सहर पुगेँ । त्यहाँ मेरो सुटकेस हरायो । मैले पूर्वी जर्मनीमा रहेको नेपाली दूतावासमा सम्पर्क गरँे, आवश्यक सहयोगका लागि । त्यसबेला सरदार भीमबहादुर पाँडे जर्मनीका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । केदारभक्त श्रेष्ठ दूतावासका द्वितीय सचिव हुनुहुन्थ्यो । उहाँले मलाई सँगै खाना खाने निमन्त्रणा दिनुभयो ।
पढाइ छोडेर फर्किनाको कारण सुनेपछि सरदार पाँडेले मलाई पश्चिम जर्मनीमै काम गर्दै फुर्सदको समयमा पढ्ने सल्लाह दिनुभयो । उहाँले जर्मनीमा रहेका अल्फ्रेड फन क्रुप्स भन्ने व्यक्तिको हातहतियार कारखानामा काम लगाइदिने आश्वासन पनि दिनुभयो । त्यतिबेला करिब १० लाख विदेशी पश्चिम जर्मनीमा काम गर्थे । शीतयुद्ध उत्कर्षमा थियो । उहाँको प्रस्ताव आकर्षक थियो । राजदूत स्वयम्ले काम लगाइदिने आश्वासन दिएकाले मैले जागिर पाउने पक्का थियो । तर, मैले उहाँको प्रस्ताव अस्वीकार गरेँ ।
त्यहाँबाट जर्मनीकै म्युनिक र अस्ट्रियाको साल्जबर्ग हुँदै म युगोस्लाभिया पुगेँ । त्यहाँ मेरा मित्र पद्म चित्रकार बस्नुहुन्थ्यो । १२ दिन उहाँकामा बसँे । त्यतिबेला युगोस्लाभिया टुक्रेको थिएन । असाध्यै राम्रो थियो, शान्त । त्यहीँ बसेर अध्ययन गरौँ कि जस्तो लाग्यो । तर, बस्ने निर्णय गर्न सकिनँ । त्यहाँबाट म टर्कीतिर लागँे र इस्तानबुल सहरमा पुगेँ । इस्तानबुल एसिया र युरोपको बीचमा पर्छ । इस्तानबुलबाट टर्कीकै अर्को सहर अंकारा आइपुगेँ । त्यहाँबाट मैले इरान जानु थियो । तर, त्यतिबेला अंकाराबाट इरान जाने ट्रेन पाइँदैनथ्यो । कसरी अगाडि बढ्ने भन्ने सोचेर म अलमलमा परेँ । त्यतिकैमा दुईजना इरानी म भए ठाउँ आए । उनीहरूले मलाई ‘तपाईंलाई इरानको तेब्रिज सहरसम्म कारमा पु¥याइदिन्छौँ’ भने । म खुसी भएँ । म चढ्ने कार उनीहरूले मेरै नाममा पास गरिदिए । पछि पो थाहा पाएँ, ती इरानीहरू त तस्कर रहेछन् !
म तेब्रिज सहर आइपुगेँ । त्यहाँ दुई दिन बसेँ । त्यतिबेला तेब्रिजमा इरानका शाहको ठूलो मूर्ति थियो । तेब्रिजमै हो, मैले पहिलोपटक नान खाएको । त्यहाँको नान नाङ्लोजत्रो हुँदो रै’छ । मैले आधामात्रै खान सकेँ । तेब्रिजबाट राजधानी तेहरान हुँदै म स्फहान सहर पुगेँ । त्यहाँबाट यज्द सहर । यज्द पाकिस्तानको सीमाना नजिकै पर्छ । त्यसपछि पाकिस्तान प्रवेश गरेँ । सिमा छेवैमा रेलवे स्टेसन थिएन । क्वेटा एक्प्रेस भने चल्दो रै’छ, तर सातामा एक पटक मात्र । त्यसैले बसबाट बलुचिस्तान प्रान्तको राजधानी क्वेटा आइपुगेँ । क्वेटा साह्रै राम्रो लाग्यो । नेपालीहरू पनि बस्दारहेछन् । दोस्रो विश्वयुद्धताका बेलायतका तर्फबाट लड्ने क्रममा नेपाली सैनिकहरू त्यहाँसम्म पुगेका रहेछन् ।
क्वेटाको अर्को अविस्मरणीय घटना छ । त्यहाँ मेरो चस्माको सिसा फुट्यो । चस्मा बनाउन म एउटा चस्मा दोकान गएँ । ती पसलेले चस्मा बनाइदिएपछि सोधे ‘तपाईं कुन देशको नागरिक हो ।’
‘म नेपाली हुँ’, मैले भनेँ । ‘त्यसो भए म तपाईंसँग चस्मा मर्मत गरेको पैसा लिन्नँ,’ उसले भन्यो । उसैले मलाई सुनायो कि त्यहाँ केही समयअघि राजा महेन्द्रले भ्रमण गरेका रहेछन् । उनको भ्रमणबाट अनुग्रहित भएकाले चस्मा बनाएको शुल्क नलिने निधो आफूले गरेको उसले सुनायो । क्वेटाबाट म लाहोरतिर हिँडेँ । सन् १९६५ मा भारत र पाकिस्तानबीच भएको लडाइँको धङधङी पाकिस्तानमा अझै बाँकी थियो । युद्धका कारण पाकिस्तानी नागरिकमाझ धार्मिकता र राष्ट्रियताको भावना जुर्मुराएको थियो । क्वेटाबाट लाहोर आउने क्रममा बाटामा भएका दुइवटा घटना म अझै सम्झिन्छु । लाहोर जान गाडीमा चढेपछि कन्डक्टरले मसँग भने, ‘तपाईं हिन्दू हो ? यदि हो भने तपाईंलाई म गाडीमा चढाउँदिन ।’ भारतमा बहुसङ्ख्यक हिन्दू भएकाले पाकिस्तानी जनतामाझ हिन्दू धर्मप्रति नै वैरभाव थियो । मैले भनँे, ‘म बुद्ध जन्मेको देशको नागरिक हुँ ।’ बुद्धको देशबाट आएको भनेपछि मलाई लाहोरसम्म ल्याउन ऊ सहमत भयो ।
हामी लाहोर आइपुग्न लागेका थियौँ । छेउमा बसेको ९–१० वर्षको फुच्चेले कुराकानीका क्रममा भारत–पाकिस्तान युद्धको प्रसङ्ग कोट्याउँदै मसँग भन्यो, ‘जनाव, हम लोग तो दिल्ली जितचुके थे ।’ तर, यथार्थ अर्कै थियो । युद्धमा पाकिस्तानमाथि उल्टै भारत हाबी भएको थियो । तर, त्यो फुच्चेले मसँग ‘हामीले भारतलाई जितिसकेका थियौँ’ भनेर फूर्ति लगाइरहेको थियो । उसको फूर्ति पाकिस्तानी जनताको राष्ट्रिय चेतना र राष्ट्रियताप्रतिको उनीहरूको अगाध प्रेमको उदाहरण मात्रै थियो ।
लाहोरबाट बाघा सीमाबिन्दु हुँदै भारत प्रवेश गरेँ । बाघा सीमा कटेपछि पञ्जाब (भारत)को फिरोजपुर सहर आउँछ । सीमाबिन्दुबाट फिरोजपुरमा रहेको रेलवे स्टेसन पुग्न रिक्सामा चढ्नुपथ्र्यो । मसँग भएको पैसा सकिन लागेको थियो । तर पनि एउटा रिक्सा समातेँ र रेलवे स्टेसनतिर हान्निएँ । बाटामा रिक्सावालले हिन्दीमा मसँग सोध्यो, ‘बाबुजी, कहाँ से आ रहे हो ?’ रिक्सावाललाई भूगोलको के जानकारी होला र भन्ने सोची मैले भनेँ, ‘मे तो बहुत दूर से आ रहा हुँ ।’ उसले रूस अथवा मस्को भनेको बुझ्दैन भन्ने मलाई लागेको थियो ।
तर, मेरो उत्तरबाट ऊ सन्तुष्ट भएन । फेरि सोध्यो, ‘किस जगह से आ रहे हो ?’ उसले जिद्दी गरेपछि मैले भनेँ, ‘मे सोभियत सङ्घके राजधानी मस्कोसे आ रहा हुँ ।’ ‘कति दिन भयो त्यहाँबाट हिँडेको ?’ उसले पुनः सोध्यो । ‘डेढ महिनाभन्दा बढी भयो’, मैले भनँे । ‘त्यसो भए म तपाईंलाई सिँत्तैमा रेलवेस्टेसन पु¥याइदिन्छु ।’ त्यो गरिबको यस्तो उदार भनाइले मेरो मन छोएको थियो । त्यही घटनाले मलाई गरिबप्रति ज्यादै संवेदनशील बनाएको हो । भारत, पाकिस्तान अथवा अन्य जुनसुकै ठाउँको भए पनि गरिबको मन कमलो हुन्छ । जति गरिब भयो, मानिसको मन उति नै कमलो बन्छ । फिरोजपुरको रिक्सावाल र क्वेटाको चस्मा पसलेले मसँग गरेको व्यवहार मेरो जीवनकै अविस्मरणीय क्षण हुन् ।
फिरोजपुर रेलवेस्टेसनबाट म दिल्ली रवाना भएँ । दिल्लीको मौलाना आजाद मेडिकल कलेजमा मेरा मित्र कमलदेव पाठक पढ्नुहुन्थ्यो । उहाँकोमा म दुई दिन बसेँ । उहाँले नै दिल्लीदेखि रक्सौलसम्मको टिकटको व्यवस्था गरिदिनुभयो । रक्सौलबाट वीरगन्ज हुँदै म चितवन आइपुगेँ । त्यतिबेलासम्म म मस्कोबाट हिँडेको अढाई महिना पूरा भइसकेको थियो । अढाई महिनाको यात्राले मलाई थकित बनाएको भए पनि त्यस अवधिमा विभन्न मुलुक र त्यहाँका बासिन्दासँग भेटघाट गर्न पाएकामा मलाई रमाइलो लागेको थियो ।
प्रस्तुतिः सुजित मैनाली
प्रतिक्रिया