मेरा तीन प्रेमिकाहरू

कम्युनिस्ट आन्दोलनमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह जति सम्मानित छन् उत्तिकै आलोचित पनि । आलोचकले राजनीतिकभन्दा पनि व्यक्तिगत कमजोरीमाथि बढी प्रहार गर्ने गरेका छन् उनीमाथि । त्यो हो, ‘यौन र प्रेम’ । यौन र प्रेमको मामलामा उनले आलोचना मात्रै खेप्नुपरेन दुई वर्षसम्म महामन्त्री पदसमेत गमाउनु परेको थियो । पार्टीको सम्मेलनले हालका श्रीमती दुर्गासगको विवाह गलत हो भने पछि उनले महामन्त्री पदबाट राजीनामै दिएका थिए । एक साताअघि भक्तपुर ठिमीको एक होटलमा महामन्त्री सिंह आफ्नो प्रेम जीवनबारे यसरी खुलेः

प्रेम गर्छु भनेरै प्रेमको सुरुवात गरिँदैन । कतिखेर प्रेम बस्छ ? भन्नै सकिँदैन । अन्जानमै बस्छ प्रेम । मेरो हकमा पनि त्यही लागु भयो । कसैसँग प्रेम पर्नुअघि मेरो मागी विवाह भइसकेको थियो । नौ वर्ष जेल बसाइपछि ०२९ सालमा म जेलबाट जब छुटेँ, त्यतिबेला म ३८ वर्षको थिएँ । त्यसको एक वर्ष नबित्दै प्युठानकी शान्ता केसीसँग विवाह भयो । रोजाइले होइन बाध्यताले । तर, त्यो केवल विवाह थियो, प्रेम होइन । विवाह हुनुअघि शान्तालाई एकपटक उनकै माइतीमा मात्र देखेको थिएँ । त्यहीबेला मैले नियालेर हेरेको थिएँ उनलाई । विवाह गर्नुपर्ने चर्को दबाब, एक्लो जीवन अनि ढल्कँदो उमेर । यी बाध्यताले विवाहका लागि मन्जुरी दिएँ ।
मान्छेको जीवनमा अनेक उतारचढाव आउँछन्, मेरामा पनि त्यस्तै भयो । विवाहको तीन वर्ष नपुग्दै दाम्पत्य जीवनमा टकराव सुरु भयो । एकअर्काबीच कुरा मिल्नै छाड्यो । कसका कारणले यस्तो भयो, त्यता जान्नँ म । कुरा यति हो, ‘पति पत्नीबीचको विचार नमिलेपछि त्यो सम्बन्ध विच्छेदको अवस्थामा पुग्छ, मेरो पनि भएको त्यस्तै हो ।’ केही गरे पनि सम्बन्ध सुध्रने सम्भावना नदेखेपछि विच्छेदका लागि ०३५ सालतिर पार्टीमा निवेदन गरेँ । तत्कालै पार्टीले सम्बन्ध विच्छेद गराइदिएन । लामो अध्ययन र अनुसन्धानपछि ०४२ सालमा पार्टीले नै औपचारिक सम्बन्ध विच्छेद गरायो । सम्बन्ध विच्छेद हुनुअघि शान्ताबाट दुईवटा सन्तान भइसकेका थिए । सम्बन्ध विच्छेदपछि दुवै सन्तान शान्ताले नै राखिन् । विवाहको केही वर्षपछि टकराव सुरु भएकाले शान्तासँग खासै रमाइलो क्षण रहेन । जति भए ती सकारात्मकभन्दा बढी नकारात्मक मात्रै । उनीसँगको खटपटले म सधैँ तनावमा हुन्थेँ । सङ्गठनका कामले सधैँ बाहिर हिँड्नुपर्ने । भूमिगत जीवनमा रहेकाले कतिखेर कहाँ रहन्छु आफैँलाई जानकारी हुँदैनथ्यो । तर, तनावचाहिँ उही परिवारको ।
प्रशिक्षणकै सिलसिलामा ०३४ सालमा जलजला (विद्या ढकाल, जसको दुर्घटनामा मृत्यु भयो)सँग भारतको बनारसमा भेट भयो । त्यतिबेला ४३ वर्षको थिएँ म । चितवन तोरीबारीकी जलजला विद्यार्थी सङ्गठनबाट प्रशिक्षणमा सहभागी थिइन् । त्यसअघि नै उनका बारेमा सामान्य जानकारी लिएको थिएँ मैले । तर, प्रत्यक्ष चिनजान भने थिएन । त्यसपछिका दिनमा जलजलाले प्रशिक्षण तथा सङ्गठन विस्तारका कार्यक्रममा सक्रिय सहभागिता जनाउन थालिन् । हाम्रो भेट पनि बाक्लै हुन थाल्यो । पटकपटकको भेटघाटपछि हाम्रो अनायासै प्रेम बस्न पुग्यो ।
उनीप्रति म आकर्षित भएँ या उनी मप्रति ! त्यो थाहा भएन । तर, भेट भएको केही महिनापछि एक अर्कालाई मन पराउन थालेछौँ । उनको रूप तथा प्रस्तुति निकै आकर्षक थियो । जति नै बयान गरे पनि पुग्दैन । फेरि अब बयान गर्नुको कुनै अर्थ पनि छैन । कुरा यति हो, उनका सबै गुणसँगै पार्टीप्रतिको लगाब, सक्रियता, इमानदारीलाई म निकै प्रशंसा गर्थेँ । उनीसँग बिताएका प्रत्येक क्षण सम्झन योग्य छन् । भुल्न सक्दिनँ म । सङ्गठनका कामले नेपालका धेरै जिल्ला सँगै घुमेका थियौँ । प्रायः प्रशिक्षणमा सँगै सहभागी हुन्थ्यौँ । बनारसमा उनको र मेरो कोठा नजिक थियो । हाम्रो जतिबेला पनि भेट हुन्थ्यो । राजनीतिक चापबाट केही फुर्सद हुनेबित्तिकै विश्रामका लागि कतै न कतै जान्थ्यौैँ । घुम्न गएको बेला प्रेम र राजनीतिक जीवनका कुरा हुन्थे । बनारसको गङ्गाघाट निकै प्रसिद्ध स्थल हो । जहाँ विभिन्न स्थानबाट मानिस आउँछन् र त्यहाँ हामी पनि सँगै जान्थ्यौँ । निकै लामो समय डुङ्गामा सयर गथ्र्यौँ । र, दैनिक थकान मेटाउने कोसिस गथ्र्यौँ । रेस्टुरेन्ट अर्को सङ्गमस्थल थियो हाम्रो । रेस्टुरेन्टमा पनि समय बिताउँथ्यौँ । उनीसँगको थोरै भेटमा पनि घनिष्ट संवाद हुन्थ्यो । उनीसँग रहँदा समय बितेको पत्तो हँुदैनथ्यो । मेरा हरेक कुराको हेक्का राख्थिन् र मलाई सम्झाउँथिन् उनी । एकअर्कालाई औधी माया गर्ने भएकाले कतै घुम्न जाँदा कसरी जान्थ्यौँ, के गथ्र्यौँ भन्नेतिर जान चाहन्नँ । त्यो मानिसको निजी कुरा हो ।
हामी दुवैले एक अर्काको इच्छा पूरा गर्न कुनै कसर बाँकी राख्दैनथ्यौँ । एकअर्काबीचका हरेक समस्या आफ्नै ठानेर हल गरिन्थ्यो । उनले मेरो आवश्यकता र इच्छा पूरा गर्थिन् भने म उनको । कहिलेकाहीँ लाग्थ्यो, हामी एकअर्काबिना रहनै सक्दैनौँ । प्रत्येक दिन ‘सेब’ गर्न लगाउँथिन् । एक दिन ‘सेब’ नगरे आज तपाईंले ‘सेब’ किन नगरेको भन्दै पानी, ऐना र सेफ्टी रेजर ल्याएर दिन्थिन् । म पनि उनको भनाइलाई समर्थन जनाउँदै ‘सेब’ गर्थेँ । उनीसँगको भेट घनिष्टतामा प्रवेश गरिरहेको थियो । यो सम्बन्धलाई विवाहमा परिणत गर्ने सोचाइ बनाउँदै थियौँ । तर, त्यो सपना पूरा हुन सकेन । हामीबीचको चार वर्षे अतीतलाई छाड्दै उनी ०३८ सालमा परलोक भइन् । सङ्गठनको कामले दिल्ली पुगेको चार दिनमै बसको ठक्करबाट उनको मृत्यु भयो । त्यतिबेला म भारतकै जयनगर गएको थिएँ । उनको मृत्यु भएको दुःखद् खबर बाबुराम भट्टराई (हाल प्रधानमन्त्री)ले तार (टेलिफोन)मार्फत सुनाए । त्यतिबेला बाबुराम दिल्लीमा थिए । तर, मैले पत्याउन सकिनँ । फेरि, नपत्याउँ पनि कसरी ? बाबुराम जस्ता जिम्मेवार व्यक्तिले भनेको कुरा । त्यो खबर सुन्नेबित्तिकै मेरो सबै सुद्धि हरायो, कुहिरोको काग जस्तो भएछु, एक छिन त बोल्न पनि सकिनँ । चारैतिर अन्धकार मात्र देखेँ । जीवनका सबै कुरा समाप्त भयो जस्तो लाग्यो । त्यही पीडा र स्मरणलाई सम्झँदै एउटा उपन्यास लख्दै छु । उपन्यासमा समावेश पाँच खण्डमध्ये चार खण्ड पूरा पनि गरिसकेको छु ।
जीवनबाट सदाका लागि सूर्य अस्ताएको जस्तो भान भएको थियो त्यतिबेला । जलजलाको मृत शरीरलाई भेट्न म केही नसोची सिधै दिल्ली गएँ र उनको अन्त्येष्टि गरी सदाका लागि दिल्लीमै छाडेर सम्झना मात्र बोकी गोरखपुर फर्केँ ।
यात्राका क्रममा अघि–पछि अनेक युवती देखिन्थे । मेरा आँखा तिनै युवतीको चेहरामा गएर अडिन्थे । ती चेहराबाट जलजलाको अनुहार खोज्न थाल्थेँ । तर, कसैमा फेला पार्न सक्दिनथेँ । अनि, हरेक आशा निराशामा बदलिन्थ्यो । म जलजलाकै सुन्दर चेहरा सम्झेर बेलाबेला भक्कानिन्थेँ । उनीसँगको हरपल सम्झँदै आफूलाई अभागी भएको ठान्थेँ ।
जलजलाको मृत्युपछि धेरै दिन सुत्न सकिनँ, प्रत्येक क्षण उनकै याद आउँथ्यो । म पार्टीको जिम्मेवार व्यक्ति भए पनि त्यतिबेला जलजलाको यादले पार्टीका काममा खासै ध्यान दिन सकेको थिइनँ । कार्यक्रममा जाँदा होस् या कुनै रेस्टुरेन्ट वा घरमा खाना खाँदा, उनकै यादले सताइरहन्थ्यो । यस्तै गरी पाँच सात वर्ष बिताएँ । तर, एक दिन पार्टीकै प्रशिक्षण कार्यक्रममा हालकी श्रीमती दुर्गासँग ०४५ सालमा भेट भयो । तर, सुरुमा म जलजलाप्रति जसरी आकर्षित भएको थिएँ, दुर्गासँग त्यति भइनँ ।
सङ्गठन विस्तारको सिलसिलामा दुर्गासँग विभिन्न कार्यक्रममा एकसाथ सहभागी भइयो । विस्तारैविस्तारै उनको प्रभाव ममा पर्न थाल्यो । विस्तारै उनलाई जलजलाको रूपमा देख्न थालेँ । र, ०४७, ०४८ सालपछि हामी धेरै नजिक हुन थाल्यौँ । उनको प्रश्न गर्ने तरिका, काम गर्ने शैली, कामप्रतिको उत्साह जस्ता कारणले निकै प्रभाव पार्‍ यो । त्यतिबेला दुर्गाको व्यवहार, शैली, प्रस्तुति जलजलाको जस्तै पाउन थालेँ । र, मनमनै सोच्दथेँ कतै यिनै त जलजला होइनन् ? पार्टी तथा व्यक्तिगत कामका सिलसिलामा दुर्गा र म धेरैपटक विभिन्न स्थानमा घुमेका छौँ । उनीसँग घुम्दा पनि यस्तो लाग्थ्यो, ‘म जलजलासँगै घुमिरहेको छु ।’ हाम्रो भेट सङ्गठनको कामकै सिलसिलामा हुन्थ्यो ।
हामी भारतको कुमाउ, गढवाललगायत स्थानमा पनि घुम्न जान्थ्यौँ । तिनै भेटले हामी एकअर्काप्रति बढी आकर्षित भएछौँ । ०५१ तिर विवाह गर्ने सोच कताकता पलाउन थाल्यो । एकले अर्कासँग विवाहको प्रस्ताव राखेका थिएनौँ । सम्बन्धले घनिष्ट रूप लिँदै जान लागेको पार्टीमा सामान्य हल्ला पनि चल्यो । साथी नवराज सुवेदीले ०५६ सालमा पार्टी बैठकमा हाम्रो विवाहको प्रस्ताव गर्नुभयो । हामीले पनि स्विकार्‍ यौँ र सामान्य विवाह भयो काठमाडौँस्थित पुरानो बानेश्वरमा रहेको सानिआमाको कोठामा । विवाहको रात सानिमाको कोठामा बस्यौँ र भोलिपल्ट त्यहाँबाट हामी अर्को कोठामा सरेका थियौँ ।’
प्रस्तुतिः रामहरि पाण्डे

प्रतिक्रिया