माझ किरातमा साकेन्वाको रन्को

वि.सं. ६०६ । खोटाङको डम्बर्खु गाउँ । सुरो शिकारी हाङ्खिम बँदेलको पिछा गर्दै बोङ्वा खोला किनारमा दौडिरहेछ । बँदेल यस्तो दौडिरहेछ कि तीस कोस उत्तर मैयुङ लेक पुगिसकेको छ । मैयुङमा जब हाङ्खिमले हानेको बाण बँदेलको गर्दनमा भासिन्छ तब शिकार अन्डामा र अन्डा शिलामा परिणत हुन्छ । यही शिला नाम्नु बिजुवाको सपनामा किराती माङ अर्थात् देवता हो । यही माङ किरात बान्तवाहरूको आराध्यपितृ हो अर्थात् साकेन्वा । एक अभिन्न पितृ संस्कृति ।
किरातहरूका सघन आदिम थलोहरू किराती शास्त्र, मिथकीय विश्वास र आस्थाले भरिएका छन् । त्यही आस्थाको एकनासे सुर साकेन्वाको नाममा आज वर्षको दोस्रोपटक पूर्वी नेपालको हतुवा र आमचोकमा ढोल र झ्याम्टासँग बजिरहेको छ । मानव शास्त्रका हिसाबले उतिबेलाका ५८औँ पुस्ताका तरुण आज पनि भोजपुरको सीमावर्ती खोटाङको डम्बर्खु गाउँको साकेन्वा थानमा भेला भइरहेका छन् । थानको शिरमा रहेको वरको छहारीबाट हेर्दा किराती र गैरकिरातीको घुइँचो छ । लगभग सबैका हातमा झुन्डिएको पेरुङ्गोमा अधिकांश सेता भालेहरू देखिन्छन् । पूmलपाती र अक्षताका पोका अधिकांशको हातहातमा देखिन्छन् तथा पेरुङ्गोमै फूलका गुच्छा र माला झुन्डिएका छन् । एक समूह थानको अग्र भागमा गोलो घेरा बनाई सिली नाच्न र गाउन व्यस्त छः
मुन्धुम गाउनु, सिली नाच्नु आ है पितृपूर्खाको नासो जोगाउनु सेमुना
कसले ल्यायो मीठो है कोसेली
कोसँग मागी खानु आ है सेमुना
हुर्रा हा हा छई छई छई …
भोजपुरको हतुवा र खोटाङलाई समेत छुने आमचोक क्षेत्रमा उँधौली र उँभौली मनाउने परम्परा विसं ६०६ बाटै सुरु भएको तथ्य शिलालेखमा उल्लेख छ । थानमा भने यतिखेर कोही परदेशबाट कोही सहरबाट र विभिन्न कर्मथलोबाट भाकल गरेर आइपुगेका छन् । लाहुरेहरूले समेत पल्टनबाटै भाकल गरेको घन्टी, त्रिशूल र छतरी उनका आफन्तले ल्याइपु¥याएका छन् । नाक्छोङले मुन्धुमबाटै फलाक्दै भनिरहेछन्– लौ, यो सालको अन्नपात राम्रो होस्, अनिकाल नलागोस्, पशुप्राणीमा फलिफाप होस्, ढोल झ्याम्टा बजाई, सिन्केउली सेउली, सोलोन्वा अदुवा राखेर चोखोनितो गरी हामीले पूजा गरेका छौँ । यो धर्तीमा सुखशान्ति पैmलियोस् ।’ पालैपालो फूल, पाती र अक्षता चढाई दर्शन गर्नेहरू आदिम पौराणिक शिलालाई ढोगिरहेका छन् ।
बान्तवा किरातहरूको भाग पुग्ने गरी पाँच पगरी समूह बेग्लाबेग्लै पूजा गर्न उभिएका छन् । त्यसमा उनीहरू जेठा, माहिला, साहिला, काहिँला र कान्छा छन् । यी पाँच पगरीको नाम क्रमशः नाम्नु, दुखुन, हाङखिम, राजालिम र टाङलुक्वा हो । विशेष गरी यही नाम–थरबाट दुई जिल्लाका बान्तवा राईहरू मर्यादा क्रममा बाँधिएका छन् । यही साकेन्वाबाट यो क्षेत्रका विशाल बान्तवा किरातहरू आपसमा गाँसिएका छन् । दुःख, बिमार वा आपत पर्दा यही पितृशक्तिबाट शक्ति र सहारा माग्ने यी किरातको मौलिक पहिचान भनेको नाचमा रहेको विशिष्टता नै हो । उनीहरू प्रकृतिका विभिन्न बान्कीको नक्कल र अभिनय गरेर सिली नाचिरहेका छन् । घरि बाघको अभिनय गर्दै ‘किवादाङफाक सिली’ त कहिले धोबी चराको अभिनयमा ‘माक्वा लाक सिली’ त कहिले मृग चर्ने अभिनय गर्दै ‘खस्सा लाक’ नाचिरहेका छन् । अगाडि पछाडि फर्किंर्दै खुट्टा, हात र मुखडामा शास्त्रीय विधिमा सबैले एकनासले हातगोडा चालिरहेका छन् । पुरुषले हातमा चमर र हतियार हल्लाइरहेका छन् भने महिलाले पटुकीमा खुर्मी भिरेका छन् । यस्तो लाग्दछ– यी किरात प्रकृतिसँगको आदिम साक्षात्कारलाई अभिव्यक्त गर्न यसरी भेला भएका हुन् । उनीहरूलाई छोङ्खा भोजपुरको प्रसिद्ध छोङ्खा डाँडा, पसल भन्ज्याङ, होम्ताङ, रानीवास, बासीखोरा, दाङ्खा, बासिङ्थर्पु खोटाङको डम्बर्खु, बोपुङतिर पनि घरघरमा कहिले बिउ छरेको, बिउ रोपेको, भस्मे फाँडेको, कोदो टिपेको अभिनय गर्दै नाचिरहेको भेट्न सकिनेछ । र, यसरी भेट्दा यस्तो लाग्नेछ, आदिम ज्ञान र आविष्कारलाई अभिनयमार्फत देखाउनै यी किरातहरू जम्मा भएका हुन् ।
सोध्दा यो संस्कृतिको विशिष्टता थाहा लाग्छ, ‘यो आमरूपमा चिनिने राईहरूको साकेलाभन्दा बिल्कुलै भिन्न छ ।’ कसरी भनेर कसैले सोधिहाल्यो भने जवाफ भने उस्तै हुनेछ, ‘यो आदिम किरातहरूले दुःख, पीडा र हर्ष बाँड्न प्रकृतिसँग जुध्दै गर्दा प्राप्त अनुभवलाई कला दिएका हुन् । जो दुई दिनसम्म नाच्दा गाउँदा पनि थाकिँदैन, ढिलो शैली तर उत्तिकै कलात्मक ।’
काठमाडौँको टुँडिखेलमा तपाईं साकेलाको भिडमा एक कुनामा पन्ध्रदेखि बीस जनासम्म मात्र भेला भएर उपर्युक्त लयको गीतमा सिली नाचिरहेका किरातीलाई भेट्नुभए त्यही साकेन्वा हुनेछ । २६ बढी भाषिक समुदायमा परिचित राईहरूमध्ये ५८ प्रतिशत रहेका बान्तवा किरातको सिली पिलपिल गरिरहेका कारण बुभ्mन हेरिरहेकाले सजिलै छुट्याइरहेका छन् किनकि यसमा उस्तो ‘ग्ल्यामर’ छैन, कराउँदै नाच्न पाइन्न । शास्त्रीय लयमा बाँधिनुको अर्को तरिका छैन । नाचको शैलीमा ‘कलिलो जोश’ भन्दा ‘पाको राग’ अन्तर्निहित देखिन्छ ।
उता, हतुवा र आमचोकका बान्तवाको अगुवाई गर्दै एकै सुरले पाँच समूहका दस जोर ढोले साकेन्वा संस्कृति मान्न ठीक त्यही ठाउँमा आइपुगेका छन्, जहाँ पन्ध्र शताब्दी अघि शिलामा परिणत अन्डा बोक्दाबोक्दै भासिएको थियो । नाक्छोङले मुन्धुमी भाकामा सुखशान्तिको कामना गरिरहेका छन् । बोङ्वा खोला वारिपारि हातमा कुखुरा र बाटाको कोसेली बोकेका किरातको घुइँचो फन्को मारेको देखिन्छ । पन्ध्र शताब्दीसम्म बोङ्वा खोलो कता मात्र फर्केन होला ? तर, यी किरातको आस्था एकनासले पितृको नासोमा उम्रिएको साकेन्वा संस्कृति अझै पनि निरन्तर उम्रिरहेकै देखिन्छ । बस्, ‘ग्ल्यामर’ को पालुवा आँगनलाई छाया पार्ने गरी डिलमाथि पलाइरहेछ ।

प्रतिक्रिया