‘छैन कुनै गुनासो’

सिपी मैनाली, महासचिव, नेकपा माले

आफ्नै नजरमा सिपी मैनाली को हो ?
–एउटा सामाजिक अभियन्ता हो । जो
समाजको जनमुखी र प्रगतिशील परिवर्तनका लागि
प्रतिबद्ध भएर सामाजिक आन्दोलनमा लागिरहेको
छ ।
तपाइको व्याक्तिगत जिन्दगी कतिको खुशी र सुखी छ ?
–मैले आफ्नो खुसी सामाजिक परिवर्तनको आन्दोलनसँग मिसाएको छु । हामी पति–पत्नी
दवु जै ना यही आन्दाले नमा सरिक छौं । जब–जब समाजमा प्रगतिशील परिवर्तन हुन्छ, त्यतिबेला म र मेरो परिवार  दुबै खुसी हुन्छौं ।

सिपी मैनालीको दुःख के हो ?
– म सामाजिक परिवर्तनका लागि होमिएको मान्छे, मैले मेरा वैयक्तिक सुख–दुःखलाई उत्ति महत्व दिनेगरेको छैन । सामाजिक आन्दोलनसँग गाँसिएर आउने दुःख नै मेरा पनि दुःख हुन् । सामाजिक परिवर्तनको आन्दोलनमा जब विश्वासघात र बेइमानी हुन्छन् । जब असफलता र नोक्सानीहरू हुन्छन्, त्यतिबेला दुःख लाग्छ ।
खुसीचाहिँ नि ?
–देश र जनताको पक्षमा हुने समाजिक आन्दोलनहरूको सफलता नै मेरा खुसी हुन् । झापा विद्रोह, ०४६ सालको जनआन्दोलन, ०६२, ६३ को दोस्रो जनआन्दोलनजस्ता परिवर्तनका आन्दोलनहरूको सफलताको खुसी नै मेरा पनि खुसी हुन् ।
कतिबेला भावुक हुनुहुन्छ ?
–आन्दोलनको क्रममा सहयोद्धाहरू समातिँदा, मारिँदा र आन्दोलनले ‘सेटब्याक’ खाँदा बढी भावुक हुने गर्छु ।
कतिबेला उत्तेजित हुनुहुन्छ ?
–कहिलेकाहीँ साथीहरूले मलाई ‘सर्ट टेम्पर’ भएको मान्छे पनि भन्नुहुन्छ । साह्रै झूट र बेठीक कुराहरू अगाडि आउँदा म उत्तेजित हुन्छु । र, त्यसको खण्डन, विरोध गर्न म अलि उत्ताउलो भएर लाग्छु । झूटा तर्क र दाबीहरू अगाडि आउँदा अत्यन्त उत्तेजित र आक्रोशित भएको मैले पटक–पटक मससुस गरेको छु ।
कतिबेला संयमित हुनुहुन्छ ?
–सामान्यतया सधैँ संयमित नै हुन्छु । तर, अत्यन्त झूट कुराहरू बाहिर आउँदा अत्यन्त उत्तेजित भइरहेको अवस्थामा पनि आफूलाई नियन्त्रण गर्ने कोसिस गरिरहेको हुन्छु ।
कतिबेला रुनुहुन्छ ?
–अरू कसैले अत्यन्त दुःख पाएको देख्दा, सुन्दा र महसुस गर्दा मन द्रवित हुन्छ । सहयोद्धाहरूले सफलता पाएको, सम्मान पाएको थाहा पाउँदा पनि खुसीले आँसु झर्छ ।
जिन्दगीमै सबैभन्दा धेरै कहिले रुनुभएको थियो ?
–०२९ साल २१ फागुनमा । जुन दिन हाम्रा ५ जना सहयोद्धाहरूलाई तत्कालीन सत्ताले झापाबाट इलाम जेल सार्ने नाममा चारकोसे झाडीको सुखानी जङ्लमा कायरतापूर्वक हत्या ग¥यो । त्यसबेला म असाध्यै मर्माहत भएको थिएँ । त्यो मेरो जिन्दगीको सबैभन्दा पहिलो र ठूलो दुःख थियो ।
तपाईंका कमजोर पक्ष ?
–पहिलो, म चाँडै आवेगमा आउँछु । यो कमजोरी नियन्त्रण गर्न निरन्तर प्रयत्नमा छु । तर, निमिट्यान्न पार्न सकेको छैन । म अरूलाई चाँडै विश्वास गर्छु । दोस्रो अरूलाई चाँडै विश्वास गर्दा कतिपल्ट धोका पनि खाएको छु ।
तपाईंका सबल पक्ष ?
– पहिलो, कुनै पनि ठूलो निर्णय गर्दा हठात्मा गर्दिनँ । धेरै कोणबाट विश्लेषण गरेर, धेरै सुनेर मात्रै निर्णय गर्छु, निर्णयमा पुगेपछि अडिरहन्छु । दोेस्रो, कुनै पनि काममा म निरन्तर लागिरहन्छु । जतिसुकै असफलता भए पनि आफ्नो निर्णयमा अडिग भएर लागिरहन्छु । तेस्रो, कुनै पनि कुरा सतहमा होइन गहिराइमा गएर बुभ्mछु । यी तीन ‘पोइन्ट’हरू मेरा सबल पक्ष हुन् ।
तपार्इंका आदर्श ?
–म खास कोही एकजनालाई मात्रै आदर्श मान्दिनँ । धेरै महापुरुष छन्, जसको विशेष राम्रा पक्षहरूलाई म आदर्श मान्छु । ती आदर्शलाई पछ्याउँदै आफैँले नै आदर्श निर्माण गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
तपाईंका मनपर्ने लेखक ?
–म्याक्सिम गोर्कीका रचनाहरू मलाई राम्रो लाग्छ । नेपालका सन्दर्भमा विभिन्न समयमा विभिन्न लेखकले अलगअलग पाटोबाट योगदान गर्नुभएको छ । गोपालप्रसाद रिमाल, खगेन्द्र सङ्ग्रांैला, मञ्जुललगायतका लेखकहरू राम्रो लाग्छन् ।
तपाईंको जीवनमा नशाको स्थान कस्तो छ ?
–कहिल्यै पनि धूमपान गरिनँ । खुला जीवनमा आएपछि कहिलेकाहीँ मद्यपान गरियो । तर, स्वास्थ्यको कारणले दस वर्षदेखि ‘अल्कोहल’देखि टाढै छु ।
‘सँगैका साथीहरू फराकिलो मैदानमा गए, म चाहिँ खुम्चेर बसेँ’ भन्ने कहिलेकाहीँ लाग्दैन तपाईंलाई ?
–मैले जे गरेँ वा अहिले जे भएँ, कुनै गुनासो छैन । राजनीति आफैँमा एउटा वर्गीय द्वन्द्वको शास्त्र हो । त्यो वर्गीय द्वन्द्वमा ठीक ढङ्ले कार्यनीति लिएर काम गर्न सक्दा उपलब्धिहरू हुन्छन् । गर्न नसक्दा असफलतामा पुगिन्छ । म पनि यही उतारचढावमा परेको छु । यसरी पर्नाको पछाडि कहिले मेरो कमजोरीका कारण थिए होलान्, कहिले प्रतिद्वन्द्वीको कौशलहरूले थिच्यो होला । तर, जे भयो र भइरहेको छ, त्यसलाई मैलै बदल्न सक्दिनँ । जुन बेला जे भयो, त्यो बेला मैले जसरी सामना गरेँ, त्योभन्दा भिन्न ढङ्ले सामना गर्ने मेरो क्षमता नभएकाले नै मैले त्यसरी सामना गरेँ ।
तपाईंको जिन्दगीको अधिकतम सपना के हो ?
—सिद्धान्तनिष्ठ ढङ्ले नेपालका कम्युनिस्टहरू एकीकृत बन्न सकून् । नेपालमा एकीकृत कम्युनिस्ट पार्टी होस्, जो देशभक्त क्रान्तिकारी, मूल्यमान्यता र नैतिकतायुक्त पार्टी होस् । र, त्यस्तो पार्टीको माध्यमबाट देशको परिवर्तन गर्न सकियोस् ।

प्रस्तुतिः राजेश राई

प्रतिक्रिया